गाडीको व्यापार ‘शून्य’मा झर्‍यो, बैंकहरुले अटो लोनको फाइल लिनै छोडे

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 14, 2022 | 01:08:35 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुमा तरलता अभाव चुलिएपछि सवारी साधनको व्यापारमा प्रभाव परेको छ । बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकमको अभाव भएपछि सवारी कर्जा दिन छोडेपछि अटो व्यवसायी तथा उपभोक्ता मारमा परेका छन् ।

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अनुसार बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ सुविधा बन्द गरेपछि अहिले व्यवसाय खस्किएको छ । गाडीको बिक्रि नै नहुने अवस्था सिर्जना भएको छ । 

शतप्रतिशत नगद मार्जिनको असर

नेपाल राष्ट्र बैंकले आयात कम गर्दै विदेशी मुद्रा संचितका लागि विभिन्न प्रकृतिका बस्तु आयातमा १०० प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको छ । गाडीको आयातमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने प्रावधान छ ।

यसअघि एलसी खोल्दा मार्जिन राख्ने वा नराख्ने निणर्य बैंकहरु आफैँले गर्दै आएकोमा अहिले राष्ट्र बैंकले एलसी खोल्दा अनिवार्य मार्जिनको व्यवस्था गरिदिएको छ । राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले मोटरसाइकल तथा स्कुटरसहित पेट्रोलियम पदार्थबाट चल्ने निजी सवारी साधनको आयातमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्छ ।

इलेक्ट्रिक सवारीमा नगद मार्जिन राख्नुनपर्ने भएपनि सवारी साधनका विभिन्न स्पेयर पार्टस्को आयातमा भने क्यास मार्जिन अनिवार्य छ । यो प्रावधानले आयातमा सिधै प्रभाव पारेको व्यवसायीहरु बताउँछन् ।

‘किन्छौँ भन्नेले पनि पाएनन्’

नाडाका अध्यक्ष ध्रुब थापाका अनुसार फाइनान्सिङ सुविधा पाए निजी सवारी खरिद गर्छौँ भन्ने ग्राहकको संख्या भएपनि वित्तीय संस्थाहरुबाट अटो कर्जाको प्रवाह नै रोकिँदा व्यवसायमा समस्या परिरहेको छ । 

अहिले सवारी साधन चढ्नेहरुमध्ये ९० प्रतिशत बढीले फाइनान्सिङ गरेरै गाडी चढ्दै आएको तर, अहिले फाइनान्सिङको सुविधा नहुँदा गाडी किन्न चाहेर शोरुम भिजिट गर्नेहरुले पनि गाडी किन्न नपाएको बताए ।

अहिले बैंक वित्तीय संस्थाहरुले अटो लोनको फाइल नै अस्वीकार गर्दै आएको उनको भनाई छ ।

घट्यो अटो लोन

अटो कर्जाको प्रवाह घटेको छ । मंसिर मसान्तसम्म १ खर्ब ६८ अर्ब ९० करोड १० लाख हायर पर्चेज कर्जा प्रवाह गरेका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले पौष महिनामा १ खर्ब ६८ अर्ब ५५ करोड ७० लाख रुपैयाँमा मात्रै लगानी गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved