
वैदेशिक रोजगार विभागले दैलेख ओभरसिजलाई निलम्बन गरेको छ । सो म्यानपावर कम्पनीले साउदीमा पठाएको कामदारको विचल्ली भएको उजुरी प्राप्त भएसँगै विभागले कम्पनीलाई कारवाहीस्वरुप निलम्बन गरेको जनाएको हो ।
विभागका अनुसार काठमाडौंको गौशला स्थित सो कम्पनीले साउदी अरेवियाको रियाद स्थित अब्दुल्लाह बिन ईसा बिन हमाद अल वेडन जनरल कन्सल्टिङ कम्पनीमा पठाएका कामदार विचल्लीमा परेका हुन् । उनीहरुलाई २ महिनादेखि हालसम्म काम तलब र अन्य सेवा सुबिधा समेत नदिएकोले नेपाल फर्किन पाँउ भन्ने समेत व्यहोराको निवेदन प्राप्त भएको विभागले उल्लेख गरेको छ । यसका साथै २०÷२५ जनालाई एउटै कोठामा राखेको पनि विभागले उल्लेख गरेको छ ।
विभागले उक्त म्यानपावर कम्पनीलाई सो समस्याको समाधान गर्न दिर्नेशन समेत दिएको छ । विभागका अनुसार समस्या समाधान नभएसम्म कम्पनी निलम्बनमा रहिरहनेछ ।
विभागले उक्त कम्पनीलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ को ( ६ ) र (७) बमोजिम निलम्बन गरिएको जनाएको छ । यसका साथै विभागले रियाद स्थित उक्त कम्पनीलाई पनि कालोसूचीमा राखेको जनाएको छ ।