लोडसेडिङ फर्किने जोखिम !

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 08, 2023 | 12:47:46 PM मा प्रकाशित

laxmi  sunrise bank

वर्षा याममा नेपालमा आफ्नो उत्पादनकै बिजुली बढी हुने भए पनि हिउँदमा भने आन्तरिक उत्पादनले माग धान्दैन । माग पूरा गर्न भारतबाट बिजुली ल्याउनुपर्ने बाध्यता छ । अझै केही वर्ष यो बाध्यता कायम रहने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि स्वीकारेका छन् ।

भारतले बिजुली नदिँदा अथवा प्राविधिक कारणले भारतबाट बिजुली नआउँदा नेपालमा अघोषित लोडसेडिङ हुने गरेको छ तर, प्राधिकरणले यस्तो अवस्थालाई लोडसेडिङ नभनी प्राविधिक कारण भन्दै लाइन काटिरहेको छ । 

हालैको घटनाले पनि यो पुष्टी गर्छ । पौष २५ गते सोमबार विद्युत प्राधिकरणले पूर्व जानकारी र आधिकारिक तालिका विना नै औद्योगिक क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र बेलुका ६ बजेदेखि १० बजेसम्म लाइन काट्यो । उद्योगीहरुले यसलाई लोडसेडिङ भन्यो । प्राधिकरणले भने लोडसेडिङ सुरु गरेको नभई भारतबाट बिजुली ल्याउन समस्या भएपछि लाइन काट्नु परेको बतायो ।

‘हामीलाई बिजुली दिँदै आएको बिहारस्थित एक हजार ३३० मेगावाट विद्युत उत्पादन हुने प्लान्टमा इमर्जेन्सी समस्या आएपछि उताबाट बिजुली नआउँदा समस्या भएको हो’ विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले त्यतिबेला बिजपाटीसँगै भनेका थिए ।

के साँच्चै लोडसेडिङ फर्किने जोखिम बढेको हो ?

देश लोडसेडिङमुक्त भए पनि हिउँदमा आन्तरिक उत्पादनले नधान्दा फेरि लोडसेडिङ हुने जोखिम कायम रहेको बताइन्छ । त्यसो त, उत्पादित विद्युतसमेत प्रणालीमा जोड्ने आवश्यक पूर्वाधार नबन्दा लोडसेडिङ फर्किने चेतावनी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि दिँदै आएका छन् ।

लप्सीफेदी सबस्टेशन निर्माणमा अवरोध बढेपछि घिसिङले यो सबस्टेशन बन्न नदिएर काठमाडौँमा बाध्यात्मक लोडसेडिङ गर्नुपर्ने अवस्थातर्फ प्राधिकरणलाई नधकेल्न पटकपटक चेतावनीसहितको अनुरोध गर्दै आएका छन् ।

काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित बोजिनीमा मुआब्जा बुझेका स्थानीयले नै अवरोध गर्न थालेपछि कुलमानलाई लप्सीफेदी सब–स्टेशन नबन्ने हो की भन्ने चिन्ता बढेको छ । यदि लप्सीफेदी सबस्टेशन बनेन भने काठमाडौँमा माग अनुसारको विद्युत आपूर्तिका लागि संरचना नै हुँदैन । संरचना नै नभएपछि लोडसेडिङ हुने जोखिम बढ्ने उनको तर्क छ ।

‘काठमाडौं उपत्यकाको विद्युत माग सन् २०५० सम्ममा ३ हजार २०० मेगावाट पुग्ने प्रक्षेपण गरेर काठमाडौँ वरिपरी र भित्री सडकमा २२० केभी प्रसारण तथा वितरण प्रणाली विस्तार गरिरहेका छौँ, उपत्यकाभित्रै २० वटा सब–स्टेशन थप बनाउनु पर्नेछ, यसरी अवरोध हुने हो भने कसरी काम गर्नु ?’ पौष ९ गते फिल्डमै पुगेर कुलमानले भनेका थिए, ‘विद्युत उपलब्ध भएता पनि माग अनुसार विद्युत आपूर्ति गर्न संरचनाको क्षमताले नधान्ने भएकाले काठमाडौँ उपत्यकामा बाध्यात्मक लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्छ ।’

‘औद्योगिक क्षेत्रमा अहिले पनि लाइन काटिन्छ’

अहिले पनि घरायसी प्रयोजनमा बिजुलीको माग बढ्नासाथ औद्योगिक क्षेत्रमा लाइन काट्ने गरिएको औद्योगिक क्षेत्र उद्योग महासङ्घका उपाध्यक्ष बाबुराम पन्तको दाबी छ ।

‘डेडिकेटेड फिडर भएका औद्योगिक क्षेत्रहरुमा बिना सूचना लाइन काटिन्छ, पिक आवरमा जुनसकै बेला लाइन काटिँदा समस्या छ’ उनले भने ।

उनका अनुसार बालाजु, पाटन, भक्तपूर, पोखरा र नेपालगन्ज औद्योगिक क्षेत्रमा जुनसुकै बेला लाइन काटिने गरेको छ ।

के भन्छ प्राधिकरण ?

हिउँदमा नेपालको आफ्नो उत्पादनले नधान्ने भएपछि कार्तिकदेखि वैशाखको सुरुसम्म भारतबाट बिजुली ल्याउनुपर्छ । अहिले हरेक दिन १ हजारदेखि १ हजार १०० मेगावाट आवरसम्म बिजुलीको आयात हुँदै आएको छ ।

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार हिउँदमा पनि आन्तरिक उत्पादनले ६८ देखि ७० प्रतिशत माग धान्ने अवस्थामा भने नेपाल पुगेको छ । तर, बाँकी ३० देखि ३२ प्रतिशत बिजुली भने भारतबाट आयात गर्नु परिरहेको छ । यसरी बिजुली आयात हुँदा प्रति युनिट औसतमा ४.८० भारु नेपालले तिर्दै आएको छ ।

प्राधिकरणको तथ्यांक अनुसार आजको दिनमा नेपालको पिक डिमाण्ड १६ सय ४८ मेगावाट छ । यसमध्ये भारतको इण्डियन इनर्जी एक्सचेन्जबाट ४ सय १० मेगावाट र बिहारबाट सिधैँ ६० मेगावाट जति आयात हुन्छ । बाँकी भने आन्तरिक उत्पादनले नै धान्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved