एनआरएनएको निर्वाचन त्रुटिपूर्ण भएको निष्कर्ष : नैतिक संकटमा केसी, शर्मालाई राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2024 | 11:24:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारबाट गठन गरिएको छानबिन समितिले गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन त्रुटिपूर्ण भएको निश्कर्ष सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। निर्वाचनका क्रममा प्रयोग गरिएको 'मेसिन' को संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा औल्याएको हो। 

अनलाइन भोटिङको लागि प्रयोग गरिएको  ‘भेरो अनलाइन भोटिङ सिस्टम’को संवेदनशील विवरण युजर नेम र पासवर्ड निर्वाचन समितिले प्राप्त गरी संघको आईटी टिममार्फत मतदातालाई उपलब्ध गराएको छानबिनका क्रममा पाइएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

सम्झौताबमोजिम ‘भेरो भोटिङ’को आधिकारिक प्रतिनिधि निर्वाचनस्थलमा भौतिक रूपमा उपस्थित नहुनुनै गम्भीर त्रुटी भएको औल्याइएको छ। समितिको रिपोर्टमा भनिएको छ, ‘निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने निर्णयहरू निर्वाचन भइरहेको समयमा गरिएको, फेसियल बाइपास, भोटर डिटेल हेर्ने एक्सेस गैरआवासीय नेपाली संघको आईटी सपोर्ट टिमलाई उपलब्ध गराएको पाइयो ।’

यस्तै, फेसियल भेरिफिकेसन बाइपाससम्बन्धी विवरणको अभिलेख नराखेको, अन्य व्यक्तिहरूले हालेको मतदानको सम्बन्धमा कुनै छानबिन नगरी सो मतलाई रद्द गरेर पुनः मतदान गराएको पाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘नेपालबाट मतदान गर्नेगरी दर्ता भएका नौ जनाको ग्लोबलबाट फेसियल भेरिफिकेसन बाइपास गरी मतदान गरेको र पाँच जनाको नेपाल तथा ग्लोबल दुवैतर्फबाट फेसियल भेरिफिकेसन बाइपास गरेको तथा निर्वाचनको परिणाम घोषणा हुँदा उपाध्यक्ष पदका उम्मेदवार डा. केशव पौडेल पराजित भएको सार्वजनिक गरिएको र तत्काल विवाद उत्पन्न भएपश्चात् पुनः घोषणा गरिएको पाइएकाले निर्वाचन त्रुटिपूर्ण देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहान नेतृत्वको छानबिन समितिले निर्वाचनमा त्रुटी भएको औल्याएपछि  अध्यक्षका उम्मेदवार आरके शर्मालाई राहत मिलेको छ भने आफूलाई एकपक्षीय रूपमा अध्यक्ष घोषणा गरेका डा. बद्री केसी नैतिक संकटमा परेका छन्। 

गत ३ कात्तिक मध्यराति सम्पन्न निर्वाचनको मत परिणामनुसार अध्यक्षका प्रत्याशीहरू आरके शर्मा र महेश श्रेष्ठभन्दा डा. बद्री केसीको मत बढी देखाएको थियो । तर, उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको काठमाडौंमा खसेको मत शून्य आएको तथा केही व्यक्तिहरूले मतदानै नगरी मतदान गरिसकेको भनेर इमेल आएको र पदाधिकारीहरूको जोड घटाउमा समेत गलत भएको पाइएकाले धाँधली भएको भन्दै शर्मा र श्रेष्ठले मतपरिणाम अस्वीकार गरेका थिए। 

अध्यक्षका उम्मेदवार शर्मा र महेश श्रेष्ठले निर्वाचनमा धाँधली भएको भन्दै नतिजा अस्विकार गर्दै आएका थिए। को अध्यक्ष भन्ने विवादका कारण पछिल्लो समय गैर आवासीय नेपाली संघमा नेतृत्त्व तहमा सार्वजनिक रुपमा नै विवाद भएको थियो।  दुवै पक्षले आफुलाई अध्यक्षमा दाबी गरेपछि पछिल्लो समय संघमा तीनवटा समानान्तर समिति बनेको छ।  अहिले एनआरएनए फुटेर तीन टुक्रा भएको छ । डा. बद्री केसी, आरके शर्मा र विनोद कुँवर अध्यक्ष रहेको एनआरएनएले छुट्टाछुट्टै गतिविधि गर्दै आएका छन।  

विवाद समाधान नभएपछि गत ९ माघमा बसेको मन्त्रिपरिषद् बैठकले विवाद छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको थियो । सहमहान्यायाधिवक्ता चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको छानबिन समिति गठन भएको थियो। 

विवाद उत्कर्षमा पुगेपछि तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रिपरिषद्बाटै निर्णय गराएर छानबिन समिति बनाएका थिए । छानबिन समितिले झन्डै डेढ महिना अध्ययन गरेर फागुन अन्तिममा परराष्ट्रमन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । 

सरकारद्वारा गठित छानबिन समितिको प्रतिवेदन भन्दा पहिला पनि केन्द्रीय अनुसन्धान ब्युरोले निर्वाचनको परिस्तिथिमा प्रश्न उठाएको थियो।  ब्युरोको रिपोर्टमा संघको निर्वाचन निष्पक्ष नदेखिएकाले अनलाइन भोटिङ गराउने कम्पनी ‘भेरो इन्गेजमेन्ट एन्ड भोटिङ सोलुसन’बाट मतदान गरेको स्थान निक्र्योल गर्नुपर्ने आवश्यकता औंल्याएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved