
तत्कालीन सेन्चुरी कमर्शियल बैंकमा डेपुटी सीइओ रहँदा हस्ताक्षर गरेको कर्जाको 'फाइल' का कारण प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले न्यौपानेलाई बबरमहल स्थित प्रभु बैंकको कार्यलयबाट नै पक्राउ गरेको हो।
तत्कालिलीन सेन्चुरी कमर्शियल बैकलाई प्रभु बैंकले प्राप्ति गर्ने बेलामा न्यौपाने सीइओको भूमिकामा भएकाले मर्जर पश्चात न्यौपाने प्रभु बैंकको डेपुटी सीइओ बनेका हुन्।
सीआईबीले न्यौपाने सहित अरु दश जनालाई पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेमा तत्कालिन सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, तथा बैंकका कर्मचारीहरु सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलीप बराल, सन्ध्या श्रेष्ठ, दीपेश प्रधान र रमण श्रेष्ठ, राजेश भण्डारी लगायत रहेका छन्। उनीहरु सबै राष्ट्र बैंक ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका हुन् ।
तत्कालीन सेञ्चुरी बैंकमा कर्जा दुरुपयोग भएको भन्दै यससम्बन्धी फाइल अध्ययन गर्नलाई नेपाल राष्ट्र बैंकले सीआईबीमा उजुरी दिएको थियो। सोहि उजुरीमा प्रारम्भिक अध्ययनको क्रममा सीआईबीले न्यौपानेसहितका कर्मचारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुले कमशल र कम धितोमा बढी कर्जा दिएको सीआईबी प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक होविन्द्र बोगटीले पुष्टि गरेका छन्।
तत्कालीन सेन्चुरी कमर्शियल बैंकले करिब चार वर्ष अगाडी अर्थात सगरमाथा फाइनान्स गाभ्न अगाडी देउराली सहकारीका रविन्द्र चौलागाईँ र उनको श्रीमती पुजा खत्री संचालक रहेको फर्म पुजा मार्केटिंग, पुजा ट्रेडिङ एण्ड मार्केटिंग, थ्री ब्रोदर्स, अन्नपूर्ण डीष्ट्रीलरीको नाममा २ अर्ब २५ करोड कर्जा दिएको स्रोतले जनाएको छ।
चौलागाईँ त्यो बेला देउराली सहकारीमा अध्यक्ष थिए भने उनले कर्जा लिएको फर्म टुबोर्ग बियरको ललितपुर जिल्लाको लागि डीष्ट्रीब्यूटर थियो। १ अर्ब चौध करोड २३ लाख ८४ हजार २५८ रुपैयाँको मुल्यांकनको जग्गा, फर्ममा भएको स्टक र भ्यालुएसनको आधारमा बैंकले २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ चालूपुंजी कर्जा लगानी गरेको थियो।
सहकारीमा समस्या देखिदै जाँदा चौलागाईले स्टकको पैसा सहकारीको समस्या मिलाउन प्रयोग गरेको र अन्तिममा न सहकारी न फर्म रहने अवस्था बनेपछि यता बैंकतर्फको 'हिसाब' बिग्रिन पुग्यो। बैंकमा सावाँ ब्याज नियमित नभएपछि २ अर्ब ११ करोडको कर्जा बढेर ३ अर्ब पुग्यो। जसले गर्दा सेन्चुरी कमर्शियल बैंकलाई प्राप्ति गरेको प्रभु बैंकले अहिलेसम्म तीन पटक धितो लिलामको सूचना निकालेको छ। हिजो फागुन १४ गते मात्रै पनि प्रभु बैंकले सूचना निकालेको थियो।
स्टक र व्यवसायको प्रकृतिको आधारमा नै चालूपुंजी दिईदै आएको नेपालको सन्दर्भमा रबिन्द्र चौलागाईँको फर्मलाई दिएको कर्जाको सावाँ ब्याज नियमित नभएकै कारण बैंकका त्यो बेलाका सीईओ, डेपुटी सीइओ र विभागीय कर्मचारी पक्राउ किन परे भन्ने प्रश्न बैंकर्सले गरेका छन्।
यस अघि : करोडौ काण्डमा पक्राउ परे सेन्चुरीका पूर्व सीइओ न्यौपाने