वस्तुको प्याकेटमै आयातकर्ता र वितरकको विवरण टाँस्नुपर्ने नियमबाट भन्सार विभाग पछि हटेन

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 09, 2023 | 08:48:46 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत घोषणा भए अनुसार साउन १ गतेबाट आयात हुने वस्तुको प्याकेटमा आयातकर्ता र वितरकको नाम तथा ठेगानासहितको विवरण अनिवार्य गरिएको व्यवस्था कार्यान्वयनको चरणमा अघि बढेको छ । 

व्यवसायी तथा उद्योगीले उक्त व्यवस्था लागू गर्न नसकिने भन्दै पुनर्विचारको माग गरे पनि त्यसलाई वेवास्ता गर्दै लागू गर्नतर्फ सरकार उन्मुख देखिएको छ । जसका कारण भन्सार विभाग उक्त निर्णयबाट पछि नहट्ने पक्का जस्तै छ । यसका लागि असार ५ गते भन्सार विभागअन्तर्गतको वीरगञ्ज भन्सार कार्यालयले वीरगञ्ज उद्योग वाणिज्य संघ र भन्सार एजेन्ट संघलाई पत्र नै पठाइसकेको छ ।

व्यवसायीहरुले सम्भव नहुने भन्दै आएपछि आर्थिक ऐन २०८० को अनुसूची १ को दफा १८ को उपदफा (४) को प्रावधान कार्यान्वयन गर्न पैठारीकर्ता र बजार वितरक व्यवसायीहरुलाई कार्यान्वयन मितिभन्दा करिब १ महिना अगाडि नै पूर्व जानकारी दिइसकिएकाले असम्भव भन्न नमिल्ने भन्सार विभागको दावी छ । 

आर्थिक ऐनको अनुसूची १ को दफा १८ को उपदफा ४ मा २०८० साउन १ पछि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणमा पठाउनु अघि त्यस्ता मालवस्तुको प्याकिङमा आयातकर्ता र बजार वितरकको विवरण भएको लेवल टाँस गर्नुपर्ने व्यवस्था छ । यदि त्यस्तो विवरणसहितको लेवल टाँस नगरी बजार पठाएको पाइए बजार अनुगमन गर्ने अधिकारीले त्यस्ता वस्तु जफत गर्न सक्ने अधिकार पनि छ । 

कुन देशमा बनेको सामान हो, नेपालमा कसले आयात गरेको हो र कसले बजारमा वितरण गरेको हो भन्ने विवरण थाहा पाउनु उपभोक्ताको अधिकार भएको र यस्तो जानकारी नपाउँदा उपभोक्ता ठगीमा परिरहेको भन्ने गुनासो आएपछि बजेटमार्फत नै यस्तो प्रावधान ल्याइएको भन्सार विभाग बताउँछ ।

लेवलमा यी विवरण अनिवार्य

भन्सार विभागले आयात हुने वस्तु बजारमा पठाउनु अगाडि आयातकर्ता र वितरकको विवरण टाँस हुनुपर्ने जनाएको छ । त्यस्तो विवरण सहितको लेवलमा आयातकर्ता/पैठारीकर्ता र बजार वितरकको नाम अनिवार्य हुनुपर्नेछ ।

आयातकर्ता र वितरकको ठेगाना, इमेल, वेवसाइट र एक्जिम कोड पनि अनिवार्य छ । पैठारीकर्ता वा वितरकले लेवलमा बारकोड र क्यूआर कोड पनि राख्न सक्ने छन् । तर, उद्योगका कच्चा पदार्थ तथा औद्योगिक मेसिनरीको आयातमा भने त्यस्तो लेवल टाँस गर्नुपर्दैन । 

एउटै आयातकर्ताका धेरै वितरक हुन्छन्, यस्तो अवस्थामा के गर्ने ?

व्यवसायीहरुले भन्दै आएको कुरो हो, एउटै आयातकर्ताका धेरै वितरक हुन्छन्, त्यसकारण वितरकको विवरण टाँस गर्न सम्भव हुँदैन । 

तर, भन्सार विभागले यस्तो भन्ने व्यवसायीहरुलाई यदि एकै आयातकर्ताका धेरै बजार वितरक हुन्छन् भने सम्बन्धित बजार वितरक आफैँले आफूले बजारमा पठाउने सामानमा आफ्नो विवरणसहितको लेवल टाँस गर्नुपर्ने व्यवस्था गरेको छ । 

‘आयातकर्ताले आफ्नो विवरणसहितको लेवल टाँस गरेर वितरकलाई दिन्छ, वितरकले आफूले लिइसकेपछि आफ्नो पनि विवरणसहितको लेवल टाँस गरेर बजार पठाउनुपर्छ’, भन्सार विभागका एक अधिकारीले भने, ‘यस्तो लेवल नेपाली वा अंग्रेजी जुन भाषामा लगाए पनि हुन्छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved