बंगलादेशमा लगानी सम्मेलन लक्षित प्रिइभेन्ट इन्भेष्टमेन्ट सेमिनार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2024 | 01:26:18 PM मा प्रकाशित

आगामी लगानी सम्मेलनलाई लक्षित गर्दै बंगलादेशको ढाकास्थित नेपाली दूतावासले आयोजना गरेको प्रिइभेन्ट इन्भेष्टमेन्ट सेमिनारमा लगानी बोर्डको कार्यालयले सहभागिता जनाएको छ । उक्त सेमिनारमा आगामी वैशाख १६ र १७ मा काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनको विषयवस्तु तथा अपेक्षाका सम्बन्धमा सम्भावित लगानीकर्ताहरूलाई जानकारी गराइएको थियो ।

कार्यक्रमका बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपालमा गरिने लगानीका लाभहरूबारे चर्चा गर्दै बंगलादेशी लगानीकर्तालाई नेपालमा जलविद्युत, पूर्वाधार, होटल तथा हस्पिट्यालिटी, फर्मास्युटिकल्स, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीको अवसर पहिल्याउन आग्रह गरे ।

सेमिनारका प्रमुख अतिथि बंगलादेशका उर्जा तथा जलस्रोतमन्त्री नसरुल हामिदले नेपालमा रहेको लगानीको सम्भावनाबारे उल्लेख गर्दै नेपाल र बंगलादेशबीच द्विपक्षीय लगानी सम्बन्धलाई मजबुत पार्न बंगलादेश सकारात्मक रहेको बताए । नेपाल र बंगलादेशबीचको ऊर्जा सहकार्यलाई विशेष महत्वका साथ उठाउँदै उनले बंगलादेशको उच्च माग र नेपालको उत्पादन क्षमताबीच तादम्यता मिलाउनु पर्नेमा जोड दिए ।

कार्यक्रमका विशेष अतिथि लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी सम्मेलनको तयारीका सम्बन्धमा जानकारी गराउँदै लगानी सम्मेलनले सम्भावित लगानीकर्ता, नीति निर्माता, निजी क्षेत्र, विज्ञ, विकास साझेदार, डेभलपमेन्ट फाइनान्स इन्स्टिच्यूसनहरू र बैंक तथा वित्तीय संस्थालाई एक ठाउँमा ल्याउने र विदेशी लगानीकर्ताहरूले स्थानीय व्यवसायीहरूसँग साझेदारी गर्न सक्ने सम्भावना औँल्याए । उनले सहभागी लगानीकर्तालाई सम्मेलनमा सहभागी हुन आह्वान समेत गरेका छन् । 

उनले बंगलादेशका उर्जामन्त्री र सम्बन्धित पक्षसँग साइडलाइन बैठक गर्दै द्विपक्षीय हितका विषयमा समेत छलफल समेत गरेका छन् ।

लगानी बोर्डका सहसचिव बाबुराज अधिकारीले लगानी सम्मेलनको सम्बन्धमा विस्तृत जानकारी प्रदान गर्ने प्रस्तुतीकरण गरेका थिए । 

सेमिनारमा बंगलादेशको संसदका सदस्यहरू, उच्चपदस्थ सरकारी अधिकारीहरू, थिंक ट्यांक, प्रतिष्ठीत व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिहरू, नेपाली दूतावासका अधिकारीहरू लगायत ८० भन्दा धेरैको सहभागिता रहेको थियो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved