क्रिप्टो कारोबार गर्दा १३ जोखिम: मौद्रिक नीति कार्यान्वयन नहुनेदेखि आर्थिक सन्तुलन बिग्रनेसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2023 | 05:54:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा राष्ट्र बैंकले  क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाएको र क्रिप्टोकरेन्सीको कारोबार गर्दा हुने विभिन्न जोखिमको कारण क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध कायमै राख्न वाञ्छनीय रहेको उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार यस्ता छन् क्रिप्टोकरेन्सीको कारोबार गर्दा हुने जोखिम : 

१. समग्र आर्थिक सन्तुलन कायम नहुने जोखिम : प्रचलित आर्थिक, मौद्रिक तथा वित्तीय व्यवस्थामा सरकार, केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्था, बचतकर्ता, ऋणी, सर्वसाधारणलगायत विभिन्न सरोकारवाला पक्षहरु हुने र उक्त पक्षहरुबीचको हित सुनिश्चित हुने उद्देश्यका साथ देशले आवश्यक नीतिगत व्यवस्था गर्ने परिप्रेक्ष्यमा क्रिप्टोकरेन्सीको कारोबारमा वित्तीय मध्यस्थकर्ता लगायत अन्य पक्षहरुलाई समावेश नभई सोका प्रयोगकर्ता/लगानीकर्ता बीचमा मात्र केन्द्रित हुने तथा प्रयोगकर्ता/लगानीकर्ताको लगानी / स्वामित्व समेत सट्टेबाजी प्रकृतिको भई त्यस्तो लगानीमा अत्यधिक जोखिम रहने हुँदा क्रिप्टोकरेन्सी कारोबारबाट समग्र आर्थिक सन्तुलन कायम नहुने जोखिम विद्यमान रहन्छ ।

२. वित्तीय स्थायित्व सम्बन्धी जोखिमः क्रिप्टोकरेन्सीको बढ्दो प्रयोगबाट समस्त वित्तीय स्थायित्वमा नै प्रतिकूल असर पर्न सक्ने देखिन्छ । International Monetary Fund (IMF) ले अक्टोबर २०२१ मा जारी गरेको Global Financial Stability Report ( GFSR) मा क्रिप्टोकरेन्सीलाई विश्वव्यापी वित्तीय स्थायित्वको तीनवटा प्रमुख चुनौतीमध्ये एक भनेर उल्लेख गरेको छ ।

३. मौद्रिक नीति कार्यान्वयन नहुने सम्बन्धी जोखिमः क्रिप्टोकरेन्सी प्रचलनमा आउँदा अर्थतन्त्र "Dollarization" हुने सम्भावना विद्यमान रहन्छ र मुद्रा प्रदाय तथा व्याजदर माथि केन्द्रीय बैंकको नियन्त्रण गुम्न सक्ने जोखिम रहन्छ । क्रिप्टोकरेन्सी निजी क्षेत्रबाट सञ्चालन हुने र केन्द्रीय बैंकको नियन्त्रण बाहिर भएकोले यसको प्रयोग भएमा मुद्रा प्रदाय (Money Supply) मा गणना नभई मौद्रिक नीतिको प्रशारण संयन्त्र लगायत सोको प्रभावकारितामा समेत नकारात्मक असर पर्न सक्ने देखिन्छ ।
४. विदेशी विनिमय सञ्चिति सम्बन्धी जोखिमः हाल नेपालले विदेशबाट प्राप्त गर्ने आम्दानी विदेशी मुद्रामा प्राप्त भई विदेशी विनिमय सञ्चितिमा गणना हुने गरेकोमा क्रिप्टोकरेन्सीलाई Reserve Currency को रुपमा स्वीकार नगरिएको हुँदा सोको प्रचलनबाट विदेशी विनिमय सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्ने देखिन्छ। नेपालमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विप्रेषण भएको हुँदा नेपाल बाहिर बस्ने नेपाली नागरिकलाई विभिन्न प्रलोभन / प्रभावमा पारी क्रिप्टोकरेन्सीमा लगानी हुन सक्ने र त्यस्तो सट्टेबाजी लगानीले लगानीकर्ताको हित लगायत देशको अर्थतन्त्रमा नै समस्या निम्तिन सक्ने जोखिम रहन्छ। तसर्थ, क्रिप्टोकरेन्सीको कारोबार / लगानीबाट पुँजी पलायन हुनसक्ने र विदेशमा रहेका नेपालीबाट नेपाल आउने विप्रेषण विदेशमै लगानी हुनसक्ने भएकोले विदेशी मुद्राको सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ ।

५. सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी सम्बन्धी जोखिमः क्रिप्टोकरेन्सी कारोबारमा सहभागी हुने पक्षहरुको पहिचान गोप्य रहने हुँदा विद्यमान ग्राहक पहिचान र सम्पत्ति शुद्धीकरण तथा आतङ्ककवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थाको पालनामा चुनौती थपिन जान्छ । सन् २०२१ मा अमेरिकी डलर १४ अर्ब बराबरको अपराध क्रिप्टोकरेन्सीमार्फत् भएको तथ्याङ्क तारिख ६ जनवरी २०२२ को Wall Street Journal मा प्रकाशित भएको छ । क्रिप्टोकरेन्सीको कारोबारबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा लगानी सम्बन्धी जोखिम (ML/TF Risk) बारे Financial Action Task Force ले सन् २०१४ जुनमा प्रकाशन गरेको प्रतिवेदनमा Anonimity, Segmentation of Services, Decentralized System आदिबाट ML/TF Risks हुने औंल्याएको छ।

६. वित्तीय ग्राहक संरक्षण सम्बन्धी जोखिमः क्रिप्टोकरेन्सीको कारोबारबाट ग्राहक संरक्षणमा पनि असर गर्ने देखिन्छ। क्रिप्टोकरेन्सीबाट नेपाल जस्तो वित्तीय साक्षरता कम भएका मुलुकमा वित्तीय सेवाका उपभोक्ताहरु असुरक्षित हुने सम्भावना रहन्छ ।

७. लगानीको असुरक्षा हुने सम्बन्धी जोखिमः पछिल्लो समयमा, FTX जस्तो क्रिप्टोकरेन्सीको दोस्रो ठूलो Exchange टाट पल्टनुले समेत क्रिप्टोकरेन्सीमा हुने लगानी अत्यधिक जोखिमपूर्ण रहेको देखिन्छ । साथै, पछिल्लो समयमा भएको TerraUSD र LUNA को पतनले समेत क्रिप्टोकरेन्सीको लगानी जोखिमपूर्ण हुने देखाउँछ। 

८. ठगी तथा कर छली सम्बन्धी जोखिमः क्रिप्टोकरेन्सीको प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेष गरी ठगी तथा कर छली लगायतका कार्य हुन सक्ने देखिन्छ । Financial Stability Institute (FSI) को अप्रिल २०२१ को प्रतिवेदनमा उल्लेख भए अनुसार एउटा निजी फर्मको अनुसन्धानले सन् २०२० मा Criminally Associated Bitcoin Address बाट मात्र अमेरिकी डलर ३.५ अर्ब पठाएको देखिन्छ ।

९.अन्तर्राष्ट्रिय संघ-संस्थाहरुसँगको सहकार्य विरुद्ध हुने सम्बन्धी जोखिमः क्रिप्टोकरेन्सीबाट निम्तिने जोखिमलाई दृष्टिगत गरी अन्तर्राष्ट्रिय मुद्रा कोषले El Salvador लाई क्रिप्टोकरेन्सीको कानूनी ग्राह्यता खारेज गर्न २५ जनवरी २०२२ मा Article IV Consultation मार्फत् प्रेस विज्ञप्ति (Press Release) जारी गरी सुझाव दिएको छ ( International Monetary Fund, 2022 ) । साथै, United Nations Conference on Trade and Development को July 2022 को Policy Brief No. 102 मा Cryptocurrency विकासशील राष्ट्रहरुलाई हानिकारक हुने व्यहोरा उल्लेख भएको छ (United Nations Conference on Trade and Development, 2022) । साथै, UNCTAD ले विकासउन्मुख मुलुकहरुमा क्रिप्टोकरेन्सीको विस्तार रोक्नु पर्ने धारणा June 2022 को Policy Brief No. 100 मा उल्लेख गरेको छ (United Nations Conference on Trade and Development, 2022a ) ।
१०. वित्तीय मध्यस्थता नहुने सम्बन्धी जोखिमः क्रिप्टोकरेन्सीले विद्यमान वित्तीय मध्यस्थता बिना भुक्तानी सम्बन्धी कार्य गर्ने हुँदा बैंक तथा वित्तीय संस्थाले गर्ने निक्षेप परिचालन तथा साख सिर्जनालगायतका कार्यमा समेत नकारात्मक असर पर्न गई बैंक तथा वित्तीय संस्थाको औचित्य माथि प्रश्न खडा हुने देखिन्छ ।

११. क्रिप्टोकरेन्सी निजी क्षेत्रबाट मुद्रा निष्कासन गर्ने एकाधिकार सम्बन्धी कानूनको पालना नहुने जोखिमः जारी भएको हुँदा सार्वभौम राज्यबाट निष्कासन हुने गरेको विद्यमान मुद्रा सम्बन्धी व्यवस्थामा चुनौती खडा गर्ने हुन्छ। क्रिप्टोकरेन्सीको प्रचलनले अर्थतन्त्रमा स्वतः एक भन्दा बढी मुद्रा प्रणाली (द्वय मुद्रा) प्रचलनमा रहने हुन्छ। साथै, नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ५२ (१) ले नेपालभित्र मुद्रा निष्कासन गर्न नेपाल राष्ट्र बैंकलाई एकाधिकार दिएको परिप्रेक्ष्यमा नेपालमा क्रिप्टोकरेन्सी जारी हुँदा तथा प्रचलनमा आउँदा ऐनको उक्त व्यवस्थाको पालना नहुने देखिन्छ ।

१२. विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने कानून पालना नहुने सम्बन्धी जोखिमः विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १०क र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ मा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाएको तथा नेपालले पुँजीगत कारोबारमा नियन्त्रित व्यवस्था अङ्गिकार गरेको परिप्रेक्ष्यमा क्रिप्टोकरेन्सीको प्रयोगबाट त्यस्तो पुँजीगत कारोबारमाथिको नियन्त्रण गुम्न जाने र उल्लिखित कानूनी व्यवस्थाहरुको पालना नहुने देखिन्छ । नेपालमा बस्ने नेपाली नागरिकहरुले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले तोकेको अवस्था बाहेक अन्य कुनै पनि किसिमले विदेशमा लगानी गर्न प्रतिबन्धित रहेको हालको विद्यमान कानूनी व्यवस्थामा क्रिप्टोकरेन्सीमा प्रतिबन्ध नलगाउँदा त्यस्तो नियन्त्रण गुम्न जाने देखिन्छ ।१३. विदेशी विनिमय माथिको नियन्त्रण ( नियमन ) गुम्ने सम्बन्धी जोखिमः हाल नेपालमा विदेशी सार्वभौम मुलुकले जारी गरेका तथा अन्य मुलुकमा सर्वस्वीकार्य रहेका विदेशी मुद्रा (जस्तैः अमेरिकी डलर, यूरोपियन यूरो, भारतीय रुपैयाँ आदि) माथिको पहुँच समेत नियन्त्रित रहेको छ । विदेशी सरकारले जारी गरेको नगद विदेशी मुद्रा समेत नेपाली नागरिकले तोकिएको सीमासम्म मात्र राख्न सक्ने व्यवस्था रहेको छ । साथै, भा.रु. १०० दरभन्दा ठूला दरका नोटहरु नेपालमा प्रतिबन्धित रहेको छ । तसर्थ, हाल नेपालले विदेशी विनिमयउपर नियन्त्रित व्यवस्था अवलम्बन गरेको परिप्रक्ष्यमा क्रिप्टोकरेन्सी कारोबारबाट विदेशी विनिमय माथिको नियन्त्रण ( नियमन ) गुम्न सक्ने जोखिम रहन्छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved