कमिशन खोजेको चर्चापछि १३ देशका राजदूतसँग प्रधानमन्त्रीको छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2023 | 09:46:27 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १३ देशका राजदूतसँग  सामूहिक छलफल गर्दैछन् । नेपाली श्रमिकहरुका रोजगार गन्तव्यका राजदूतसँग आज र भोली प्रधानमन्त्री दाहालसहित श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामूहिक छलफल गर्न लागेका हुन् ।

रोजगार गन्तव्यबाट त्यहाँको कम्पनीले पठाउने श्रमिकको माग दूतावासले समयमै प्रमाणिकरण नगरिदिएको, राजदूतहरुले म्यानपावरबाट अघोषित कमिशन खोजेको जस्ता विषय आएपछि यसको निरुपणका लागि प्रधानमन्त्री प्रचण्डले नै चासो दिएर छलफल राख्न भनेको र यसको चाँजोपाँजो श्रम मन्त्रालयले मिलाएको हो ।

श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार वैदेशिक रोजगारीका सम्बन्धमा राजदूतावासले गर्दिएनन्, गाँठो फुकाइदिएनन्, माग प्रमाणिकरण छिटो गर्दिएनन्, डकुमेन्टेशनमा समस्या भयो, दूतावासका कारणले ढिलो भयो भन्ने जस्ता विषय आइरहेकाले यसको निरुपणका लागि प्रधानमन्त्री प्रचण्डले नै चासो लिएर छलफल राख्न लगाएका हुन् । 

‘१३ देशका राजदूतहरुलाई बोलाइएको छ, उहाँहरु नेपाली श्रमिकहरुको श्रम गन्तव्य मुलुकका लागि नेपाली राजदूत हुनुहुन्छ’ घिमिरेले भने, ‘यो कार्यक्रम भनेको ब्यापक रुपमा इन हाउस छलफल गर्ने कार्यक्रम हो ।’ खाडीका देश, मलेसिया र नेपाली श्रमिकका अन्य रोजगार गन्तव्य मुलुकका राजदूतलाई बोलाइएको घिमिरेले बताए । 

उनले यस छलफलमा श्रम गन्तव्य मुलुकसँग श्रमिकका सेवा सुविधाका सम्बन्धमा पनि कुरा हुनेछन् । कतिपय देशमा श्रम सम्झौता पुनरावलोकन गर्ने विषय चर्चामा रहेकाले यस सम्बन्धमा पनि छलफलमा कुरा उठ्ने श्रम मन्त्रालयका प्रवक्ता घिमिरेको भनाई छ । 

‘कुनै कुनै मुलुकसँगको श्रम सम्झौता रिभ्यू गर्नुपर्ने अवस्था भएको छ, यो कुरो पनि राजदूतहरुसँगको छलफलमा उठ्छ’ उनले भने ।

त्यस्तै, वैदेशिक रोजगारीका नाममा हुने मानव तस्करी जस्तो जघन्य अपराधलाई कसरी रोक्ने भन्ने विषयमा पनि छलफल हुनेछ । यस सम्बन्धमा हुने छलफलमा प्रधानमन्त्री, श्रम मन्त्रीसहित परराष्ट्र मन्त्रालयका अधिकारीसमेत सहभागी हुने जनाइएको छ । 

भदौ ७ गते प्रधानमन्त्री कार्यालयमा बसेको श्रममन्त्री, वैदेशिक रोजगारसँग जोडिने अन्य सरोकारवाला मन्त्रालय र विभागका प्रमुखसहितको बैठकले श्रम गन्तव्य मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखलाई काठमाडौँमा बोलाएर उनीहरुसँग श्रम आप्रवासनका विषयमा छलफल गर्ने निर्णय गरेको थियो । सोही अनुसार आजको छलफल राखिएको श्रम मन्त्रालयका प्रवक्ता घिमिरेले बताए ।

छलफलमा अष्ट्रिया, ओमान, जर्मनी, मलेसिया, कतार, बहराइन, साउदी अरब, पाकिस्तान, जापान, दक्षिण कोरिया , यूएई, कुवेत, लगायत देशका राजदूत सहभागी रहने छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved