
कोरोना बीमा गराएका मध्ये १ लाख भन्दा धेरै बिमितले अझै भने कोरोना बीमाको दाबी भुक्तानी पाएका छैनन्। सरकारले कोरोना बीमा वापत ९ अर्ब ७२ करोड रुपैयाँ भन्दा बढी भुक्तानी दिन बाँकी छ। यो ३ वर्ष अघि नै दिनुपर्ने रकम हो ।
नेपालमा कोरोना बीमालेख अन्तर्गत १७ लाख ५८ हजार ३४३ जनाले बीमा गराएका थिए । जसमध्ये १ लाख ६५ हजार ५९ जनाले बीमितले दावी भुक्तानीको माग गरेका थिए । उक्त भुक्तानी माग अनुसार नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, नेपाल पुनर्बीमा कम्पनी र अन्य निर्जीवन कम्पनीहरुले गरे जम्मा १५ अर्ब ८२ करोड २१ लाख रुपैयाँ दिनुपर्ने थियो ।
उक्त रकम मध्ये ३ अर्ब ५० करोड रुपैयाँ प्राधिकरण, पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरुको दायीत्वमा थियो । बाँकी १२ अर्ब ३२ करोड बराबर रकम नेपाल सरकार अर्थात अर्थ मन्त्रालयले दिनुपर्ने रकम हो । तर, सरकारले हालसम्म १ अर्ब मात्र भुक्तानी गरेको छ ।
सरकार, बीमा कम्पनी, पुनर्बीमा र प्राधिकरणले गरेर हालसम्म जम्मा ६४ हजार ८६८ जना बीमितको ६ अर्ब १० करोड १५ लाख रुपैयाँ मात्र भुक्तानी गरिदिएका छन् । अझै १ लाख १९१ जना बीमितले पाउनुपर्ने ९ अर्ब ७२ करोड रुपैयाँ भन्दा बढी रकम पाउन सकेका छैनन् । कोरोनाको दाबी पेश गरेको बर्षाैँ बितिसक्दा पनि उनीहरुले उक्त पाउनु पर्ने रकम पाउन नसकेका हुन् ।
बीमा कम्पनीले थाले पहल
सरकारले दिनुपर्ने दावी भुक्तानीको रकम दिलाउन पछिल्लो समय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) हरुले पनि पहल थालेका छन् । निर्जीवन बीमा कम्पनीका सीईओहरुको छाता संगठन नेपाल बीमक संघले उक्त रकम दिलाउनको लागि सरकारलाई आवश्यक निर्देशन गरिदिन आग्रह गर्दै संसदको सार्वजनिक लेखा समितिमा लिखित पत्र पेश गरेको छ । संघले कोरोना बीमाको दावी भुक्तानी दिन निर्देशन दिन अनुरोध गर्दै समितिमा मंगलबार निवेदन दिएको हो ।
सगरमाथा लुम्बिनी ईन्स्योरेन्सको सीईओ समेत रहेका संघका अध्यक्ष चंकी क्षेत्रीले समितिमा निवेदन दिएको बिजपाटीलाई जानकारी दिए । सरकारबाट रकम आएपछि सबै बिमितलाई दाबी भुक्तानीको रकम दिन सकिने उनको भनाई छ ।
सरकार भन्छ 'पैसा छैन'
प्रवक्ता शर्माले स्रोतको चाप रहेका कारण अहिले त्यस शिर्षकका लागि रकम निकासा गर्न नसकिने बिजपाटीलाई बताए । उनका अनुसार राजस्व पनि लक्ष्य अनुसार उठ्न नसकेको र स्रोतमा चाप परेकाले मन्त्रालयले कोरोना बीमितलाई दिनुपर्ने रकम व्यवस्थापन गर्न नसकिएको हो ।
कहिलेसम्म भुक्तानी हुन्छ भन्ने बारे पनि उनले अहिले नै भन्न नसकिने बताए। स्रोतको व्यवस्थापन हुँदा कहिले दिने भन्नेबारे छलफल हुने कुरा हो ।’, प्रवक्ता शर्माले बिजपाटीसँग भने 'अहिले मिति तोकेर कहिले दिन्छौँ भनेर भन्न सकिंदैन।’
छैन प्राधिकरणको पहल
बिमितले कोरोनाको अरर्बौँ रुपैयाँ भुक्तानी नपाएको अवस्थामा पनि बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले भने केहि पनि पहल गरेको छैन । प्रवक्ता समेत रहेका प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले यसबारे प्राधिकरणले केहि पनि नगरेको स्वीकारे । अहिले यसबारे के भईरहेको छ भन्ने प्रश्नमा पौडेलले भने 'अहिले केहि पनि भएको छैन।'