लाइन काटिएका उद्योगः जसले भारतमा चिनाइरहेका छन् ‘नेपाल’

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 11, 2024 | 04:51:22 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्यापार घाटा चुलिएका बेला नेपालबाट भारतमा सिमेन्टको निकासी सुरु भएपछि सर्वत्र आशा पलाएको थियो । २०७९ असारबाट भारतमा नेपाली सिमेन्टको निर्यात सुरु भएको थियो । सरकारी तहबाट खास पहल नभइरहेका बेला उद्योगीहरुले आफ्नै बलमा भारत सरकारको गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस) लिएर भारतीय बजारमा नेपाली सिमेन्ट बिक्रि गरिरहेका थिए । 

पाल्पा सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बालाजी सिमेन्ट लगायतका केही उद्योगले भारतीय बजारमा नेपाली सिमेन्ट पठाउँथे । तर, करिब ३ हप्तादेखि सिमेन्टको अर्डर रद्द भएको छ । नेपाल विद्युत प्राधिकरणले सिमेन्ट निर्यात गरिरहेका अर्घाखाँची र सर्वोत्तम सिमेन्ट उद्योगमा विद्युत महशुल नतिरेको भन्दै लाइन काटेपछि भारतबाट अर्डर लिन नपाएका हुन् । अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाका अनुसार विद्युत अवरुद्ध गरिएपछि आफ्नो उद्योगले अर्डर लिन नसकेको बताएका छन् ।

‘नयाँ अर्डर लिने कुरा भएन, भएको अर्डर पनि क्यान्सिल गर्नुपर्यो’ उनले भने, ‘तिर्नै नपर्ने पैसा मागेर उद्योगीले पैसा तिर्दैनन् भन्ने भाष्य बनाएर ब्राण्ड भ्यालू पनि खत्तम पारियो । देशभित्र आम जनतामा उद्योगीप्रति नकारात्मक धारणा सेट गराइयो, अन्तराष्ट्रिय स्तरमा पनि नेगेटिभ म्यासेज गयो । पैसाकै कुरा गर्दा करोडौँको क्षति भयो, त्यो भन्दा ठूलो कुरा प्रतिष्ठामै धक्का लाग्यो ।’

भन्सारको विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा ३ लाख ९६ हजार ९५० टन क्लिङ्कर भारतमा निर्यात भएको छ । यसबापत ४२ करोड ३ लाख ५५ हजार रुपैयाँ आर्जन भएको छ । यो अवधिमा ६ लाख ७ हजार ७३ टन तयारी सिमेन्ट भारतमा निर्यात भएको छ । यसबापत ३५ करोड ८९ लाख ५१ हजार रुपैयाँ आम्दानी भएको छ ।

चालु आर्थिक वर्ष २०८०/०८१ को ५ महिना (साउनदेखि मंसिरसम्म)मा २ लाख २ हजार १०९ टन क्लिङ्कर निर्यात गरेर ७५ करोड ६ लाख २३ हजार रुपैयाँ नेपाल भित्र्याएका छन् । यो अवधिमा ११ लाख २७ हजार १९८ टन तयारी सिमेन्ट भारतमा बिक्रि गरेर ७४ करोड १७ लाख ३० हजार रुपैयाँ पैसा नेपाल भित्र्याएका छन् । 

नेपालको सबैभन्दा धेरै ब्यापार घाटा भारतमै छ । तर, यसरी भारतमै सिमेन्ट र क्लिङ्कर निकासी गरिरहेका उद्योगको लाइन काटेर प्राधिकरणले निरुत्साहित बनाएको उद्योगीहरुको गुनासो छ । उद्योगीहरुले भारतीय शहरका भित्ताहरुमा नेपाली सिमेन्टको विज्ञापन गर्न सुरु गरिसकेका थिए । अर्घाखाँची सिमेन्टले ‘सपनोका नयाँ निर्माण’ भन्ने हिन्दी ट्यागलाइनसहित भित्ते लेखनमार्फत प्रचार गरिरहेको थियो । अरु उद्योगहरुले पनि प्रचारको तयारी गरिरहेका थिए ।

भारतमा नेपाली सिमेन्टको माग बढिरहेका बेला आक्रामक बजार विस्तारको रणनीतिमा रहेका उद्योगीहरुलाई अहिले आफ्नै देशबाट सहयोग नभएको अनुभूति हुन थालेको छ । यसले आगामी दिनमा थप असर पर्न सक्ने भन्दै उद्योगीहरुले चिन्ता व्यक्त गरेका छन् । 

‘नेपालका उद्योगहरुले समयमा अर्डर दिन सक्दैनन्, जुनसुकै बेला उद्योगमा लाइन काटिएर अर्डर अनुसार प्रोडक्सन गर्न सक्दैनन् भन्ने नकारात्मक म्यासेज फैलियो भने यसले ठूलो जोखिम निम्त्याउँछ’ एक जना सिमेन्ट उद्योगीले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved