यी हुन् आजबाट कार्यान्वयनमा आएका ४ नयाँ कर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2023 | 08:42:16 AM मा प्रकाशित

laxmi  sunrise bank

आज २०८० साउन १ गतेबाट नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसंगै आजबाट विभिन्न ४ प्रकारका नयाँ कर पनि कार्यान्वयनमा आएको छ । 

आजदेखि विलासिता शुल्क, वैदेशिक पर्यटन शुल्क, वैदेशिक रोजगार सेवा शुल्क र हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयनमा आएको छ। 

आर्थिक ऐन २०८० को दफा २१ को विलासिता शुल्कबारे व्यवस्था गरिएको छ । आजबाट नेपालमा उपभोग हुने देहायका विलासिताका वस्तु तथा सेवाको खरिद रकममा दुई प्रतिशतका दरले विलासिता शुल्क लगाई असुल गरिनेछः-

(क) पाँच तारे र सो भन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा,

(ख) आयातित मदिरा,

(ग) दश लाख रूपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहना।

कसले तिर्छ कर ?

(क) पाँच तारे र सो भन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले सेवा प्रदान गरेको बखत,
(ख) आयातित मदिरामा पैठारी हुने भन्सार बिन्दुमा पैठारीका बखत,
(ग) दश लाख रूपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहना बिक्रेताले बिक्रीका बखत।

कहिले तिर्ने ? नतिरे के हुन्छ ?

विलासिता शुल्क बापत सङ्कलन गरेको रकम अर्को महिनाको पच्चीस गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सहितको जानकारी सम्बन्धित राजस्व कार्यालयमा पठाउनु पर्नेछ ।  कुनै व्यक्तिले विलासिता शुल्क बापतको रकम दाखिल नगरेमा वार्षिक पन्ध्र प्रतिशतका दरले ब्याज लगाई असुल गरिनेछ।

कुनै व्यक्तिले विवरण पेश नगरेमा त्यस्तो व्यक्तिलाई विवरण पेश गर्नु पर्ने मितिबाट यस्तो विवरण दाखिला नभएको मितिसम्मको वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुने रकम शुल्क लाग्नेछ। विलासिता शुल्क बापतको रकम असुल नगरेमा सो रकमको पच्चीस प्रतिशत शुल्क लाग्नेछ। 

त्यस्तै दफा २२ मा वैदेशिक पर्यटन शुल्कको व्यवस्था गरिएको छ । जस अनुसार विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लगाई असुल गरिनेछ। वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीको बखत, र वैदेशिक
फर्म वा कम्पनीले व्यवसाय प्रवर्द्धनका सिलसिलामा आफू सम्बद्ध प्राकृतिक व्यक्तिलाई भ्रमणमा लैजादा लाग्ने खर्च लेखाङ्कनका बखत वैदेशिक पर्यटन शुल्क लगाई असुल गर्नु पर्नेछ। 

त्यस्तै दफा २३ को वैदेशिक रोजगार सेवा शुल्कबारे व्यवस्था छ । जस अनुसार प्रचलित सङ्घीय कानून बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त व्यक्तिले वैदेशिक रोजगारमा जाने व्यक्तिबाट असुल गरेको रकमबाट एक प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क दाखिल गर्नु पर्नेछ। त्यस्तो रकम वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमा खर्च गरिनेछ। यस्तो रकम अर्को महिनाको पच्चीस गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सहितको जानकारी सम्बन्धित राजस्व कार्यालयमा पठाउनु पर्नेछ। सो अवधिभित्र त्यस्तो शुल्क दाखिल नगरेमा वार्षिक पन्ध्र प्रतिशतका दरले ब्याज लगाई असुल गरिनेछ। 

त्यस्तै आजबाट हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर लाग्ने छ । हवाई यातायात उपभोग गर्दा आफ्नो टिकटको मूल्यमा नै यो कर समावेश भएर आउने छ । यसले हवाई यात्रा केहि महँगो बनाउने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved