
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कमसल धितोमा ऋण प्रवाह गरेको विषयमा बैंकर्सहरुलाई पक्राउ गर्दा राष्ट्र बैंकको क्षेत्राधिकार नमिचेको बताएको छ। सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले देउराली बहुउदेश्यीय सहकारी संस्थाको अनुसन्धानका क्रममा तत्कालीन सेञ्चुरी बैंकको व्यवस्थापन टिमको समेत संलग्नता देखिएपछि राष्ट्र बैंकसँग समन्वय गरेरै बैंकर्सहरु पक्राउ गरिएको बताए ।
तत्कालीन सेञ्चुरी कमर्शियल बैंकका सीइओ द्वय मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जना बैंकर्सलाई राष्ट्र बैंकसँग पत्र आदानप्रदान भएपछि मात्रै पक्राउ गरिएको उनको भनाइ छ । बिजपाटीसँगको कुराकानीका क्रममा प्रहरी उपरीक्षक बोगटीले राष्ट्र बैंकलाई सीआईबीले ‘गूड विल’ बापत ऋण दिन पाउने व्यवस्था छ कि छैन भनेर सोधेको र सीआईबीको जिज्ञासामा राष्ट्र बैंकले ‘गूड विल’ बापत ऋण दिने कुनै पनि व्यवस्था नरहेको जवाफ दिएपछि बैंकर्सहरु पक्राउ गरिएको बताए ।
‘तत्कालिन सेञ्चुरी बैंकले देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईलाई कमसल धितोमा धितो मूल्यांकनको दोब्बर हुने गरि कर्जा दिएको रहेछ, बैंकले यसलाई गूडविल बापतको कर्जा भनेको छ, यस्तो व्यवस्था छ कि छैन भनेर हामीले २०८० साल माघ २३ गते राष्ट्र बैंकलाई पत्र पठायौँ’ सीआईबी प्रवक्ता बोगटीले भने, ‘यसको जवाफ राष्ट्र बैंकले २०८० साल फागुन ४ गते हामीलाई दियो । राष्ट्र बैंकले एकिकृत निर्देशन २०८० अनुसार बैंकहरुले गूडविल बापत मात्रै ऋण प्रवाह गर्ने सम्बन्धमा कुनै व्यवस्था नभएको भनेर जवाफ दिएपछि बैंकिङ कसूर अन्तर्गत उहाँहरुलाई पक्राउ गरिएको हो ।’
उनका अनुसार चौलागाईँले २०७१ देखि २०७९ सालसम्म सेञ्चुरी बैंकबाट कर्जा लिन सुरु गरेका थिए । उनले २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ कर्जा लिएका छन् । यो रकम धितो मूल्यांकभन्दा ९७ करोड भन्दा बढी रहेको सीआईबीले दाबी गरेको छ ।
‘२०७१ सालदेखि २०७९ सालसम्म कर्जा लिएको देखिन्छ, बीचमा कर्जाको साँवा ब्याज नतिरेर त्यो लोन खराब कर्जामा पर्दा पनि बैंकले नयाँ लोन दिइरहेको पाइयो’ प्रहरी उपरीक्षक बोगटीले भने ।
उनका अनुसार पक्राउ पर्नेहरुमा प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने, तत्कालिन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, बैंकका कर्मचारीहरु सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलीप बराल, सन्ध्या श्रेष्ठ, दीपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी छन् ।