‘कार्टेलिङ’को आरोप लागेपछि उद्योगी भन्छन्, ‘सित्तैमा सिमेन्ट दिनुपर्ने हो ?’

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 18, 2023 | 04:04:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सिमेन्टको भाउ बढेपछि निर्माण व्यवसायीले उद्योगीहरुले ‘कार्टेलिङ’ गरेको आरोप लगाएका छन् । निर्माण व्यवसायी महासंघले विज्ञप्ति जारी गरेरै सिमेन्टमा प्रतिबोरा १ सय रुपैयाँसम्म मूल्य बढाएर उद्योगीहरुले कार्टेलिङ गरेको आरोप लगाएको हो । महासंघका महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा सिमेन्टमा बढाइएको मूल्य तत्काल खारेज गर्न माग गरिएको छ ।

तर, सिमेन्ट उद्योगीहरुले भने मूल्य बढाएर कार्टेलिङ गर्यो भन्नेहरुले खुला बजार अर्थतन्त्रको मर्म नै नबुझेको टिप्पणी गरेका छन् । माग र आपुर्तिका आधारमा मूल्य घटबढ हुने कुरालाई स्वीकार गर्नुको सट्टा उद्योगीहरुमाथि कार्टेलिङ गरेको आरोप लगाउनु जायज नभएको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रब थापाको भनाइ छ ।

‘हिजो दाम घट्दा कोही पनि बोलेनन्, तर आज अलिकति मूल्य बढ्नासाथ कार्टेलिङ गरे भनेर आरोप लगाउन सुरु भइसक्यो’ अध्यक्ष थापा भन्छन्, ‘अझै पनि उद्योगहरुले प्रतिबोरा ७० देखि ८० रुपैयाँ घाटामै सिमेन्ट बेचिरहेका छन्, पश्चिम तिर त झन बोरामै १ सय रुपैयाँभन्दा बढी घाटा छ ।’

उनले अहिले ओपसी सिमेन्टको मूल्य प्रतिबोरा औसतमा ६ सय र पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा औसतमा ५ सय रुपैयाँ रहेको पनि बताए । डिजेलको भाउ बढेर ढुवानीको लागत बढिरहेको अध्यक्ष थापाको भनाइ छ । यसले उपभोक्तासम्म पुग्दा सिमेन्टको भाउ फ्याक्ट्री मूल्यभन्दा केही बढि देखिएको भए पनि उद्योगीहरुले मिलेमतोमा भाउ बढाए भन्ने कुरा सत्य नभएको उनको दाबी छ ।

‘अहिलेको तेलको भाउ प्रतिलिटर १६० रुपैयाँ नाघिसक्यो, यसले ढुवानीको लागत बढाएको छ’ उनले भने, ‘साउनमा १५ दिन चलेर भदौ, असोज र कार्तिकमा उद्योगहरु बन्द थिए, अहिले पनि क्षमताको ३० प्रतिशतमा मात्रै चलिरहेका छन् । यो यथार्थ नबुझी उद्योगीहरुमाथि लक्षित आरोप लगाउनुको कुनै अर्थ छैन ।’

उनले विगतमा सिमेन्टको भाउ प्रतिबोरा ९ सयदेखि ९५० रुपैयाँसम्म पुगेको समेत स्मरण गरे । अहिले उद्योगहरुबीच प्रतिस्पर्धा बढेकाले घाटामै भए पनि उद्योग चलाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

‘बजारमा माग बढ्न थाले पनि पूर्ण क्षमतामा उद्योग चल्न सकेका छैनन्, २० वटा उद्योग बन्द नै भइसके, जगदम्बा, निर्माण, विश्वकर्मा जस्ता ठूला उद्योगहरु बन्द छन्’ अध्यक्ष थापा थप्छन्, ‘अनि हामीले चाहिँ निर्माण व्यवसायीलाई सित्तैमा सिमेन्ट दिनुपर्ने हो ? अहिले उत्पादन कम भएका बेला बजारमा अलिकति माग बढ्दा हिजो खाएको घाटा कम गर्न उद्योगहरुले अलिकति भाउ बढाउनासाथ कार्टेलिङ गरे भनेर आरोप लगाइहाल्नुपर्छ ?’

यता, निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले भने सिमेन्ट उत्पादनमा चाहिने कुनै पनि कच्चा पदार्थको भाउ नबढेको दाबी गरेका छन् । कुनै पनि कच्चा पदार्थको मूल्यवृद्धि नहुँदा पनि उद्योगीहरुले कार्टेलिङ गरी सिमेन्टको मूल्य बढाएको उनको जिकिर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved