
पुनर्बीमा कम्पनीहरुले एक वर्ष भित्र २० अर्ब चुक्ता पुंजी पुर्याउनु पर्ने भएको छ । नेपाल बीमा प्राधिकरणको आज बसेको संचालक समितिको बैठकले एक वर्षको समय दिएर चुक्ता पुँजी २० अर्ब पुर्याउन निर्देशन दिने निर्णय गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले आजको बैठकले यस बारे निर्णय गरेको र अब सोहि अनुसार कम्पनीहरुलाई निर्देशन दिने बताए । उनका अनुसार कम्पनीहरुलाई २० अर्ब चुक्ता पुंजी पुर्याउने योजना पेश गर्न प्राधिकरणले निर्देशन दिने छ ।
हाल नेपालमा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स गरि २ वटा पुनर्बीमा कम्पनी छ । सरकारको समेत लगानी रहेको नेपला पुनर्बीमा कम्पनीको पुंजी १२ अर्ब ८१ करोड रहेको छ । त्यस्तै हिमालयन रिइन्स्योरेन्सको पुंजी १० अर्ब मात्र छ । हिमालयन रिइन्स्योरेन्सले हालै मात्र आईपीओ निष्काशन गरेको थियो ।