प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि कर्मचारीले कुनै पनि कालखण्डमा गरेका अनियमिततालाई सरकारले त्यसै नछाड्ने प्रष्ट पारेका छन् ।
सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको उल्लेख गर्दै उनले कुनै पनि कालखण्डमा भएका अनियमितताका घटना र त्यसमा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन।
अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आज शनिबार काठमाडौँमा प्रधानमन्त्री दाहालले भने,“जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउनेप्रति वर्तमान सरकार प्रतिबद्ध छ, यसका लागि आयोगलाई अधिकार सम्पन्न बनाइने ।”
भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभूत गर्ने विषय वर्तमान सरकारको नीतिगत प्राथमिकता तथा न्यूनतम कार्यक्रममा समेटिएको प्रधानमन्त्री दाहालले बताए ।