
निक्षेप तथा कर्जा सुरक्षण कोषले 'काजीबाको
रुपैयाँ' नामक सन्देशमूलक लघुचलचित्र सार्वजनिक गरेको छ । बैंकिङ क्षेत्रले तरलता
अभाव झेलिरहेको समयमा भिडियोले बैकिङ तथा वित्तीय संस्थामा ढुक्कसँग वचत गर्न
सकिने र बैकिङ च्यानलबाट मात्र कारोवार गर्नुपर्ने सन्देश दिई अर्थपूर्ण जानकारी
प्रवाह गरेको छ ।
कोषमै कार्यरत कर्मचारी अच्युत पन्तको
परिकल्पना तथा लेखनमा आधारित यस लघुचलचित्रमा रामचन्द्र अधिकारी, लक्ष्मी गिरी, विनोद श्रेष्ठ, अजय
रेग्मीलगायतको मुख्य अभिनय रहेको छ । भिडियोको निर्देशन कृष्ण लामिछानेले गरेका
छन् ।
लघुचलचित्रलाई कोषको वार्षिक उत्सवको
अवसरमा गभर्नर महाप्रसाद अधिकारीले रिलिज गरेका थिए । त्यसकाे केही समय पछि काेषले
आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।
नेपाली टेलिसिरियल मेरी बास्सैबाट
काजी र कजिनीकै भुमिकामा चर्चित भएर मध्यम वर्गमा भिजेका कलाकारलाई भिडियोमा पनि
उस्तै भुमिकामा उतारिएको छ ।
यस लघुचलचित्रले बढी व्याज दिने लोभमा
समाजमा केही व्यक्तिहरू पैसा हत्याउन लागि पर्ने र पैसा लिई मिटरव्याज, क्रिप्टाेकरेन्सी, हुन्डी लगायतका गैरकानुनी कार्यमा लगानी गर्ने गरेका, बैंक
तथा वित्तीय प्रणालीप्रतिकाे विश्वासमा आँच पुर्याउने कृयाकलापमा संलग्न हुने
गरेका देखाइएकाे छ । यसले वित्तीय संकटको समयमा समाचारलाई तथ्य नवुझी सतही रूपमा
मात्र लिदा हुने तनावपूर्ण जीवनलाई समेत उतार्ने प्रयास गरेको छ ।
अन्तमा निक्षेप सुरक्षणको जानकारी
मार्फत वैंक तथा वित्तीय प्रणालीप्रति शंकारहित तवरले विश्वास गर्नुपर्ने सन्देश
प्रवाह गरिएकाे छ । यसका साथै हुन्डी, क्रिप्टोकरेन्सी
तथा मिटरव्याजको धन्दामा नलागी बैंक तथा वित्तीय प्रणालीबाट नै हरेक काराेबार गर्न
सुझाइएकाे छ ।