नेपाली पुँजीबजारमा बुक विल्डिङ विधिको आईपीओ अन्तत: कार्यान्वयनमा आएको छ । आज मङ्सिर ६ गतेबाट सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्काशन गर्दै छ । कम्पनीले पहिलो चरणमामा आज मङ्सिर ६ देखि क्युआईआई अर्थात् योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता शेयर निष्काशन गर्ने छ। यस निष्काशनमा योग्य संस्थागत लगानीकर्ताले मङ्सिर १० गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रति शेयर ४०१ देखि ६०१.५० रुपैयाँसम्मको मूल्य सीमा तोकेको छ। यस सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने छन् । यस अघि नै आशय मूल्य पेश गरेका योग्य संस्थागत लगानीकर्ताले भने आशय मूल्य भन्दा कम मूल्यमा आवेदन पेश गर्न पाउने छैनन् ।
सर्वसाधारणलाई निष्काशन गरिने शेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहि अनुसार सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्ने भएको हो।
सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको शेयर बाँडफाँड भए पछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले कुल ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । यो बुक विल्डिङको नियम नै हो । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ।