कस्तो संस्था हो सर्वसाधारणलाई आइपीओ बिक्री थालेको मुक्तिनाथ कृषि कम्पनी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2023 | 08:08:35 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ कृषि कम्पनीले आज मङ्सिर ८ गतेदेखि आम सर्वसाधारण नेपाली नागरिकको लागि साधारण शेयर अर्थात आइपीओ बिक्रि खुला गरेको छ। कम्पनीले सर्वसाधारणको लागि प्रति कित्ता एक सय रुपैयाँका दरले ११ लाख ४८ हजार कित्ता शेयर बिक्रि गर्न लागेको हो। जसमा इच्छुकले न्युनतम १० र अधिकतम एक हजार कित्ताको लागि आबेदन दिन पाउनेछन्। 

विदेशमा बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई  आइपीओ बिक्रि गरि बाँडफाँड गरिसकेको मुक्तिनाथ कृषि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारण नेपाली नागरिकको लागि आइपीओ बिक्रि गर्न लागेको हो। 

कस्तो कम्पनी हो मुक्तिनाथ कृषि कम्पनी ?

त्यसो त आइपीओमा आउने कम्पनी वा संस्थाको बारेमा चाँसो हुनुपर्ने हो, तर नेपालमा आइपीओ भर्ने अधिकांशले कम्पनीको वास्तविकता नबुझेको पाइएको छ। जसले गर्दा घाटामै रहेको सस्ण्ठ मात्र नभई अबको केहि वर्षमा अस्तित्व सकिन लागेका कम्पनीले जारी गरेका आइपीओमा दशौँ गुणा बढीको आवेदन पर्ने गरेको छ। त्यसैले बिजपाटी पाठकलाई 'मुक्तिनाथ कृषि कम्पनी' बारे थाहा दिने उदेश्यले यो लेख तयार गरिएको हो।   

मुक्तिनाथ कृषि कम्पनी 'कृषिसँग मुक्तिनाथ' 'उपभोक्तासँग मुक्तिनाथ'अभियान अन्तर्गत स्थापना भएको कम्पनी हो। कृषि चक्र निर्माण र कृषिसँग जोडिएका सबै पाटोहरुमा काम गर्ने यस कम्पनीको उदेश्य रहेको छ। मुक्तिनाथ विकास बैंकको प्रमुख लगानी तथा कृषि क्षेत्रको प्रवर्दनमा विभिन्न पेशाहरुमा आवद्द व्यक्तिहरुद्वारा २०७५ साल भदौ १ गते मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो। 

विशेषगरि कृषिसँग जोडिएका सबै पाटोहरुमा अहिले पनि बजार चेनमा धेरै समस्या देखिएकाले नै आफुहरु मुक्तिनाथ कृषि कम्पनीको स्थापना गरिएको हो।  पछिल्लो पांच बर्षदेखि यहि उदेश्य प्राप्तिको लागि कम्पनीले निरन्तर काम गरिरहेको छ। 

व्यवसायिक कृषिका मुल्य र मान्यता भित्र रही समग्र कृषिको मुल्य शृंखलामा व्यवस्थापकीय भूमिका मार्फत नेपालको कृषि अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले यस कम्पनीको स्थापना भएको हो। यस कम्पनीले आफ्नो उदेश्यअनुसार हाल कृषकहरुलाई आवश्यक गुणस्तरीय उत्पादनको साधनहरु जस्तै मल, बिउ, रोग किरा नियन्त्रक, औजारउपकरण सहित कृषि परामर्श सेवा, अनुसन्धान र विकास तथा प्रविधि प्रसारको साथै कृषि उत्पादनहरुको राष्ट्रिय र अन्तराष्ट्रिय बजारीकरण सम्बन्धित कार्यहरु गर्दै आइरहेको छ।   

आफ्नै देशको माटोको उपयोग गरेर बाँच्नलाई चाहिने खाधान्नको उत्पादन आफैं नगर्दा अभाव र महंगीको मार झेल्नुपर्ने कुरा विभिन्न कालखण्डमा नेपालमा घटेका घटनाहरुले सिकाएकाले खाद्यान्न नै अबको मुख्य क्षेत्र हो भन्ने ठानेर नै यस कम्पनीको स्थापना गरिएको हो। 

एकातर्फ नेपालका उत्पादनले बजार नपाउने र अर्कोतर्फ उत्पादनका लागि आवश्यक ज्ञान, भुमि, मल, बिउ तथा आर्थिक स्रोतको सहजता नहुने भएकाले पछिल्लो समय खाधान्नसँग सम्बन्धित व्यवसाय फस्टाउँन नसकेकाले यो 'ग्याप' पूर्ति गर्नलाई नै यो कम्पनी खोलिएको हो।  

केन्द्र, प्रदेश र पालिका जोडिने गरि बजार नियमन तथा अनुगमन राज्यले नै गर्नुपर्ने भएपनि बजार संयन्त्रमा राज्यसँग मिलेर निजि क्षेत्रहरुले पनि हात हाल्नुपर्ने बुझाई छ।  नेपालमा कृषि क्षेत्रमा अथाह सम्भावना भएकाले पनि निजि क्षेत्रहरु राज्यसँगको हातेमालो गरेर 'बजार चेन' मा काम गर्नलाई अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता हो। 

कम्पनीको संचालकमा भरतराज ढकाल, सिताराम काफ्ले , तुलसीराम ढकाल, शिखा मास्क,मोहन कुमार बस्नेत, र गोविन्द बहादुर राउत रहेका छन् । भरतराज ढकाल कम्पनीका अध्यक्ष हुन् । कम्पनीको नायव महाप्रबन्धकमा रामशरण तिमल्सिना रहेका छन् । कम्पनीमा ५० स्थायी , २३ अस्थायी र करारका गरि ८४ कर्मचारी छन् । 

सर्वसाधारणको लागि आइपीओ किन ?

अहिले कम्पनीको जारी पुँजी ७० करोड रहेको छ भने चुक्तापूँजी ५६ करोड रहेको छ। यसको मुख्य लगानीकर्ता मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ विकास बैंकका संचालक तथा अन्य लगानीकर्ताले ५६ करोड रुपैयाँ लगानी गरिसकेका छन्। 

सर्वसाधारण अर्थात वैदेशिक रोजगारीमा रहेका नेपाली तथा नेपालका सर्वसाधारण नागरिक, कम्पनीका कर्मचारी तथा सामुहिक लगानी कोषलाई गरेर १४ करोड रुपैयाँ बराबरको आइपीओ बिक्रिमा ल्याएको हो। जसमध्ये वैदेशिक रोजगारीमा रहेकाका लागि आइपीओ बिक्रि भैसकेको छ भने अब बाँकीको लागि आइपीओ बिक्रीमा आएको हो। 

कृषिमा सर्वसाधारणको लगानी सुनिश्चितता गर्न, कृषि क्षेत्रको महत्त्व बुझाउन र यस क्षेत्रमा आबद्द हुनका लागि उत्प्रेरित गर्न, कम्पनीको बस्तु तथा सेवालाई आम कृषक तथा उपभोक्ता सम्मको पहुँलाई शसक्तिकरण गर्न, निजि क्षेत्रको संस्थागत लगानीलाई आकर्षित गर्न, संस्थालाई थप पारदर्शी बनाउन तथा वित्तीय आवश्यकताको दायरालाई थप फराकिलो बनाउनलाई आइपीओ जारी गरिएको हो। 

यस कम्पनीको अन्य ८ वटा सहायक कम्पनी पनि छन् ।  मुक्तिनाथ सिड बैंक लि, मुक्तिनाथ नर्सरी बैंक लि. , मुक्तिनाथ फर्टिलाइजर बैंक लि., मुक्तिनाथ लाइभस्टक बैंक लि., मुक्तिनाथ हर्वल बैंक लि. , मुक्तिनाथ फुड बैंक लि. , मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि., र मुक्तिनाथ ट्रेडिङ लि. सहायक कम्पनीहरु हुन् । यी सबै सहायक कम्पनी २०७९ भदौ ६ गते दर्ता भएका छन् ।  मुक्तिनाथ ट्रेडिङ लिमिटेड बाहेक अन्य सहायक कम्पनीमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत लगानी छ । मुक्तिनाथ ट्रेडिङमा कम्पनीको शतप्रतिशत लगानी रहेको छ । 

आइपीओ बिक्रिबाट आएको पैसा कहाँ हुन्छ लगानी ?

जारी पूँजीको २० प्रतिशत अर्थात १४ करोड रकम बराबरको साधारण शेयर निष्काशन पश्चात प्राप्त पूँजीलाई कृषि सम्बन्धि उद्योगहरु स्थापनाको लागि जग्गा र उपकरण खरिदमा, भण्डारण केन्द्र स्थापना र संचालनमा तथा ल्याबको स्थापनाको लागि प्रयोग गरिनेछ। 

कस्तो छ वित्तीय अवस्था ?

आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर नेटवर्थ ९०.३२ रुपैयाँ, प्रति शेयर आम्दानी ३.४८ रुपैयाँ र खुद घाटा ४ करोड ८३ लाख रहेको छ । यद्यपि कम्पनीले आर्थिक वर्ष २०८०/८१ देखि कम्पनी नाफामा जाने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा ६२ लाख ७२ हजार र आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ५ करोड ६१ लाख पुग्ने प्रक्षेपण गरेको छ ।  यी आर्थिक वर्षमा प्रति शेयर नेटवर्थ क्रमश १०१.१८ रुपैयाँ र १०७.३९ रुपैयाँ हुने कम्पनीको प्रक्षेपण रहेको छ । त्यस्तै यी दुई आर्थिक वर्षमा कम्पनीको प्रति शेयर आम्दानी क्रमश ८.७३ रुपैयाँ र १४.३० रुपैयाँ हुने कम्पनीको प्रक्षेपण रहेको छ । 

कस्तो छ रेटिङ्ग ? 

शेयर निष्काशन गर्नु अघि  धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम संस्थाको रेटिङ्ग गराउनु पर्ने हुन्छ । कम्पनीले  नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल मार्फत रेटिङ्ग गराएको छ ।

कम्पनीले  "[ICRANP - IR] BB-" (Pronounced as ICRA NP Issuer Rating Double B Minus) ग्रेडिङ्ग मिति २०७९/१०/०६ मा प्राप्त गरेको छ । "[ICRANP-IR] BB-" (Issuer Rating ) ले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम (Moderate risk of default regarding timely servicing of financial obligation) जनाउँदछ । ईका नेपाल लिमिटेडले [ICRANP-IR] AAA देखि [ICRANP-IR] D सम्मको रेटिङ्ग प्रदान गर्दछ जसमा ग्रेड [ICRANP-IR] AAA ले बलियो आधार जनाउँछ भने [ICRANP-IR] D ले कमजोर आधार जनाउँछ । रेटिङ्ग संकेत पछाडि रहने + (जोड) वा (घटाउ) चिन्हले सम्बन्धित रेटिङ्ग वर्ग भित्रको तुलनात्मक स्थितीलाई जनाउँदछ । यसको अर्थ "[ICRANP -IR] BB-" स्थिती "[ICRANP -IR] BB" भन्दा एक चिन्ह तल रहन्छ ।  

(मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरत राज ढकालसँगको कुराकानी तथा कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा आधारित लेख हो)

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved