किन नेपाल आउजाउ गर्न हवाई टिकट अन्यत्रभन्दा महँगो हुन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2022 | 10:06:03 AM मा प्रकाशित

laxmi  sunrise bank

वर्षौँदेखि नेपालमा हवाई इन्धनको मूल्य अन्य एशियाली बजारको तुलनामा उच्च हुने गरेकाले यहाँ आउजाउ गर्ने अन्तर्राष्ट्रिय उडानको टिकट महँगो हुने गरेको व्यवसायी तथा उड्डयन अधिकारीहरूले बताएका छन्। 

नेपाल आयल निगमले भने हवाई उडानको विषय 'गरिखाने वर्गसँग त्यति धेरै नजोडिने भएकाले' त्यसमा फाइदामै रहेर व्यापार गर्ने आफूहरूको पुरानै रणनीति रहेको जनाएको छ। तर त्यसको असर नेपालको अर्थतन्त्रसँग उल्लेख्य र प्रत्यक्ष रूपमा जोडिने पर्यटनमा परिरहेको भन्दै चिन्ता व्यक्त हुने गरेको छ। 

यसअघि सन् २०२० लाई तय गरिएको नेपाल भ्रमण वर्षको तयारीका बेला गठित एक सरकारी समितिले समेत त्यस्तो महँगो मूल्यले देशको पर्यटन क्षेत्रलाई असर पारिरहेको औँल्याएको थियो। 

कति महँगो छ हवाई इन्धन?

कोभिड महामारीपछि पर्यटन क्षेत्र बिस्तारै तङ्ग्रिन थालेका बेला गत असारमा आन्तरिक विमान कम्पनीहरूको सङ्गठनले निगमलाई हवाई इन्धनमा मुनाफा १० रुपैयाँभित्रै राख्न आग्रह गरेको थियो। तर असोज मध्यतिरको निगमको विवरणअनुसार आन्तरिकतर्फ हवाई इन्धनमा निगमको मुनाफा प्रतिलिटर झण्डै ३१ रुपैयाँ र बाह्यतर्फ प्रतिलिटर झण्डै ७४ रुपैयाँ थियो। 

अनुपातमा केही तलमाथि भए पनि लामो समयदेखि निगम हवाई इन्धनमा यस्तो सहज फाइदा हुने लयलाई नै पछ्याइरहेको देखिन्छ। 

त्यसको कारणबारे बताउँदै आयल निगमका प्रवक्ता विनीतमणि उपाध्याय भन्छन्, "हवाई इन्धनमा हामी केही नाफा नै कमाउने हो, यसमा घाटा खाएर व्यापार नगर्ने भन्नेमा हामी सुरुदेखि नै स्पष्ट छौँ।"

तर उनले इन्धनको दर मात्र हवाई भाडा उच्च हुनु पछाडिको एक्लो कारण नभएको दाबी गर्छन्। 

मुख्य पक्ष

हवाई सेवा कम्पनीहरूले उडान सञ्चालनको ३५ देखि ४० प्रतिशत हिस्सा त्यसको इन्धनसँग जोडिने बताउने गर्छन्।  स्थानीय पर्यटन क्षेत्रको आत्मविश्वास बढाउनका लागि र पर्यटनमा निर्भर क्षेत्रलाई चलायमान बनाउनका लागि हवाई इन्धनको मूल्यमा हुने फाइदा कम गर्नुपर्ने सरोकारवालाहरूको मत रहने गरेको छ। 

पछिल्लो समय संसारभरि सबै खाले इन्धनको मूल्य बढेको छ। तर महामारीअघिको समयमा कुनै बेला भारतमै हवाई इन्धनको मूल्य नेपालको तुलनामा झन्डै-झन्डै आधा कम पर्न गएको पाइएको थियो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले त्यसले विदेशी विमान कम्पनीहरूलाई पारेको दबावको एउटा उदाहरण काठमाण्डूबाट कारणवश अवतरण हुन नसकेर 'डाइभर्ट' हुने विमानसँग जोडेर सुनाउँछन्। 

"काठमाण्डू अवतरण हुन नसक्ने जहाजहरू भैरहवा जान सक्छन्। तर उनीहरू भारतीय सहरमा अवतरण गर्न रुचाउँछन्। कारण त्यहाँ हवाई इन्धन नेपालको भन्दा निकै सस्तो पर्छ," निरौला भन्छन्।

"हरेक पक्षले आफ्नो मात्र स्वार्थ नहेरीकन एकीकृत रूपमा यस विषयलाई हेर्नुपर्छ। पर्यटक धेरै आउने माहोल बन्यो भने त्यसले फाइदा गर्ने समेत नेपाली बजारलाई नै हो।"

पर्यटनमा असर

विदेशी सेवाग्राहीले नेपाली पर्यटन व्यवसायीहरूलाई गर्ने साझा गुनासो भनेको नेपाल आउजाउ गर्ने महँगो हवाई टिकेटसँगै हुने गरेको उनीहरूले बताउने गरेका छन्। प्रतिस्पर्धी अन्य गन्तव्यमा टुर प्याकेज नै आउने पैसाले नेपालमा हवाई टिकेट किन्न गाह्रो हुने गरेको उनीहरूको गुनासो रहने बताइन्छ।

"त्यसमाथि कोभिड महामारीसँगै नेपाल आउन रोकिएका कतिपय अन्तर्राष्ट्रिय विमान सेवाले अझै उडान सुरु नगर्दा त्यसै महँगो हुने नेपालको टिकट झन् महँगो भएको अवस्था छ," नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापा भन्छन्।

"त्यसले गर्दा अहिले विमान कम्पनीहरू बीचको प्रतिस्पर्धा समेत कम भएको छ। उच्च मागअनुसार सेवा उपलब्ध नहुँदा टिकट महँगो हुने दर झन् बढेको छ।"

नेपाललाई झन्डै तीन दर्जन विमान सेवाहरूले अन्तर्राष्ट्रिय बजारसँग जोडिने अनुमति लिए पनि कोभिड महामारीयता भने २६ विमान कम्पनीहरूले मात्र उडान सञ्चालन गरिरहेका छन्। -बिबिसिबाट

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved