२०७४ सालमा हज गर्न जानेका लागि आवेदन खुल्ला, १० वैशाखसम्म आवेदन फाराम भर्न पाइने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 25, 2017 | 02:51:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल हज समितिले यस वर्ष हज गर्न जाने हाजी (हजयात्री) हरूका लागि आवेदन खुला गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले साउदी अरब जान इच्छुक हाजीहरूका लागि आवेदन दिन खुला गर्ने निर्णय गरेको हो । समितिले आगामी भदौसम्म हाजीहरूलाई साउदीको मक्का पठाउने तयारी गरेको छ ।

यो वर्ष एक हजारजना मात्रै जान पाउने
साउदी अरबले दिएको अनुमतिअनुसार नेपालबाट यो वर्ष पनि एक हजार हज गर्न जान पाउने भएका छन् । गत वर्ष सोही संख्याका हाजी मक्का गएका थिए । साउदी अरबले नेपाललाई एक हजार हाजी पठाउन अनुमति दिए पनि नेपाललाई भने त्यो संख्या अपुग हुने गरेको हज समितिका अध्यक्ष मोहम्मद सोऐबले बताए ।

१० वैशाखसम्म आवेदन फाराम भर्न पाइने
यस वर्ष हजमा जान दुई दिनभित्र राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गर्न निर्णय समिति बैठकले गरेको छ । समितिले १० चैतदेखि १० वैशाखसम्म अर्थात् एक महिनाका लागि आवेदन दिने समय तोकेको छ । प्रत्येक जिल्लाको जिल्लाा प्रशासन कार्यालयमा हज फाराम भर्न पाइने गृह मन्त्रालयले व्यवस्था गरेको छ ।

गत वर्षका निवेदक पहिलो प्राथमिकतामा
हज समितिले गत वर्ष फाराम भरेर पनि जान नपाएकालाई यस वर्ष पहिलो प्राथमिकतामा राखेको छ । तर, त्यसका लागि उनीहरूले समयमै फेरि नयाँ फाराम भर्नुपर्ने हुन्छ । गत वर्ष ६ सय १५ जना हाजी मक्का जान पाएका थिएनन् ।

नयाँ हाजी ३८५ मात्रै
एक हजारमध्ये गत वर्ष जान बाँकी रहेका ६ सय १५ बाहेक यो वर्ष नयाँमा ३ सय ८५ जना मात्रै जान पाउनेछन् । तोकिएको मितिभित्रै सुरुमै भर्नेबाट क्रमशः ३ सय ८५ जनालाई छानिन्छ ।

गृहमन्त्रीले दिए शुभकामना
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आइतबार हज समितिका नवनियुक्त पदाधिकारीलाई शुभकामना दिएका छन् । गृह मन्त्रालयको नियोगको सभाहलमा बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री निधिले सबैको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

हाजीहरूको लागि सरकारले दिएन बजेट
सरकारले विगतमा हाजीहरूको सहुलियतका लागि आर्थिक सहयोग दिने गरेको थियो । तर, पछिल्लो दुई वर्षयता सरकारले कुनै किसिमको रकम उपलब्ध नगराएको हज समितिले जनाएको छ । सरकारले हाजीहरूको सबै काम व्यवस्थापन गर्न कर्मचारी तथा पदाधिकारीहरूका लागि मात्र एक करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

यो रकम पदाधिकारी बैठक, हज व्यवस्थापन गर्न साउदी जाँदा/आउँदा खर्च तथा प्रचारप्रसारमा समितिले खर्च गर्न पाउनेछ । ०६८ सालको जनगणनाअनुसार नेपालमा मुस्लिम समुदायको जनसंख्या ११ लाखभन्दा बढी रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved