काटिएको विद्युत लाइन जोडिए पनि उद्योगमा अघोषित लोडसेडिङ सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 06:48:21 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगमा काटिएको विद्युत लाइन जोडिए पनि विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ सुरु गरेको छ । डेडिकेटेड र ट्रंक लाइनको महशुल विवादमा २३ वटा उद्योगमा काटिएको लाइन जोडिए पनि प्राधिकरणले लोडसेडिङ सुरु गरेको हो । उद्योगीहरुका अनुसार प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ११ घण्टासम्म अघोषित रूपमा लोडसेडिङ सुरु गरेको छ । 

बिहान ५ बजेदेखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि १० बजेसम्म लोडसेडिङ भइरहेको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए । बिहान ६ घण्टा र बेलुका ५ घण्टा गरि दैनिक ११ घण्टासम्म लोडसेडिङ हुन थालेको अध्यक्ष थापाको भनाइ छ । 

यसपाली, प्राधिकरणले तालिका नै निकालेर लोडसेडिङको घोषणा नगरे पनि मौखिक रुपमा भने केही समय लोडसेडिङ हुने जानकारी गराएको उद्योगीहरुले बताएका छन् । यद्यपी, उद्योगीहरुले तालिका नै माग गरेका छन् । 

चिनी उत्पादक संघका अध्यक्ष एवम् रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवालका अनुसार प्राधिकरणले बिहान बेलुका नै ‘पिक आवर’मा बिजुली कटौती गर्न थालेको छ । 

हिउँदमा आन्तरिक उत्पादनले माग नधान्ने भएकाले भारतबाट आयात गर्नुपर्छ । अहिले प्राधिकरणले भारतबाट बिजुली आयात गर्न चाहेको छैन । प्राधिकरणका अनुसार अहिले पिक समयमा १ हजार ७११ मेगावाट बिजुलीको माग छ । आन्तरिक उत्पादनले यो माग धान्दैन, माग पूरा गर्न भारतबाट आयात गर्नुपर्छ । 

आन्तरिक उत्पादनतर्फ निजी क्षेत्रले उत्पादन गरिरहेको ५३६ मेगावाट, प्राधिकरणको २७२ मेगावाट र प्राधिकरणअन्तर्गतका कम्पनीबाट १४४ मेगावाट गरि ९५२ मेगावाट मात्रै छ । प्राधिकरणले भारतबाट ३२४ मेगावाट बिजुली ल्याइरहेको छ । यसअनुसार, प्राधिकरणले १ हजार २७७ मेवागाट मात्रै विद्युत् आपुर्ति गर्दै आएको छ । माग अनुसार ३३४ मेगावाट विद्युत् कम छ । 

यसकारण प्राधिरकणले उद्योगहरुमा लोडसेडिङ सुरु गरेको उद्योगीहरुको बुझाई छ । भारतबाट विद्युत् आयात गरेर यहाँ दिँदा सस्तोमा दिनुपर्ने भएकाले प्राधिकरणको नेतृत्व आयात गरेर बिजुलीको माग पूरा गर्ने पक्षमा नरहेको पाइएको उद्योगीहरु बताउँछन् । यो कुरा प्राधिकरणका कर्मचारीहरुले पनि स्वीकार गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved