राजश्व छलीमा अमेरिकन कम्पनी 'कोटिभिटी नेपाल' बिरुद्द साढे १० अर्बको मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2024 | 06:55:07 AM मा प्रकाशित

laxmi  sunrise bank

राजस्व अनुसन्धान विभागले अमेरिकी कम्पनी 'कोटिभिटी नेपाल प्राइभेट लिमिटेड' विरुद्ध दस अर्ब ३६ करोड रुपियाँभन्दा बढी राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ। दस अर्ब ३६ करोड ४५ लाख २२ हजार ६४२ रुपियाँ राजस्व चुहावट गरेको अभियोगमा पाटन उच्च अदालतमा मुद्दा दायर गरिएको बिभागले जनाएको छ। 

विभागकाअनुसार सेयरधनी नामसारी गर्दाको राजस्व छली ४१ करोड ६४ लाख १७ हजार ९६५ रुपियाँ, राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रणको कसुरमा चार अर्ब ७६ करोड ५८ लाख ४३ हजार ३५५ रुपियाँ र पाँच अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपियाँको बिगो कायम गरिएको छ । कोटिभिटी नेपाल प्रालि नेपालमा दर्ता भएको पूर्ण वैदेशिक लगानी भएको कम्पनी हो । विभागले दायर गरेको आरोपपत्रका अनुसार त्यसको स्थायी लेखा नम्बर ३०११६१६१९१ रहेको छ ।

उक्त कम्पनीले आफूमा रहेको सेयर स्वामित्वमा परिवर्तन हुँदा र सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको विषयमा सम्बन्धित निकायमा कुनै जानकारी नदिएको विभागले जनाएको छ । सेयर स्वामित्व परिवर्तन गर्दा सिर्जना हुने कर दायित्व पूरा नगरेको, मुख्य कम्पनी कोटिभिटी इन्कलाई आफ्नो सेवा बिक्री गरी राजस्व चुहावट गर्ने उद्देश्यले सहायक कम्पनी काठमाडौँको हात्तीसारमा रहेको कोटिभिटी नेपालले राजस्व छली गरेको तथा डा. इमाद रिज्क ब्रेट म्यागन, केरी एस्किन, पिटर क्सापो, अपर्ना कोथुरसमेतले राजस्व चुहावट ऐनले निषेध गरेका कार्यमा संलग्न भएको कसुर पुष्टि भएको विभागले जनाएको छ ।

उक्त मुद्दामा पाँच अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपियाँ राजस्व चुहावट भएको बिभागले जनाएको छ । बिभागकाअनुसार अनुसन्धानका क्रममा सेयरधनी दर्ता किताब प्राप्त गरी विश्लेषण गर्दा भेरिस्क इन्फर्मेसन टेक्नोलोजिज् प्रालिका नाममा २०७१ पुस ६ गते सेयरधनी दर्ता किताबमा डिटु हकाई इन्क, २०७१ चैत १३ गते सेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इन्क, २०७२ असार ४ गते सेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इन्क (सेयर वृद्धि) उल्लेख भएको छ ।

भर्सेन्ड टेक्नोलोजिज् प्रालिको नाममा २०७५ जेठ ३० गते सेयरधनी दर्ता किताबमा भर्सेन्ड टेक्नोलोजिज् इन्क उल्लेख भएको र कोटिभिटी नेपालको नाममा २०७६ भदौ २६ गते सेयरधनी दर्ता किताबमा कोटिभिटी इन्क उल्लेख भएको देखिएको छ। 

पटक पटक सेयर लेनदेन

साबिक भेरिस्क इन्फर्मेसन टेक्नोलोजिज्को २०७३ साउन २८ गतेको सेयरधनीको निर्णयले कम्पनीको नाम परिवर्तन गरी भर्सेन्ड टेक्नोलोजी प्रालि बनाएर कम्पनी रजिस्ट्रारको कार्यालयबाट स्वीकृति लिएको देखिएको छ। २०७५ कात्तिक १ गतेको सेयरधनीको निर्णयले कोटिभिटी नेपाल प्रालि राखेको पाइएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा कुल १७ लाख पाँच हजार २०२ कित्ता सम्पूर्ण सेयर भेरिक्स हेल्थ इन्क, संयुक्त राज्य अमेरिकाको नाममा रहेको देखिएको छ। २०७५ जेठ २१ गते कम्पनीका तर्फबाट प्रमाणित सेयरधनी दर्ता किताब अनुसार कम्पनीको एकल सेयरधनी भर्सेन्ड टेक्नोलोजी इन्क, संयुक्त राज्य अमेरिका रहेको र २०७५ कात्तिक २६ गते कम्पनीका तर्फबाट प्रमाणित सेयरधनी दर्ता किताब अनुसार कम्पनीको एकल सेयरधनी कोटिभिटी इन्क अमेरिका रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved