तलबै दिन नसक्ने गरी आर्थिक सङ्कटको दलदलमा गुण एयर ! उत्रिने उपाए छ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 28, 2023 | 07:12:53 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक हवाइ सेवा प्रदान गर्दै आएको निजी क्षेत्रको हवाइ कम्पनी गुण एयरलायन्स आर्थिक सङ्कटको दलदलमा नराम्ररी फसेको छ । 

उसले गएको असोजदेखि नै पाइलटदेखि कर्मचारीसम्मलाई तलब दिएको छैन भने विमानस्थल कार्यालयहरुलाई दिने करोडाँै रकमसमेत झुक्तानी गरेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गुणको ‘रनिङ स्टाटस’बारे प्रारम्भिक अनुसन्धान गर्दा पनि लामो समयदेखि कर्मचारीलाई तलब नदिएको भेट्टाएको छ ।

‘तलब नदिएको विषयमा कर्मचारीहरुको गुनासो आएपछि आर्थिक अवस्था कमजोर रहेको प्रारम्भिक अडिटबाट देखिएको छ, हामीले महालेखालाई पनि उसको आर्थिक अवस्थाको अडिटका लागि अनुरोध गरेका छौँ’, क्यान स्रोत भन्छ, ‘तलब नै दिन नसकेपछि पाइटल र एयरहोस्टेजले काम गर्न छोडे र जहाज ग्राउण्डेड भएको देखियो, हामीले पनि जबरजस्ती काम लगाउँदा अर्को समस्या हुन सक्छ भनेर जहाज रोकिदियौँ, अहिले उहाँहरु जहाज बिक्री गर्ने तयारीका लागि ग्राउण्डेड गरेका हौँ भनेर हल्ला गरिरहनु भएको छ ।’

कर्मचारीहरुले लिखित उजुरी दिएपछि हवाइ सुरक्षामा गम्भिर असर पर्ने जनाउँदै नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले फागुन ८ गते गुण एयरका सबै उडानमा रोक लगाएको छ । कर्मचारीहरुले असोजदेखि नै तलब नपाएको बताए पनि क्यानमा दिएको निवेदनमा कहिलेदेखिको तलब नपाएको भनेर खुलाएका छैनन् । 

त्यसअघि पाइलटसहितका कर्मचारीले पैसा नदिएसम्म काम गर्दैनौँ भन्दै आन्दोलन थालेपछि फागुन १ गतेबाटै उसको उडान प्रभावित भइसकेको थियो । ‘हामीले तलबका लागि पटकपटक आग्रह गर्यौँ, तर पाएनौँ, त्यसैले उडान नै छाडेर क्यानलाई नै गुहार्नु परेको हो’, गुणका एक कर्मचारीले बिजपाटीलाई भने ।

पाइलट तथा अन्य कर्मचारीलाई तलब नदिएको र एजेन्सीलाई तिर्नुपर्ने रकम पनि नतिरेपछि ‘जहाज ग्राउण्डेड’ गराउनु भन्ने लिखित पत्र नै क्यानले थमाएको थियो । क्यानको पत्रमा भनिएको छ, ‘कर्मचारी र अन्य एजेन्सीहरूलाई भुक्तानी गर्न नसकेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणको उड्डयन सुरक्षा गुणस्तर विभागको ध्यानाकर्षण भएको छ । कुनै पनि एयरलायन्समा यस्तो आर्थिक समस्याले असुरक्षाको जोखिम हुन सक्दछ । तसर्थ, प्राधिकरणबाट अर्को लेखापरीक्षण र निरीक्षण नभएसम्म त्यस कम्पनीका सबै उडानहरु बन्द रहनेछन् ।’

‘गुणका कर्मचारीहरुले लिखित रुपमै क्यानमा निवेदन दिएपछि क्यानको फ्लाइट सेफ्टी स्ट्याण्डर्ड डिपार्टमेन्टको ध्यानाकर्षण भएको र फ्लाइट अपरेशन डिभिजनले फागुन ८ मा पत्र पठाएर कुनै पनि जहाज नउडाउन निर्देशन दिएको हो’ क्यानका प्रवक्ता जगन्नाथ निरौलाले भने ।

तथ्यले आर्थिकावस्था सङ्कट देखिएर कर्मचारीको समेत तलब नदिएको गुण एयरलायन्सका अधिकारीहरु उक्त विषयमा घुमाउरो जवाफ दिएर टारिरहेका छन् । बिजपाटीले ‘क्रसचेक’ गर्दा उनीहरुबाट आएका धारणासमेत फरकफरक पाइएको छ । गुणका बजार व्यवस्थापक प्रज्ज्वल थापाले नयाँ जहाज किन्ने तयारीमा रहेकाले त्यो नआउँदासम्म केही जहाज बेचेर २ वटा मात्रै चलाउन खाजिएको बताए । श्रोतका अनुसार उसले आर्थिक व्यवस्थापनका लागि नै जहाज विक्री गर्न लागिएको बुझिएको छ । 

उनले कहिले अमेरिकी खरिदकर्तालाई ५ वटा जहाज बेच्न लागेको बताउँछन् भने, कहिले अफ्रिकी टिमलाई जहाज बिक्री गर्ने अन्तिम तयारी रहेको बताउने गरेका छन् । जहाज बिक्रीका लागि क्यानसँग सहमति लिनुपर्ने हुन्छ । यस विषयमा बुझ्दा क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने ‘यसबारे क्यानमा केही जानकारी आएको छैन, अहिले रनिङ स्टाटसबारे बुझ्दै छौँ ।” 

अहिले क्यानले उक्त कम्पनीको अडिट हेर्न थालेको छ । अडिटका लागि महालेखालाई समेत गुहारेको छ । विशेष परिस्थितिमा बाहेक यसरी मध्ये–समयमा महालेखा गुहारिँदैन । गुणको विमान सञ्चालनका क्रममा विगतमा पनि आर्थिक उतारचढावका कारण विमान खरिदबिक्री हुँदै आएको थियो ।

जहाज बिक्रीको चर्चामाथिको वास्तविकता

कर्मचारीलाई तलब दिन नसकेर क्यानको कारबाहीमा परेको गुण एयरलायन्सले एकाएक जहाज बिक्री गर्न लागेको चर्चा चलाएको छ । बजार प्रबन्धक थापाले यतिसँग खरिद गरेर २०७८ असोजबाट उडाउन थालिएका ५ वटा जहाज बिक्री गर्न लागिएको बिजपाटीसँग बताए । यती छोटो समयमै जहाज बिक्री गर्ने हल्ला चलाउनुमा खास सत्यता देखिँदैन । 

‘क्यानको पत्रअघि नै हामीले जहाज बेच्न ग्राउण्डेड गरिसकेका थियौँ, खरिदका लागि विदेशी पार्टी (उनको भनाइ अनुसार अमेरिकी खरिदकर्ता) आएको थियो, उसलाई देखाउन जहाज ग्राउण्डेड गरेका थियौँ’ थापाले दाबी गर्दै भने, ‘५ वटा जहाज बेच्ने अन्तिम तयारीमा छौँ, यी जहाज बिक्रीपछि पनि हामीसँग नयाँ जहाज नआउन्जेल २ वटा बिचक्राफ्टले उडान गर्छौँ ।’ यस विषयमा बुझ्दा नेपाल नागरिक उड्ययन प्राधिकरणले भने गुणले जहाज बिक्री गर्न लागेको औपचारिक जानकारी नआएको बताएको छ ।

कहिलेसम्म गर्ने जहाज ग्राउण्डेड ?

क्यानले गुण एयरलाइन्सका जहाज ग्राउण्डेड गरेको हप्ता दिन भयो । जहाज उडाउन छाडिएको चाहीँ आधा महिना नाघ्यो ।  आज मङ्गलबार साँझसम्मै पनि गुण एयरलायन्सले क्यानले आँैल्याएका समस्या सुल्झायौँ भनेर रिपोर्ट गरेको छैन ।

‘हामीले अब त्यसै उडान खोल्दैनौँ, उसले हामी ठिक छौँ, उडान अनुमति देउ भनेपछि बल्ल हामीले समस्या समाधान भएको रहेछ की रहेनछ भनेर क्रस अडिट गर्छौँ’ प्रवक्ता निरौलाले थपे, ‘हामीले गर्ने अनुसन्धानबाट ठिक देखियो भने मात्रै उडान अनुमति पाउँछ ।’ 

उनका अनुसार उक्त प्रक्रियाका लागि पनि पहिला क्यानबाट औँल्याइएका कमजोरी करेक्सन गर्यौँ भनेर गुणबाट आउनुपर्छ । गुण एयरलायन्सका बजार ब्यवस्थापक थापा भने क्यानलाई जहाज उडानको अनुमति दिन अनुरोध गर्दै पत्र पठाइसकिएको दाबी गर्छन् । ‘हामीमा कुनै समस्या छैन भनेर क्यानमा भनिसकेका छौँ, क्यानले आफूले पनि अडिट गर्छु भनेको छ, अडिट सकेपछि उडान खोल्छ होला’, थापाले भने ।

बिजपाटीसँगको कुराकानीमा क्यानका एक अधिकारीले जहाज बिक्री गर्ने मनस्थितिमा गुणका व्यवस्थापक पुगिसकेको र जहाज बेचेर दायित्व भूक्तानी गर्ने योजना बनाएको हुनसक्ने बताउँछन् ।

विगतदेखिनै आर्थिक उतारचढावमा गुण

दिजेन्द्र उपनामले चिनिने राजेन्द्र शाक्यले १५ करोड लगानीमा सन् २००९ मा गुण एयरलायन्स स्थापना गरेका थिए । आर्थिक समस्याकै कारण शाक्यले चलाउन नसक्ने भएपछि सन् २०१३ मा क्या रामेश्वर थापालाई गुण एयरलाइन्स बिक्री गरेका थिए । 

क्यापटेन थापाले नाम नै परिवर्तन गरेर गुण एयरलायन्सलाई सिम्रिक एयर बनाएर चलाए । २०७७ को चैतमा शाक्यले पुनः थापाबाट स्वामित्व खरिद गरेर पूरानै नाम अर्थात् गुण एयरबाटै जहाज उडाउन सुरु गरे । 

कम्पनी खरिदपश्चात सिम्रिकसँग भएका २ वटा अमेरिकी ‘बिचक्राफ्ट’ जहाज गुण एयरलायन्सका भए । सोही अनुसार २०७८ को वैशाखबाट सिम्रिकका जहाजहरु गुणको नामबाट उड्न थाले । गुण एयरलायन्सले यति एयरसँग ५ वटा जेट स्ट्रिम (जे ४१) जहाज पनि किन्यो । ३० सीट क्षमताका यी जहाजले गुण एयरलान्इसको नामबाट २०७८ असोजबाट मात्रै उडान थाले । 

त्यसपछि गुणसँग ७ वटा जहाज भए । प्रतिविमान १४ करोड रुपैयाँका दरले रु ७० करोडमा यतिसँग ५ वटा जेट स्ट्रिम (जे ४१) जहाज किनेको गुण एयरलायन्सले त्यसपछि पाइलट, एयरहोस्टेज र अन्य कर्मचारीलाई तलब दिन सकेन ।

कर्मचारीहरुले व्यवस्थापकसँग पटकपटक यसबारे गुनासो राख्दा पनि सुनुवाइ नभएपछि उनीहरु नियामक निकाय क्यानमा पुगे । पाइलट र कर्मचारीले नै तलब नपाएपछि हवाइ सुरक्षामा असर पर्ने निष्कर्ष निकालेर क्यानले फागुन ८ बाटै जहाज ग्राउण्डेड गरिदियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved