देउवा र आरजुकै इन्ट्रेष्ट बाझिएपछि को बन्ला अर्थमन्त्री ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2023 | 01:01:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सोह्रवटा मन्त्रालयको जिम्मेवारी थाप्लोमा बोकेर हिँडेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थाप्लोको भारी विसाउने प्रयासलाई पछिल्लो दुई दिनदेखि तिब्रता दिएका छन् । आज मात्रै उनले काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष मावधवकुमार नेपालसँग मन्त्रिपरिषद विस्तारका विषयमा परामर्श लिएका छन् । उनले मङ्गलबार नै १० दलको बैठक बोलाएर मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् ।   

डामाडोल भएको अर्थतन्त्रलाई सम्याउन सक्ने अर्थमन्त्री चाहिने हुँदा अहिले विशेष चर्चामा अर्थमन्त्री को बन्ला भन्ने देखिन्छ  । बजारमा पनि अर्थमन्त्री को आउला भन्ने मै चर्चा र परिचर्चा सुनिन्छ ।

उद्योगी व्यवसायीहरु अर्थतन्त्र बुझेका अर्थमन्त्री ल्याउन र अहिलेको समस्यालाई सम्बोधन गर्ने खालको नेता आवश्यक भएको बताइरहेका छन् । उनीहरुले त्यही अनुसार सरकारसँग लभिङ पनि गरिरहेका छन् ।

नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै काँग्रेससहितको नयाँ सत्ता समिकरणमा बनेको प्रचण्ड सरकार आफू अनुकुलका कांग्रेसका नेता मन्त्रीका रुपमा देख्न चाहन्छन् । त्यसैले पनि उनले आफ्नो तर्फबाट भरपुर प्रयास गरेको देखिन्छ ।

स्वभावतः यसअघि एमालेसँगको सत्ता समिकरणमा अर्थमन्त्री एमालेको भागमा परेकाले अहिले नेपाली कांग्रेसले दावी गर्नु सामान्य नै हो । त्यसैले माओवादीले अर्थमन्त्री चाहँदाचाहँदै पनि  पाउने सम्भावना नदेखिएको बरु गृहमन्त्रीको सम्भावना बलियो रहेको बिजपाटीका सुत्रहरुले बताएका छन्। सम्भवतः आज नभए भोलि मङ्गलबारसम्ममा मन्त्रालयको भाडबन्डा टुङ्ग्याउने गरी सरकारले तयारी थालेको छ ।

सत्तामा सहभागिताका लागि नेपाली कांग्रेसले ८ मन्त्रालय आफ्नो ‘बटमलाइन’ बनाएको छ । माओवादीले हाल उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई अर्थमन्त्री बनाउन नखोजेको होइन । उनी आफैँले गृहको चाहना राखेका उनका निकटस्थ नेताहरु बताउँछन् ।

प्रचण्डको सचिवालयले भने अहिलेसम्म कसलाई कुन मन्त्रालय बनाउने भन्ने तय भइनसकेको जनाएको छ । गृहमा जाने करिबकरिब पक्का जस्तै भएपछि आइतबार श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालयमा आफू आएपछि भएका कामहरु सुनाउन पत्रकार सम्मेलन राखेका थिए । तर, मन्त्रिमण्डल विस्तार तत्काल नहुने भएपछि नारायणकाजीको पत्रकार सम्मेलन रोकियो । त्यो पत्रकार सम्मेलन उनले आज राखेका छन् । मन्त्रालय निश्चित भएर नै उनले पत्रकार भेटघाट राखेका हुन् ।

नेपाली काँग्रेसबाट सरकारमा पार्टीको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गर्ने करिबकरिब पक्का भइसकेको छ । तर, खड्काको अर्थ नभइ गृहमा बढी जोड छ । उनले नै अर्थ पाउने सम्भावना पनि छ । नभए डा प्रकाशशरण महत या उदयशमशेर राणा मध्ये एक हुने सम्भावना रहेको एक नेताले जानकारी दिए । 

कांग्रेस र माओवादीका नेताहरुले अहिलेको अवस्थामा विज्ञ अर्थमन्त्री चाहिए पनि कोही विज्ञ कहलिएका नेताहरु अर्थमा आउने अवस्था नरहे पूर्णबहादुर खड्कालाई नै अर्थमन्त्री बन्न सक्ने देखिन्छ । भलै प्रचण्डले कांग्रेस महामन्त्री गगन थापा आइदिए हुन्थ्यो भन्ने थियो तर थापा सभापति देउवाका प्रतिष्पर्धी भएपछि उनको सम्भावना टरेको बुझिन्छ । महामन्त्री थापाले केही अघि नै आफूलाई सभापति र प्रधानमन्त्रीबाट अर्थमन्त्रीमा कुनै प्रस्ताव नआएको सार्वजनिक गरिसकेकाले तत्कालका लागि त्यो सम्भावना समाप्त भएको छ ।

खड्कालाई पनि अर्थमा खास रुची छैन । पहिले पनि गृहमन्त्री नै भएकाले उनले यसपाली पनि सकेसम्म गृह नै ताकेका छन् । यद्यपि, अर्थतन्त्र सङ्कुचनमा रहेका बेला जिम्मेवारी लिन डरायो भन्ने आरोप लाग्ने डरले पूर्णबहादुर अर्थकै जिम्मेवारी सम्हाल्न पनि सकारात्मक रहेको बताइन्छ ।

गगनको त्यो शनिबारे भाषण

अरु सबैजसो मन्त्रालयको भागबण्डा खासै पेचिलो नरहे पनि अर्थ मन्त्रालय लिने की नलिने भन्नेमा काँग्रेस र माओवादी द्विधामा छन् । काँग्रेसबाट महामन्त्री गगनकुमार थापालाई अर्थमन्त्री बनाउन प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग अनौपचारिक कुराकानी गरेको विषय बाहिर आएपछि शनिबार गगनले यसबारे प्रष्टिकरण नै दिए ।

काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले आफूलाई बोलाएर कसैले केही नदिएको बताएका छन् । 

‘केही साथीहरु भ्रममा पर्नुभयो जस्तो लागेको छ, मलाइ कसैले बोलाएर केही भनेको छैन’ गगनले भनेका छन् । 

केही दिन अगाडिसम्म सरकारमा जाने विषय आफ्नो प्राथमिकतामा नरहेको बताउँदै आएका गगनले शनिबार गरेको भाषणले भने अर्थ मन्त्रालय नै पाएको खण्डमा सरकारमा जान तयार रहेको तर, कसैबाट यसबारे औपचारिक प्रस्ताव नआएको सङ्केत गरेको छ ।

देउवा र आरजूको इन्ट्रेष्ट बाझियो

शनिबार शेरबहादुर देउवाको हालको निवास धुम्बाराहीमा काँग्रेस पदाधिकारी बैठक थियो । पदाधिकारी बैठकमा नेताहरुले काम देखाउन सकिने मन्त्रालय नै अर्थ मन्त्रालय भएकाले पार्टी सरकारमा जाँदा उपप्रधानसहित अर्थ मन्त्रालय लिएर जानुपर्ने सुझाव सभापति शेरबहादुर देउवालाई दिए ।

नेताहरुले अर्थ मन्त्रालयमा विज्ञ व्यक्ति पठाएर सकारात्मक सन्देश दिन पनि अनुरोध गरेका छन् । देउवा भने प्रवक्तासमेत रहेका डा प्रकाशशरण महत नै विज्ञ हुन् र उनैलाई अर्थमन्त्री बनाएर पठाउने मनस्थितिमा देखिएका थिए ।

तर, गृह र अर्थमध्ये एक लिनुपर्ने हुनाले दुबै नपाउने हुँदा सरकारमा पार्टीको नेतृत्व गर्ने व्यक्तिलाई नै उपप्रधानसहित अर्थमन्त्री बनाएर पठाउनुपर्ने बाध्यतामा रहेकाले अर्थमा डा प्रकाशशरणलाई पठाउने निर्णय गरेर पूर्णबहादुरलाई चिढ्याउने पक्षमा पनि देउवा देखिएका छैनन् ।

उता, देउवा पत्नी आरजु राणाले भने उदयशमशेर राणालाई सकेसम्म अर्थ वा नसके अर्थ राज्यमन्त्री भए पनि बनाउन चाहेकी नेताहरु बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved