मिटरब्याज, सहकारी र लघुवित्त पीडितहरु सडकमा, ज्यानकै बाजी लगाएर आन्दोलन छेड्ने चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2024 | 11:33:16 PM मा प्रकाशित

laxmi  sunrise bank

मिटरब्याज पीडितहरुले विगत केही दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरु लामो समय पैदल हिँडेर काठमाडौं आएर प्रदर्शन गरिरहेका हुन्। सकारले मिटरब्याज पीडितलाई न्याय दिन कानून निर्माण गरेको भएपनि पीडितको समस्या जस्ताकोतस्तै रहेको उनीहरुको गुनासो छ।

त्यसैगरी लघुवित्त पीडित र सहकारी पीडितहरुको पनि समस्या उस्तै छ। सहकारीबाट पीडित बनेका बचतकर्ताहरुले त आन्दोलनको घोषणा नै गरिसकेका छन् । यसै सन्दर्भमा आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले लघुवित्त पीडित, मिटरब्याज पीडित र सहकारी पीडितहरुसँग विशेष साक्षतकार कार्यक्रम गरेको छ । 

सहकारी बचतकर्ता संरक्षणा राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले सहकारी पीडितहरुको पक्षमा आफूहरुले ६३ दिन आन्दोलन गरेको बताए । आन्दोलनका क्रममै भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ प्रदर्शनस्थलमै आएरपश्चात सात बुँदे सहमति भएको बताए । त्यसपछि आफूहरुले प्रतिवेदन सरकारलाई बुझाएको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी पीडितहरुको बचत रकम चैत मसान्तभित्रै फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गरेपनि अहिलेसम्म कुनै कामको सुरुवात नै नभएको बताए । 

आफूहरुले सरकार जवाफदेही बनोस्, आफूहरु अराजक बन्न हुन्न भनेर गत माघ २५ गते प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम राखेर प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालयलगायतको प्रतिनिधिको उपस्थितिका लागि पत्राचार गरेपनि कोही जवाफदेही नभएको बताए । उनले अहिले आफूहरुलाई देशभरबाट १४ लाख पीडितहरुले समर्थन गरिरहेको बताए । सहकारी पीडितहरुको पीडा अब विष्पोट हुने अवस्थामा पुगिसकेको उनको भनाइ छ । उनले सरकारले अब पनि नसुनेको खण्डमा चुपचाप नबस्ने बताए । सहकारी पीडितको न्यायका लागि आफू बलिदानी दिन पनि तयार रहेको बताए । 

‘हामीलाई अहिले देशभरीबाट १४ लाखले समर्थन गर्नुभएको छ । ७४ लाख बचतकर्ता पीडितको यो पीडा अब विष्पोट हुने बेला भइसकेको छ । यदि सरकारले समयमा नसुनेको खण्डमा अब भने हामी चुपचाप बस्दैनौं । हामी ज्यानको बाजी लगाउन किन नपरोस्,’– उनले भने । 

अब देशभरबाट बचतकर्ताहरु काठमाडौं आउने तयारीमा रहेका उनले बताए । सरकारले आफूले गरेको सात बुँदे सम्झौता तत्काल कार्यान्वयन नगरेको खण्डमा अब दुःखदायी अवस्था सिर्जना हुने उनको चेतावनी छ । 

मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले आफूहरु विगत ३ वर्षदेखि निरन्तर आन्दोलनरत रहेको बताए । मिटरब्याज पीडितहरु लाखौंको संख्यामा रहेको र उनीहरुले आफ्नो उजुरी दर्ता गराउन नपाउँदै उक्त समस्या छानविनका लागि बनेको आयोगको म्याद सकिएको बताए । सकारले तत्काल आयोगमार्फत उजुरी दर्ता प्रक्रिया खुल्ला गराउन पर्ने, पक्राउ पुर्जी, नषेधाज्ञा खारेज हुनुपर्ने र वडामा दर्ता भएको फर्जी तमसुकहरु अवैध घोषणा हुनुपर्ने उनको माग छ । त्यसैगरी पीडकहरुले घटाएको हिंसा, हत्या, बलात्कारलगायतका घटनाहरु छानविन गरी उचित दण्ड सजायको ब्यवस्था गरिनुपर्ने उनको भनाइ छ । साथै,  मिटरब्याज पीडितलाई सरकारले सहुलियत ऋण दिनुपर्ने उनको भनाइ छ । आफूहरु न्याय पाएको अनुभूति भएपछिमात्रै आन्दोलनबाट घर फिर्ता हुने उनले बताए । 

मिटरब्याज पीडित रीता शर्माले आफूले ८० हजार ऋण लिएकोमा साहुकारले चार गुणा बढाएर कागज गराएको बताईन् । अर्की पीडित शिलादेवी ठाकुरले आफूले पटक–पटक गरी तीन लाख ऋण लिएकोमा ३०औं लाख ब्याज जोडेर साहुकारले दुःख दिएको बताईन्।

त्यस्तै लघुवित्त पिडितहरु पनि अन्तिम लडाईको लागि भन्दै  अहिले काठमान्डौमा आएर आन्दोलन गरिरहेका छन्। आफुहरुले लिएको ऋण भन्दा कयौं गुणा बढी रकम तिर्दा पनि ऋणनै नसकीएकोले अब ऋण नै तिर्न नसक्ने अवस्थामा पुगेको लघुवित्त पिडितहरुको भनाई छ। 

लघुवित्त तथा वित्तीय शोषण विरुद्दको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्तको अन्यायले सिमा नाघेकाले लघुवित्तका ऋणीले कुनै पनि हालतमा ऋण नतिर्ने बताउदै ऋण मिनाहाको अन्तिम लडाई भएको बताएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved