राजश्व संकलनमा आइआरडीको हिस्सा ऐतिहासिक, १९८६ करदाताबाट १० अर्ब असुलीको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2023 | 11:09:10 AM मा प्रकाशित

laxmi  sunrise bank

राजश्व संकलनमा आन्तरिक राजश्व विभागले ऐतिहासिक रेकर्ड कायम गरेको छ। कुल संकलनमध्ये आन्तरिक स्रोतबाट बढी राजश्व संकलन गरेर विभागले ऐतिहासिक रेकर्ड कायम गरेको हो। 

विभागले उठाएको कुल राजश्वको हिस्सा सम्भवत: पहिलोपटक भन्सार विभागको भन्दा बढी छ। सरकारले गत आर्थिक वर्ष १२ खर्ब ९५ अर्ब राजश्व उठाउने लक्ष्य लिएकोमा ८ खर्ब ४४ अर्ब उठेको छ। जसमा आन्तरिक राजश्व विभागको हिस्सा झन्डै ५६ प्रतिशत रहेको छ। 

८ खर्ब ४४ अर्ब ७० करोड ११ लाख कुल राजश्व उठेकोमा आन्तरिक राजश्व विभागले उठाएको हिस्सा ४ खर्ब ७९ अर्ब ७९ करोड ५५ लाख ५७ हजार छ। बाँकी अर्थात ४४ प्रतिशत हिस्सा भन्सार विभागको रहेको छ। भन्सार विभागले लक्ष्यको ५८ प्रतिशत मात्रै राजस्व उठाएको छ । भन्सार विभागले ६ खर्ब ६८ अर्ब ७६ करोड राजस्व उठाउने लक्ष्य राखेकोमा ३ खर्ब ९१ अर्ब ४४ करोड मात्रै राजस्व उठाएको हो ।

गत आर्थिक वर्ष आन्तरिक राजश्व विभागलाई ६ खर्ब २६ अर्ब राजश्व संकलनको लक्ष्य दिइएको थियो। जसमा विभागले आर्थिक मन्दी जस्तो कठिन परिस्थितिमा पनि ४ खर्ब ७९ अर्ब अर्थात लक्ष्यको ७६.७७ प्रतिशत उठाउन सफल भएको हो। आर्थिक वर्ष २०७८/०७९ मा पनि  विभागले लक्ष्यको ८९.८९ प्रतिशत उठाउन सफल भएको थियो। 

राजश्व संकलनको मुख्य दुई निकाय भन्सार विभाग र आन्तरिक राजश्व विभाग हो। भन्सारले आयात र निर्यातबाट प्राप्त राजश्व हेर्ने गर्दछ भने आन्तरिक राजश्वले देशभित्रका सम्पूर्ण आर्थिक कारोबार हेर्ने गर्दछ। 

देशको आर्थिक गतिविधि ठप्पको अवस्था रहँदा पनि विभागले करको दायरामा नभएकालाई दायरामा ल्याउन सफल हुँदा राजश्व संकलनमा सहयोग पुगेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

गत आर्थिक वर्ष कार्यन्वयनमा ल्याइएको विधुतीय सेवा कर तथा गैरबासिन्दा व्यक्तिले प्रयोग गर्ने विद्युतीय सेवामा मूल्य अभिवृद्धि कार्यविधि २०७९ का कारण ९ करोड ४० लाख राजश्व संकलन भएको छ। 

१९८६ जना करदाताबाट १० अर्ब असुलीको तयारी 

विभागले झुटा तथा नक्कली बीजकको प्रयोगमार्फत कर छली गरिएका क्षेत्रको पहिचान गरी गहन अनुसन्धान थालेको छ । विभागले विगतमा भएका अनुसन्धानबाट प्राप्त तथ्याङ्कको आधारमा ९ अर्ब ९३ करोड बढी रकमको झुट्टा तथा नक्कली विजक प्रायोग भएको अवधिसमेत खुल्ने विस्तृत विवरणसहितको फाइल अध्ययनका लागि सम्बन्धित कार्यालयहरुमा पठाएको छ । त्यसरी अनुसन्धानको दायरामा १९८६ करदाता परेका छन् । यसबाट ठूलो मात्रामा राजश्व थप हुने अपेक्षा गरिएको महानिर्देशक मैनालीले बताए । 

कर परीक्षण, अनुसन्धान र अनुगमनमा अर्बौँ कर निर्धारण 

विभागले चार हजार ४२८ करदाताको पूर्ण कर परीक्षण गरी १७.४७ अर्ब कर निर्धारण गरेएको छ । यस्तै ६४१ करदाताको चालु वर्षको कर परीक्षण गरी ५२.४८ करोड कर निर्धारण गरिएको तथा २ हजार ३७९ करदाताको टिडिएस अडिट थप गरी १.०२ अर्ब र ५९९ करदाताको कारोबारको विस्तृत अनुसन्धान गरी थप ६.६५ अर्ब कर निधारुण गरिएको  विभागले जनाएको छ । 

गएको वर्षमा १६ हजार ७०० भन्दा बढी करदाताको कारोबारस्थलमा अनुगमन गरिएको तथा २८ हजार ३०० बढी करदाताको दर्ता खारेज गरिएको विभागले जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved