केही दिन देखी सुनचाँदीको भाउ निरन्तर उकालो लागिरहेको छ । झण्डै ३ वर्ष यतादेखीकै महङ्गोमा कारोबार भईरहेको छ सुन ।
गत विहिबार सुनको भाउ ५९ हजार ९ सयसम्म पुग्यो, यो मूल्य तीन वर्ष यताकै सबैभन्दा महङ्गो हो । सुनचाँदीको भाउ यसरी निरन्तर उकालो लाग्दा उपभोक्ता त मारमा परेका छन् नै त्यसमाथि व्यबसायीलाई पनि गाह्रो भएको छ । नेपालमा अहिले दैनिक ४० देखी ५० किलो सुन खपत भईरहेको छ, अहिलेको बजारको माग पनि यति मात्रै हो । अब बजारमा सुनचाँदीको माग बढ्ने बेला भएको छ । तर कारोबारको सिजन सुरु हुन लाग्दै गर्दा यसरी सुनको भाउ आकाशिय पछि उपभोक्ता भने यसको मारमा पर्ने निश्चित छ । बैशाख सुरु भएसँगै बिबाहका लगनहरु ध्माधम सुरु भएका छन्, नेपालमा बिबाहको लगन भएका महिनामा बढी सुन खपत हुन्छ ।
सुनको भाउ बढ्नुका धेरै कारण छन् भन्छन् नेपाल सुनचाँदी व्यबसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्य । अन्तराष्ट्रिय बजारमा तेलको भाउ बढेकाले नेपालमा सुनको भाउ बढेको उनको तर्क छ । सुनको भाउ बढ्नुको यो त सामान्य कारण हो, मुख्य कारण भने अहिले सिरियामा भईरहेको द्धन्द हो भन्छन उनी । “अमेरिकाले फ्रान्स र इङ्ल्याण्डलाई हातमा लिएर सिरियामा गरेको हमलाले गर्दा अन्तराष्ट्रि बजारका लगानी कर्ताहरुलाई त्रसित बनाएको कारण सुनको भाउ बढेको हो” उनी भन्छन्, “यो साम्य भयो भने समायोजन हुन्छ नत्र तोलाको ६० हजारसम्म पुग्न सक्छ ।”
महासंघका उपाध्यक्ष दियशरत्न शाक्य पनि अमेरिकाले सिरियामा गरेको आक्रमणकै कारण सुनचादीको भाउमा उतारचढाव आईरहेको बताउँछन् । “भाउ बढ्नुमा धेरै कारण भएपनि बिशेष कारण भनेको यही हो, यस बाहेकका पनि थुप्रै कारण छन् ।” अर्को कारण भनेको अमेरिका र चाईनाबीचको व्यापारीक असन्तुलन हा भन्छन उनी । झण्डै २ हप्ता अघि चाईनाले अमेरिकन सामानलाई भन्सारमा कडाई गर्न सुरु गरेको छ । चाईनाले आफ्नो देशमा भित्रिने अमेरिकन मालसामानमा लाग्दै आएको भन्सार शुल्कमा २५ प्रतिशतले वृद्धि गरेको छ । यसको कारण पनि अन्तराष्ट्रिय बजारमा सुनचाँदीको आपूर्ति सहज हुन नसकेकोले भाउ बढेको हो । सिरियामा अमेरिकाद्धारा भईरहेको आक्रमण रोकिए सुनको भाउ घटेर पूर्ववत अबस्थामै आउने उनको भनाई छ । “अमेरिकाले आक्रमण रोके सुनको भाउ ५६ हजारसम्ममा झर्न सक्छ ।” उनको भनाई । यदि महासंघका पदाधिकारीले भनेजस्तो सिरियामा अमेरिकाले गरेको हमला नरोकिए सुनको भाउ अझ आकाशिने संकेत छ ।
यस्तो भयो भने धमाधम बिहेका लगन सुरु भएको नेपालमा सुनको माग त बढ्छ नै मागसँगै त्यसको मूल्य पनि निकै बढ्ने आकलन गर्न सकिन्छ ।