'२०२६ सम्ममा बिजुलीमा आत्मनिर्भर हुन्छौ, २०३५ सम्ममा ८ हजार मेगावाट विद्युत उत्पादन हुन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2023 | 02:15:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको ३ वर्षमा नेपाल जलविद्युतमा पूर्ण आत्मनिर्भर हुने बताएका छन् । मङ्गलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा उनले जलविद्युतमा सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका हुन् ।

पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुख्खा याममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने उनले बताएका हुन् । उनका अनुसार सन् २०२६ सम्ममा  २५ सय मेगावाट भन्दा बढी उत्पादन हुने छ । उनका अनुसार हाल २५ सय ४४ मेगावाट उत्पादन क्षमता रहेको छ । यसमा सोलार ७० मेगावाट छ ।

कार्यकारी निर्देशक घिसिङले सन् २०३५ सम्ममा नेपालमा आठ हजार मेगावाट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताए ।  कार्यकारी निर्देशक घिसिङले प्रत्येक वर्ष आठ सय मेगावाट विद्युत उत्पादन बढ्दै गएको बताए । पछिल्लो पाँच वर्षको ७ हजार मेगावाट विद्युत उत्पादन गर्ने अनुमान रहेको उनले उल्लेख गरे। विद्युत उत्पादन र विद्युत खपतको लागि पनि लगानी गर्नुपर्ने अवस्था रहेको र त्यसमा निर्यात तथा स्वदेशमा नै खपत गर्नका लागि पनि ट्रान्समिसन लाइन बनाउनु पर्ने उनले बताए।

निर्देशक घिसिङले सन् २०४२/४३ सम्ममा २० हजार मेगावाट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताए । पछिल्लो समय उद्योगहरूमा जलविद्युतको माग राम्रो रहेको उनको भनाइ छ । उनले ११ हजार मेगावाट जलविद्युत उत्पादनका लागि पीपीएका लागि पाइपलाइनमा रहेका भन्दै करिब सात हजार मेगावाटको पीपीए भइसकेको बताए ।

कार्यकारी निर्देशक घिसिङले भने , ‘‘सन् २०४२/४३ सम्ममा २० हजारसम्म आउँछ भन्ने अनुमान हो । सन् २०२६ सम्म नेपाल सुख्खा याममा पनि जलविद्युतमा आत्मनिर्भर हुन्छौँ । नेपालको उद्योग स्थापना वृद्धि भएर उद्योगमा जलविद्युतको माग राम्रो रहेको हुनाले अवधि अघिपछि पनि हुनसक्छ । त्यो समयसम्म जलविद्युतमा आत्मनिर्भर भएर २५ सय मेगावाट विद्युत बढी हुने देखिन्छ ।’’

 निर्देशक घिसिङले जलविद्युत उत्पादनका लागि १.२ मिलियन डलर लगानी प्रतिबद्धता भइसकेको बताए । उनले एजीम बैङ्कबाट सात सय मिलियन, जाइकाले १४० मिलियन, विश्व बैङ्क र एडिबीले दुई मिलियन लगानी प्रतिबद्धता आएको उल्लेख गरे । उनले जलविद्युत उत्पादनको लागि नयाँ नयाँ प्रयोजनाहरु बनाउनका लागि अहिले प्राप्त भएको लगानी प्रतिबद्धताले मात्रै अपुग हुने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved