बैकिङ क्षेत्रमा देखिएको समस्या क्षणिक: सीईओ ढुंगाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2024 | 04:37:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैकिङ क्षेत्रमा देखिएको समस्या क्षणिक रहेको बताएका छन। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नबिल बैंकसँगको सहकार्यमा बनेपास्थित आगन्तुक रिसोर्टमा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले यस्तो बताएका हुन् 

उनले परिस्थितिका कारण बैंकिङ क्षेत्रमा केही असर पर्दा खराब कर्जा बढ्ने र नाफा खुम्चिने अवस्था बनेको बताए। अवस्था सधैँ एकनासको नरहने र अर्थतन्त्रमा देखिएका समस्यामा सुधार हुँदै जादा बैंकिङ सेक्टर पनि राम्रो बन्ने ढुंगानाले बताए ।

‘अर्थतन्त्रमा देखिएको समस्याको बारेमा नेपाल सरकार र अर्थमन्त्रालय जानकार छन्’, उनले भने, ‘आगामी समयमा अर्थतन्त्रमा देखिएका समस्याको सम्बोधन गर्ने, निर्माण व्यवसायको पेमेन्ट समयममा निकासा गरिदिने र आगामी मौद्रिक नीतिमा केही सहुलियतपूर्ण प्रावधानको व्यवस्थाले अर्थतन्त्र उकासिने विश्वास छ।’

अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव बैंकिङ क्षेत्रमा देखिँदा आगामी समयमा बैंकहरुले ७/८ प्रतिशत बढी लाभांश दिनसक्ने अवस्था नरहेको उनको भनाइ छ।

‘हिजोका दिनमा बैंकहरुले यति अर्ब नाफा कमायो भन्ने कुराको मात्रै चर्चा हुन्थ्यो। आजको परिस्थितिले भोलिका दिनमा फलानो बैंकको वितरणयोग्य मुनाफा यति नेगेटिभ भन्ने कुराको चर्चा होला,’ उनले भने, ‘नाफा जहिले पनि सापेक्षिक रुपमा हेरिनुपर्छ। रिटर्न अन इक्वीटी कति छ। लाभांश कति दिन सक्छ भन्ने कुरा हेर्नुपर्छ।’

रिटर्न अन इक्विटी घट्दै जाँदा वास्तविक लगानीकर्ताले पाउने रिटर्न कम हुँदै गएको ढुंगानाले बताए। साथै, पछिल्लो समय कर्जा रिकोभरीमा समस्याले बैंकहरुको एनपीएल बढेको बताए। तर, कुनै समयमा यस्तो एनपीएल नेगेटिभ हुने गरेको उनको भनाइ छ। आगामी ६ महिनामा एनपीएल ह्वात्तै घट्ने अवस्था नदेखिएको उनले बताए।  

‘अहिले ऋणीले ऋण तिर्न सक्ने अवस्था कम छ। कसैले कर्जा तिरे पनि नेपाल राष्ट्र बैंकको निर्देशनका कारण त्यसलाई पुनः वर्गीकरण गरी असल कर्जामा राख्न ६ महिना कुर्नुपर्छ,’ उनले भने, ‘केन्द्रीय बैंकको व्यवस्थाले यो वर्षको अन्तमा यो फिगर ठूलो देखिएर एनपीएल कम हुने अवस्था छैन।’            

परिस्थिति आउने र जाने हुँदा अहिलेको समस्या चाँडै समाधान हुने अपेक्षा गरेको ढुंगानाले बताए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved