नेपाल बैंकर्स संघले आर्थिक विधेयकमा समावेश भएका बुँदा नम्बर २६ र २७ को व्यवस्थाको प्रतिवाद गर्ने निर्णय गरेको छ । संघको आज बसेको कार्य समितिको बैठकले मर्जरको आयमा कर लाग्ने विषय र एफपिओको प्रिमियमबाट प्राप्त आयमा कर लाग्ने विषयको प्रतिवाद गर्ने निर्णय गरेको हो ।
बैठकले आर्थिक ऐन २०८० को बुँदा नम्बर २६ र २७ को व्यवस्थाबारे सरोकारवालाहरुसंग बृहत छलफल गर्ने निर्णय पनि गरेको छ । यस व्यवस्थाले असर पार्ने सबै सरोकारवालाहरुसंग छलफल गर्ने, सबै एकसाथ मिलेर अगाडी बढ्ने र यी व्यवस्थाको प्रतिवाद गर्ने निर्णय संघले गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को आर्थिक विधेयकको बुँदा नं. २६ मा “फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गरी प्राप्त रकमबाट लाभांश बापत वितरित बोनस शेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था”, र बुँदा नं. २७ मा “मर्जर वा एक्विजिसनको लाभमा लाग्ने करमा शुल्क र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था रहेको छ ।
त्यस्तै बैठकले असार महिनाको लागि ब्याजदर यथावत राख्ने निर्णय गरेको छ । संघको आज बिहान बसेको कार्यसमितिको बैठकले ब्याजदर यथावत राख्ने निर्णय गरेको संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बिजपाटीलाई जानकारी दिए ।