सुनलाई लिएर रत्न तथा आभूषण संघमा अध्यक्ष र उपाध्यक्षबीचको विवाद चर्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2024 | 03:35:26 PM मा प्रकाशित

laxmi  sunrise bank

रत्न तथा आभूषण संघभित्र सुनको बिषयलाई लिएर विवाद भएको छ। संघका अध्यक्ष सुमनमान ताम्राकारमाथि कोटामा आएको सुन आफु निकट तथा परिवारका सदस्यलाई मात्र दिईएको आरोपले संघभित्र विवाद भएको हो। 

संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले विगतदेखि नै सुनको कोटा दुरुपयोग भएको भन्दै आवाज उठाएका छन्। वरिष्ठ उपाध्यक्ष गुप्ताले यस विषयमा आवाज उठाएपछि विवाद सतहमा आएको हो। 

यस विषयलाई लिएर अध्यक्ष ताम्राकारले आफूलाई राजीनामा गर्न भनेको गुप्ताले आरोप लगाएका छन्। कोटाको फाइदा उठाउँदै फर्जी कम्पनी दर्ता गरेर सुनको कारोबार भइरहेको र वास्तविक खुद्रा व्यवसायी मारमा परेको संघका वरिष्ठ उपाध्यक्ष गुप्ताको आरोप छ । विदेशी मुद्राको दबाबको कारण सुन आयातमा पछिल्लो १५ वर्षदेखि कोटा छ । 

"राज्यले हामीलाई विश्वास गरेर अख्तियारी दिएको यो कोटा दामासाहीले वितरण गर्नुपर्छ भनेर मैले अध्यक्षलाई बाम्बार विभिन्न कालखण्डमा भनिरहेको छु । हामीले त्यसको विरुद्ध गर्न पाइदैन भनेर भनिरहेको छौं” उनले भने, “यो कुरा उठाउँदा अध्यक्षले एक्कासी फोन गरेर नरेन्द्रजी तपाईले तुरुन्त राजीनामा दिनु भनेर भन्नु भयो।"

फर्जी कम्पनी दर्ता गरेर सुनको कालोबजारी व्यापार रोक्न आवाज उठाए भन्दै गुप्ताले भने, "बेथितीका कुरा संघ भित्र राख्नुपर्नेमा ह्वाट्सएपमा उठाएको भन्दै अध्यक्ष ज्यूले राजीनामा दिन भन्नुभएको छ तर यो विषय म भण्डाफोर गरेरै छोड्नुछ ।”

यता संघका अध्यक्ष ताम्राकारले आफुमाथि लगाइएको आरोप निराधार भएको दाबि गर्दै आरोप पुष्टि गर्नलाई चुनौती दिएका छन्। "कोटाबाट आएको सुन आरोप लगाएजस्तै आफन्त वा फर्जी कम्पनीमा वितरण भएको प्रमाणित भए जस्तो सुकै कारबाही भोग्छु" उनले भने। 

त्यस्तै अध्यक्ष ताम्राकारले आफूले वरिष्ठ उपाध्यक्ष गुप्तालाई राजीनाका लागि केही पनि नभनेको स्पष्ट पारेका छन्। 

संघमा कोटाको सुन वितरणमा विवाद बढेसंगै पछिल्लो समय नेपाली सुन बजारमा विदेशबाट आएको अवैध सुनको प्रयोग बढी रहेको भन्ने आरोपलाई थप बल पुगेको छ। कोटा प्रणाली हुँदापनि काठमाडौँ उपत्यका लगायत बिभिन्न स्थानका सुन पसलमा प्रशस्त सुन भेटिनुले अवैध सुनको प्रयोग बढेको आरोप लागेको हो।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved