‘नेपाली गल्स’ नामक एप बनाएर बैंक खाताको रकम चोर्ने गिरोह पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2023 | 10:45:01 PM मा प्रकाशित

laxmi  sunrise bank

एप बनाएर ग्राहकको मोबाइल बैंकिङ एप ह्याक गरी रकम चोरी गर्ने आठजनालाई प्रहरीले पक्राउ गरेको  छ । एप मार्फत रकम चोरी गर्ने आठ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी सिद्धीविक्रम शाहले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरुले  ‘नेपाली गल्स’ नामक एप बनाएका थिए । उनीहरुले  ‘नेपाली केटी चाहिन्छ ?’ भन्ने संदेश सहित सो एप मोबाइलमा डाउनलोड हुने लिंक म्यासेज मार्फत पठाउने गरेका थिए । ग्राहकले सो लिंकमा क्लिक गर्ना साथ ग्राहकको मोबाइलमा उक्त एप इन्स्टल हुने सिस्टम उनीहरुले बनाएका थिए । एप इन्स्टल गर्ने क्रममा 'ओके' मा क्लिक गरेको भरमा एपले पुरै मोबाइलको डिभाइसमा पहुँच बनाउने र सो क्रममा मोबाइलका सबै विवरण उनीहरुले आफ्नो नियन्त्रणमा लिएर बैंक खाताको रकम चोर्ने गरेको प्रहरीले जनाएको छ ।

 ललितपुर प्रहरीले काठमाडौँ र मकवानपुरबाट उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरूले ललितपुर–१५ सातदोबाटोका हरिप्रसाद ढकालको नाममा एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ एप ह्याक गरी रकम चोरी गरेको शाहले बताए । 

गत मङ्सिर २६ गते ढकालको नाममा रहेको एकाउण्ट ह्याक गरी विभिन्न व्यक्तिको नाममा रहेको ईसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरी ठगिएको  उजुरी प्रहरी परिसरमा परेको थियो । उजुरी दर्ता भइ अनुसन्धान गर्दै जाँदा पक्राउ परेका उनीहरुले सङ्गठित रुपमा विद्युतीय माध्यमको प्रयोगबाट अनधिकृत रुपमा खाताको रकम निकाली हिनामिना गरेको देखिएको उनले बताए । 

पक्राउ पर्नेमा भारतको बिहार घर भई काठमाडौँको चाबहिल बस्ने अवधेश कुमार, सप्तरीको कृष्णासरवन गाउँपालिका–२ घर भई काठमाडौँको जोरपाटी बस्ने दिलीपकुमार चौधरी, पर्साको विन्दावासिनी–८ का नगेन्द्र साह कानु, रौतहटको रंगपुर–१ घर भई मकवानपुरको हटौँडा बस्ने रविना चौधरी, बाराको कोलबी नगरपालिका– ४ घर भई मकवानपुरको हेटौँडा बस्ने सन्तोष कुँवर, पर्साको वीरगञ्ज महानगरपालिका–२५ का राजु पटेल, सोही स्थानका साहिल परबेज र शिवशङ्कर राउत छन् । 

प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका नौ थान मोबाइल, एक थान ल्यापटप र चार थान एटिएम कार्ड बरामद गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विभिन्न व्यक्तिको रु ५० लाख ठगिएको पाइएको छ । पक्राउ परेकालाई उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved