३० करोड लगानीमा त्रिवेणी ग्रुपद्वारा अमृत ब्रान्ड चामलको उत्पादन सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2023 | 09:41:48 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक मन्दीका कारण नयाँ उद्योग सञ्चालन हुन नसकिरहेको बेला व्यावसायिक घराना त्रिवेणी ग्रुपले अमृत ब्रान्ड चामलको उत्पादन सुरु गरेको छ । ग्रुपले  वीरगन्जमा त्रिवेणी राइस इन्डस्ट्री प्रालि सञ्चालनमा ल्याएको हो।

६ महिनाअघि नै उद्योग सञ्चालन गर्ने लक्ष्य राखिए पनि आर्थिक मन्दीलगायत कारणल ढिलाइ भएको ग्रुपका निर्देशक साकेत संघईले जानकारी दिए । दसैंदेखि उत्पादन सुरु भएकोचामल तिहार अघिबाट बजार आउनेछ ।

निर्देशक संघई भन्छन्, ‘हाम्रो चाहना दसैंअघि नै बजारमा चामल पुर्याउने थियो,’ ‘नयाँ धानको पर्खाइमा रहँदा केही ढिला हुन पुग्यो।’ ‘उत्पादन भएको चामलको मूल्य भने निर्धारण भएको छैन । बजार मागअनुसार चलनचल्तीकै मूल्यमा चामल बिक्री हुनेछ । ’

‘हामीले प्रिमियम चामल उत्पादन गरिरहेका छौं,’ निर्देशक संघईले भने , ‘ग्राहकसँग प्रिमियम मूल्य लिनेभन्दा गुणस्तरीय चामल खुवाएर सन्तुष्टि दिने अभियानमा लागेका छौं।’

३० करोड रुपैयाँ लगानीमा निर्माण भएको राइस मिलबाट अमृत ब्रान्डमा प्रिमियम जिरा मसिनो र प्रिमियम सोना मन्सुली चामल उत्पादन भइरहेको छ । प्रतिघन्टा ८ टन धान कुट्न सक्ने क्षमता राइस मिलको छ । धान कुटेका आधारमा ५० प्रतिशतमात्र चामल हुन्छ। प्रतिघन्टा ८ टन धान कुट्दा ४ टनमात्र चामल उत्पादन हुने उद्योगले जनाएको छ।

उद्योगले नेपाली धानबाट चामल उत्पादन गर्ने नीति लिएको छ । पछिल्लो समय नेपालमा धान उत्पादन घट्दै गएको कारण भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । अहिले ठूलो परिमाणमा भारतबाट धान आयात भइरहेको छ। भारतबाट धान आयात कम गर्न किसानहरूसँग सहकार्य गरेर उत्पादन बढाउने योजना उद्योगको छ। नेपाली किसानले नै उत्पादन गरेको धानबाट चामल बिक्री गर्ने उद्देश्य राखेको बताउँदै सरकारले पनि धान उत्पादन गर्नेहरुलाई विशेष सहुलियत दिनुपर्ने निर्देशक संघईको भनाई छ । अहिले सञ्चालनमा रहेका राइस मिलमा ७० प्रतिशत धान भारतबाट आउने गरेको छ।

भारतले चामल निर्यातमा रोक लगाएपछि अहिले नेपाली बजारमा मूल्यवृद्धि भइरहेको छ। चामल निर्यात बन्द भएको मौका छोपेर व्यापारीले मूल्य बढाइरहेका छन्। यही बेला अमृत चामल बजार आउँदा मूल्य केही कम हुन सक्ने अनुमान गरिएको छ।

उत्पादन, व्यापार, बैंक तथा वित्तीय संस्था, बिमा, जलविद्युत, रिटेल, शिक्षा, हस्पिटालिटी, कृषि र अटोमोबाइल क्षेत्रमा लगानी गरिरहेको ग्रुपको त्रिवेणी राइस पहिलो कृषिजन्य उद्योग हो। त्रिवेणीले अमृत ब्रान्डमा केही वर्षदेखि खाने तेल उत्पादन गर्दै आएको छ। ग्रुपले यसअघि त्रिवेणी दाल, रिलायन्स चिनी र टोकला चिया उत्पादन गरी बिक्री गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved