वायुसेवा निगमलाई ध्वस्त बनाउँदै 'डीजी साप', विदेशीको उडान थपेर ध्वजावाहकको कटौती

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 31, 2022 | 11:35:54 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार भारतको नयाँदिल्ली उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले रोक्यो । दिउँसो १०:४५ बजे २५४ जना यात्रु लिएर भारतको दिल्ली उड्न तयार भएको नेपाल एयरलाइन्सको वाइडबडीको आरए–२१७ उडान एयरपोर्टले रोकेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अन्तराष्ट्रिय उडानको तालिका स्वीकृत गर्ने क्रममा अक्टोबर ३० देखि मार्च २७ सम्मको तालिका अनुसार निगमको आइतबार र शुक्रबार दिउँसो १०:४५ बजे हुने काठमाडौँ–दिल्ली उडान कटौती गरेपछि हिजो आइतबारको उडान रोकिएको हो ।

विवादको चुरो कुरो के हो ?

साउन १९ गते तत्कालिन पर्यटनमन्त्री प्रेम आलेको सिफारिसमा नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई मन्त्रिपरिषदको बैठकले बर्खास्त गरेको थियो । त्यसअघि उनीमाथि छानबिन गर्न समिति बनाइएको थियो । छानबिन समिति बनेपछि अधिकारी निलम्बनमा परेका थिए ।

तर, निलम्बनको निर्णय विरुद्द उनी अदालत गएका थिए ।

साउन १९ गते सरकारले बर्खास्त गरेकै दिन सर्वोच्च अदालतले निगमका कार्यकारी अध्यक्षलाई कारबाही नगर्न आदेश दियो । त्यसपछि अधिकारी कार्यालय जान थाले ।

तर, अदालतबाट ‘स्टे अर्डर’ लिएर फर्किएपछि तत्कालिन पर्यटनमन्त्री प्रेम आले र उनको सम्बन्ध झन झन चिसियो । आलेले अपशब्द प्रयोग गर्दै अध्यक्ष अधिकारीमाथि हातपात नै गरेको अडियो र केही फुटेज भिडियोहरु नै सार्वजनिक भए । आले आफैँले जोड गरेर निगमको अध्यक्षमा अधिकारीलाई नियुक्त गरेका थिए । तर, कालान्तरमा दुई बीच सम्बन्ध चिसिन पुग्यो ।

आले मन्त्रीबाट हट्नासाथ पर्यटनमन्त्री बने नेकपा एकिकृत समाजवादीका जीवनराम श्रेष्ठ । श्रेष्ठ र आले एउटै पार्टीमा छन् । उता नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)को महानिर्देशक पनि आलेले नै बनाएका व्यक्ति हुन् । प्रदीप अधिकारीलाई आलेले सबैतिर मिलाएर क्यानको महानिर्देशक बनाएका थिए ।

अहिले मन्त्री श्रेष्ठसँग क्यानका महानिर्देशक अधिकारीको सम्बन्ध सुमधुर छ । यसको तादातम्यता सबै आलेले नै मिलाइदिएका थिए । आले र निगम अध्यक्ष अधिकारीको विगतको विवाद अहिले मन्त्री श्रेष्ठले आफ्नो र अधिकारीको विवादका रुपमा लिएका छन् । उनले जसरी पनि अधिकारीलाई ‘घुडा टेकाउने’ रणनीति लिएको निकटस्थ स्रोतले आधारसहित जानकारी गराएको छ । यसका लागि मन्त्री अधिकारीलाई आलेले घुमाइरहेको दाबी पनि स्रोतले गरेको छ ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई घुडा टेकाउन अहिले मन्त्री श्रेष्ठले क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई प्रयोग गरेको दाबी स्रोतको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्रेष्ठकै निर्देशनमा क्यानका महानिर्देशक अधिकारीले आइतबारको नेपाल एयरलाइन्सको दिल्ली उडान रोकिदिएको दाबी पनि स्रोतले गरेको छ ।

ध्वजाबाहकको उडान कटौती गरेर अधिकारीले भारतीय वायुसेवा कम्पनी इन्डिगो र भिस्ताराको भने उडान संख्या थपिदिएका छन् । अधिकारीमाथि विदेशी वायुसेवा कम्पनीबाट मोटो रकम लिएर राष्ट्रिय ध्वजाबाहकलाई धरासायी बनाउन खोजेको आरोप क्यानकै अधिकारीहरूले लगाएका छन् ।

निगमको टोलीलाई मन्त्रीले झपारे

क्यानबाट भैरहवा उडान सुरु गर्न भन्दै निगमलाई पत्र गएको थियो । निगमले क्यानलाई उत्तर पठाउँदै डिसेम्बर २२ भित्र उडान गर्न तयारी भइरहेको र अहिले तत्काल जान नसकिने ब्यहोराको जवाफ दियो ।

यस लगत्तै निगमको एउटा टोली अहिले काठमाडौँबाट भइरहेको उडान यहीँबाट गर्ने र डेढ महिनामा भैरहवाबाट उडान गर्ने जानकारी बोकेर पर्यटनमन्त्री श्रेष्ठ समक्ष पुग्यो । तर, मन्त्री श्रेष्ठले काठमाडौँबाट भइरहेको निगमको उडान कटौती हुने भन्दै निगमको टोलीलाई झपारेर फर्काए ।

लगत्तै, त्रिभुवन विमानस्थलले यात्रुले बोर्डिङ पास लिइसकेको अवस्थामा आइतबार दिल्ली जान ठिक्क परेको निगमको जहाज रोकेको हो ।

लहड र सनकको भरमा निर्णय 

निगमका आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुवास डाँगीले अधिकारीको यो निर्णय लहड र सनकको भरमा आएको टिप्पणी गरे । बिजपाटीसँग कुरा गर्दै डाँगीले भने, '८/८ महिना अघि काटेको टिकट अलपत्र परेको छ । निगमको इतिहासमा अहिलेसम्म यस्तो भएको छैन ।'

हरेक हप्ता ४ वटा फ्लाइट बन्द गर्ने अधिकारीको निर्णयले वायुसेवा निगमको करोडौं क्षति भएको उनले बताए । 'कहीं न कहीं आर्थिक प्रलोभन पाएपछि अधिकारीले वायुसेवा निगमलाई ध्वस्त बनाउन लागेको हाम्रो अनुमान छ,' उनले भने, 'एकातिर यात्रुले दुख पाए । अर्कोतिर ध्वजावाहक विमानको अन्तर्राष्ट्रिय साख गिर्यो ।'

तर अधिकारीले भने वायुसेवाको उडान कटौतीलाई अन्य अन्तर्राष्ट्रिय कम्पनीको उडान थपसँग जोड्न नमिल्ने दाबी गर्छन् । उनले बिजपाटीसँग भने, 'भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान संख्या थप्न क्यानले गरेको अनुरोधलाई वायुसेवाले अटेरी गरेको हो । यसमा विदेशी वायुसेवा कम्पनीले गरेको उडान संख्या थपसँग कुनै सम्बन्ध छैन ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved