हालसम्म ४६ हजार २१३ ऋणीहरु कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् । ति मध्ये ४० प्रतिशत अर्थात् १८ हजार ४८५ जना चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत २४ गतेभित्र कालोसूचीमा परेका ऋणीहरु हुन् ।
चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना (साउन) मा १ हजार ७१४ जना ऋणीहरु कालोसूचीमा परेका थिए । फागुन एक महिनामै २ हजार १९१ जना ऋणीहरु कालोसूचीमा परे । माघमा झन बढी २ हजार ५९२ जना ऋणीहरु कालोसूचीमा परेका छन् ।
आर्थिक मन्दीका कारण ऋणीहरुले समयमै ऋणको किस्ता तथा साँवा र ब्याज भूक्तानी गर्न नसक्दा कालोसूचीमा पर्नेहरुको संख्या बढिरहेकै बेला ऋण नतिर्ने अभियान चल्दा यो संख्या झन बढेर गयो ।
उद्योगी, व्यवसायीहरुले बैंकको ब्याजदर बढेको विरोध गरिरहँदा दुर्गा प्रसाईं र मणिराम ज्ञवाली पनि थपिए । प्रसाईं र ज्ञवालीले बैंक तथा लघुवित्तहरुको ऋण नतिर्ने अभियान नै चलाएपछि झन कालोसूचीमा पर्नेहरुको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ।
माघ महिनामा लघुवित्त विरोधी आन्दोलन चर्किंदा कालोसूचीमा पर्नेहरुको संख्या त्यसपछि बढेको देखिन्छ। लघुवित्त विरोधी आन्दोलन चर्किरहेका बेला व्यवसायी दुर्गा प्रसाईंले फागुनदेखि चलाएको बैंक तथा बैंकका कर्मचारी विरुद्धको आन्दोलनले अवस्था थप बिग्रिएको तथ्यांकले देखाएको छ। उनीहरुको गतिविधिले बैंक तथा वित्तीय संस्थाले ताकेता गर्न छाडे भने व्यवसायीहरु पनि ऋणतिर्न उदासिन भए । त्यसैले खराब कर्जामा बढोत्तरी हुन पुगेको हो ।
चैत महिनाको २४ गतेसम्म कालोसूचीमा परेका २ हजार ४१९ जना ऋणीहरुको तथ्यांकले पनि यो कुरा पुष्टी गर्छ । चैत्र २४ गते मात्रै १०६ जना कालोसूचीमा परेका छन्। चैतको अन्तिमसम्म कालोसूचीमा पर्ने ऋणीहरुको संख्या अझै बढ्ने देखिएको छ ।
भौतिक आक्रमण हुन थालेपछि ऋणीसँग सम्पर्क गर्न मुस्किल
कर्जा असुलीका लागि ऋणीहरुलाई ताकेता गर्दै आएका बैंकहरुमाथि मानवीय संवेदनशीलतासमेत ख्याल नगरेको र बैंकहरुले तारम्तार फोन गरेकै कारण ऋणीहरुले आत्महत्या गर्न थालेको आरोप लाग्यो ।
लघुवित्तबाट लिएको ऋण नतिर्ने भन्दै गुल्मीको गुल्मी दरबार गाउँपालिकाबाट २०७८ माघ १ गतेदेखि शुरु भएको आन्दोलन विस्तारै आक्रमण र कालोमोसो दल्लेसम्म पुग्यो ।
काठमाडौँसहित देशभरी व्यवसायीहरुले ब्याजदरको विरोधमा आन्दोलन गरिरहेको छेको पारेर लघुवित्त विरोधी आन्दोलन गरिरहेकाहरु काठमाडौँ छिरे । त्यही बीचमा दुर्गा प्रसाईंले झापाको एउटा कार्यक्रममा ‘बैंकर्सहरुलाई जहाँ भेट्यो, त्यहीँ कालोमोसो दल्नु’ भन्दै कानुूनविरोधी उर्दी जारी गरे ।
‘अब लघुवित्तको मानिस आए भने च्याप्प समाउने, मोसो दलिहाल्ने, बैंकका मानिसलाई बैंकबाहिर मोसो दल्ने, मोसो दल्दा केही समस्या पर्दैन, जम्मा ५ दिन लगेर हिरासतमा राख्छ ’, एउटा कार्यक्रममा प्रसाईंले भिडलाई उत्तेजित पार्ने खालको भाषण नै गरेका थिए ।
बैंकर्सहरुलाई कालोमोसो दल्ने र भौतिक आक्रमण गर्ने प्रसाईंको उर्दीपछि जाजरकोटमा किस्ता उठाउन गएका लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलेर उनको साथमा भएको कम्पनीको पैसासमेत लुटियो । केही बैंकका कर्मचारीहरुमाथि पनि हातपात भयो ।
यसपछि बैंकहरुको ‘रिकभरी डिपार्ट’ले ऋणीहरुलाई कर्जाको साँवा तथा ब्याज भूक्तानीको ताकेता गर्न छाडे । सँगै, ऋणीहरु पनि आफ्नो ऋण भूक्तानीमा उदासिन बन्दै गए।
‘बजारमा डिमाण्ड नहुँदा वस्तुको सेल (बिक्री) घटेको सत्य हो, तरलता अभाव हुँदा ब्याजदर बढेको विषयमा यसका आधारभूत सिद्धान्त र विषयवस्तु नबुझी जसरी आन्दोलनहरु भए यसको प्रभाव बढ्दै छ, आन्दोलन हुँदा तिर्न सक्ने मान्छे पनि ऋण तिर्न नआउँदा एनपीए (खराब कर्जा) बढ्नेलगायतका समस्या देखिएका छन्’, नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष एवम् नबिल बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुङ्गाना भन्छन्, ‘लोन नतिर्ने, किस्ता नतिर्ने जस्ता स्वरुपका आन्दोलनको असर देखिनै बाँकी छ, अबको एक दुर्इ महिनामा यस्ता आन्दोलनको असर अझै बढी देखिन्छन् ।’
लघुवित्त विरोधी आन्दोलनको नेतृत्व गरिरहेका मनिराम ज्ञवाली आफैँको कुनै कर्जा नभए पनि उनका पछि लागेर आन्दोलनमा हिडेकाहरु कसैको १०/१२ वटा लघुवित्तमा कर्जा भएको पाइएको छ।
आन्दोलनमा लागेपछि कर्जा तिर्न पर्दैन भन्ने मानसिकता बोकेर मनिराम र दुर्गा प्रसाईंको पछि लागेकाहरु सहित हजारौं ऋणीहरु घरबारविहीन हुने अवस्था आएको एक बैंकका प्रमुख कार्यकारी अधिकृत सुनाउँछन्। ती सीइओ भन्छन, 'डर र त्रासका कारण ऋणीलाई उसको सावाँ ब्याजको अवस्थाबारे जानकारी दिने बैंकहरु अहिले सावाँ ब्याज उठाउनलाई ताकेतासमेत गर्न डराएका छन्, जसले गर्दा ऋणीले समयमै सावाँ ब्याज नतिर्ने अवस्था हुँदा हजारौं ऋणीहरु घरबारविहीन हुने अवस्था बनेको छ।'