जनता ऋण तिर्न नसकेर सडकमा, बैंकको पैसाले सीइओ र संचालक अष्ट्रेलिया माल्दिभ्स टुरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2024 | 08:43:57 PM मा प्रकाशित

laxmi  sunrise bank

बढ्दो आर्थिक मन्दीले ब्यापार व्यवसाय ठप्प परेको बेलामा कर्जा लिंदाको बेला भन्दा बढी ब्याज तिर्नुपर्दा ऋणीहरु दोहोरो मारमा परेका छन्। जसले गर्दा बैंक वित्तीय संस्था तथा लघुवित्तका ऋणीहरु ऋण तिर्न नसकेर अहिले सडकमा नै ओर्लिएका छन्। अहिलेको डरलाग्दो र चिन्ताजनक अवस्थालाई व्यवस्थापन गर्नतर्फ लाग्नुपर्ने सीइओ र संचालकहरु व्यक्तिगत स्वार्थको लागि संस्थाको पैसा खर्चेर पछिल्लो समय स्वदेशमा हप्तेपिच्छे कार्यक्रम गर्ने तथा विदेश घुम्ने गरेको पाइएको छ। 

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई थप अनुशाशित र बलियो बनाउने पवित्र उदेश्यले खुद मुनाफाको तीन प्रतिशत तालिममा खर्च गर्न पाउने व्यवस्था गरेको छ। जसले गर्दा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त क, ख, ग र घ वर्गका सबै संस्थाहरुले वर्षमा करोडौं रुपैयाँ तालिम शिर्षकमा खर्च गर्दै आएका छन्।

कुन ठाउँमा कस्तो प्रकारको तालिम लिइएको हो र उक्त तालिमबाट के उपलब्धि भयो भन्नेबारे तालिम सम्बन्धि सम्पूर्ण विवरण तालिममा जाने कर्मचारीले बैंकलाई बुझाउनुपर्ने कानुनी व्यवस्था छ। बैंकका सीइओ र संचालकको लागि कर्मचारी विनियमावलीमा दैनिक भत्ता नेपाली र डलरमा उल्लेख गरीएपनि बिल बमोजिम खर्च गर्न पाउने व्यवस्था छ। तर बैंकको हजारौं डलर खर्चेर विदेश भ्रमण जाँदा त्यसले के कस्तो सिकाई र उपलब्धि भयो भन्नेबारे सीइओ र संचालकलाई प्रतिवेदन बुझाउन अनिवार्य गरिएको छैन। जसले गर्दा बैंकको हित भन्दा पनि व्यक्तिगत रमाइलोको लागि बैक वित्तीय संस्थाका सीइओ र संचालक भारत बाहेकका देशमा भ्रमणमा जाने क्रम बढ्दो क्रममा छ। 

यसरी संस्थाको खर्चमा मोजमस्ती गर्नेमा लघुवित्तका सीइओं र संचालक अग्रस्थानमा छन् भने केहि बैंकका सीईओं र संचालकपनि उनीहरुकै सिको गरिरहेका छन्।  केहि सिक्ने उदेश्यले विदेश सयर गर्ने गरेको भए त्यसलाई राम्रै मान्न सकिन्थ्यो होला तर संस्थालाई नै आर्थिक भार पर्नेगरि मोटो रकम भत्ता बापत बुझ्ने र संस्थालाई आर्थिक भार पर्नेगरि पांच लाख पनि जनसख्या नभएको माल्दिभ्सको टापुमा बैंकका संचालक घुम्न जानुलाई राम्रो मान्न सकिदैन। 


त्यति मात्र नभई राष्ट्र बैंक सुपरिवेक्षण विभागका हाकिम मनाउन हप्तापिच्छे तालिम कार्यक्रम गरेर लाखौँ खर्चने केहि लघुवित्तका सीइओहरु लघुवित्तका पैसाले एउटा पनि लघुवित्त नभएको मलेसिया अस्ट्रेलिया जानुलाई राम्रो मान्न कसरी सकिएला। 

त्यसमाथि ऋण तिर्न नसकेर लघुवित्त पिडितको आन्दोलन बढिरहेको संबेदनशिल अवस्थालाई बेवास्ता गरेर लघुवित्तका सीइओहरु मलेसिया, अष्ट्रेलिया, युएई पुगेर के कति जानकारी लिए त्यसको विवरण न राष्ट्र बैंकसंग छ न सम्बन्धित संस्थाको संचालक समितिसंग छ। 

बैंक वित्तीय संस्थाका संचालकहरुको साझा संस्था बैंक बित्तिय संस्था परिषदका अध्यक्ष उपेन्द्र पौडेलले व्यक्तिगत स्वार्थका लागि बैक वित्तीय संस्थाको पैसा खर्चेर विदेश जाने काम अत्यन्त गलत भएको बताउँछन्।  नबिल बैकका अध्यक्ष समेत रहेका पौडेल भन्छन्, "सुशासन, नेतृत्त्व विकास, वातावरनिय सामाजिक उत्तरदायित्व जस्ता महत्त्वपूर्ण कार्यक्रमको आयोजना हुँदा जानु सकारात्मक भएपनि जानका लागि विदेश जाने काम गलत हो।"

नेपाल लगायत विश्वका ५० बढी देशमा आफ्नो उपस्थिति जनाएको स्ट्याण्डर्ड चार्टड बैंकले समेत नेपालमा रहेका आफ्ना कर्मचारीलाई तालिमको लागि छिमेकी देश भारतको मुम्बई लगायतका शहर पठाउने गर्दछ तर  नेपालका बैंक वित्तीय संस्थाका सीइओं र संचालकले नेपालको संस्कार र अन्य कुराको पनि साइनो समेत नरहेको मलेसिया, माल्दिभ्स, अष्ट्रेलिया, युएई रोज्ने गरेका छन्। 

भारत जाँदा डलरमा भत्ता नआउने भएकाले सीइओ र संचालकहरु भारत बाहेकका देशमा तालिमको बहानामा जाने गरेको लामो समयदेखि बैंक वित्तीय संस्थामा नेतृत्त्व तहमा रहेर काम गरेका एक जना व्यक्तिले बिजपाटीलाई बताए। उनकाअनुसार अन्य देश जाँदा डलरमा भत्ता आउँछ तर भारत जाँदा नेपाली रुपैयाँमै भत्ता आउँछ। 

त्यसो त डलर पचाउन र रमाउनका लागि नै सीइओ र संचालकहरु विदेश जान्छन भन्ने कुरा सिबिफिनका अध्यक्ष पौडेलको यो भनाईले पनि पुष्टि गर्छ। उनी भन्छन्, " विदेशका एक्स्पर्ट नेपालमै बोलाएर महत्त्वपूर्ण कार्यक्रम नेपालमै आयोजना गर्न सकिन्छ तर विडम्बना यहाँ सित्तैमा कार्यक्रम राखेपनि कार्यक्रममा सहभागी हुने मान्छे पाउन गाह्रो छ।"

लघुवित्तका सीइओहरुको साझा संस्था लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा नेशनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवको पनि यस विषयमा पौडेलको जस्तै भनाई रहेको छ। 

यादवकाअनुसार संस्थाले आवश्यकता ठानेर पठाएको अवस्थामा विश्वको जुनसुकै मुलुकमा तालिम तथा सिकाईको लागि जानु राम्रो हो। तालिमबाट सिकेको कुराले संस्था र सिंगो उद्योगलाई फाइदा पुर्याउने हुनुपर्छ। तर व्यक्तिगत स्वार्थको लागि संस्थाको पैसा प्रयोग हुनु हुँदैन।

बैंकको पैसाले गरिने विदेश भ्रमण व्यक्तिगत रहरले नभई आवश्यकताले हुनुपर्ने र यस्तो भ्रमणको प्रतिवेदन लिखित रुपमा नै सीइओ र संचालकले बोर्डलाई बुझाउनुपर्ने नैतिक जिम्मेवारी हुने बैंक वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलले बताए। 

"सीइओ र संचालकको हकमा बैंकको पैसामा विदेश भ्रमण गएकोबारे प्रतिबेदन बुझाउन अनिवार्य गरिएको छैन तर प्रतिवेदन बुझाउनुपर्ने यो उहाँहरुको नैतिक जिम्मेवारी हो" पौडेलले भने, "बैंकको पैसा खर्चेर तालिमको लागि विदेश गएपछि त्यसले बैंकलाई र समग्र बैंकिंग उद्योगलाई फाइदा पुग्नु पर्छ, तर व्यक्तिगत लाभको लागि बैंकको खर्च गरिनु राम्रो होइन।"

नेपाल राष्ट्र बैंकका कर्मचारीको सन्दर्भमा स्वदेश वा विदेशमा तालिमको लागि गएमा त्यसको प्रतिवेदन राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागमा बुझाए मात्र आर्थिक प्रशासन बिभागबाट पेस्की फर्छुट हुने व्यवस्था रहेको समेत पौडेलले बताए। बैंक वित्तीय संस्थाको लागि पनि उनीहरुले कर्मचारी विनियामावालीमा उल्लेख गरीए बमोजिम दैनिक भत्ता खर्च गर्न पाउने व्यवस्था गरिएकाले कसैले सिमा भन्दा बाहिर गएर खर्च गरेको पाइए कारबाही हुने पौडेलले बताए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved