सरकारको नीति कार्यक्रम इतिहासकै सबैभन्दा नालायक छ, बालुवा चुसेजस्तो निरश छ: विष्णु पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2022 | 03:07:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा(एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न नसक्ने बताएका छन् । 

 उपाध्यक्ष पौडेलले सरकारले प्रस्तुत गरेको आ.व.२०७९÷८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहिन भएको बताए  । उनले नीति तथा कार्यक्रमले मुलुकको आजका समस्याहरु चिन्न नसकेको र समाधान दिन नसकेको उल्लेख गरे । उनले नीति तथा कार्यक्रममा कुनै दृष्टिकोण नभएको उल्लेख गर्दै बालुवा चुसेजस्तो निरश भएको टिप्पणी गरे ।

उनले भने – ‘गठबन्धन जस्तो छ, नीति कार्यक्रम पनि त्यस्तै छ । यो इतिहासकै  सबैभन्दा नालायक, सारहिन, गन्तव्य, दिशाबिहिन, मुलुकका आजका समस्या चिन्न नसकेको र समाधान दिन नसकेको, बालुवा चुसेजस्तो निरश छ यो । यसमा कुनै दृष्टिकोण छैन । कुनै गन्तव्य छैन । यसले मुलुकका आजका समस्या चिनेको छैन । समाधान दिने यसमा कुनै दृष्टिकोण छैन । समयको अपव्यय मात्रै हो यो ।’

उपाध्यक्ष पौडेलले सरकारले अवलम्वन गरेका नीति तथा निर्णयहरुका कारण मुलुकमा भयानक संकट आइपर्न लागेको बताए । उनले आर्थिक संकटको बारेमा सरकार मौन रहेको बताए । उनले विगतमा सकारले गरेका राम्रा कामहरुलाई यस सरकारले निरन्तरता नदिइ नीति तथा कार्यक्रम पूर्वाग्रही रुपमा ल्याएको पनि बताए ।

उनले भने – ‘आजका आर्थिक संकटको कारणको बारेमा यो सरकार पस्नै चाहादैन । किनभने यो सरकारकै कारणले गर्दा, यसले अवलम्वन गरेका नीतिका कारणले गर्दा, यसले गरेका निर्णयहरुका कारणले गर्दा मुलुक आर्थिक रुपमा यो भयानक संकटको सम्मुखमा आइपुगेको छ । तर त्यसप्रति यसले चुप्पी साँधेको छ । मौनता गर्देको छ । मानौँ यसमा मुलुकको अर्थतन्त्र सबै लयमा छ । ठिकठाक छ भनेजस्तो ग¥या छ । यो नीति कार्यक्रम पूर्वाग्रही पनि छ । सरकार निरन्तरतामा चल्ने, बुझिने चिज हो । हिजोका राम्रा कामहरुलाई तिनको निरन्तरतामा सरकार अगाडी बढ्नुपर्ने हो । तर हिजोका राम्रा कामहरुलाई यसले निरन्तरता दिन चाहेको छैन ।’

नीति तथा कार्यक्रमले विगतमा अगाडी बढाइएका राष्ट्रिय गौरवका आयोजनाहरुका प्रभावकारी कार्यान्वयनमा कुनै चासो र चिन्ता व्यक्त नभएको उनको भनाई छ । राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका आयोजनाहरुलाई अगाडी बढाउने सन्दर्भमा पनि सरकार पूर्वाग्रही बनेको उनले आरोप लगाए । स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित हुन नसकेको उल्लेख गर्दै उनले निष्पक्ष, भयरहित र स्वतन्त्र बातावरणमा निर्वाचन सम्पन्न भयो भनेर जनतालाई गुमराह गर्ने कोशिस भएको बताए । नीति कार्यक्रम भाषिक दृष्टिकोणले पनि कमशल रहेको उनले बताए । यसले मुलुकलाई कुनै नतिजा दिन नसक्ने उनले दाबी गरे ।

उपाध्यक्ष पौडेलले अब गठबन्धनको ओरालो यात्रा सुरु हुने बताए । आगामी निर्वाचनमा गठबन्धनको पटाक्षप हुने उनले बताए । आगामी निर्वाचन पछि नेकपा(एमाले)को नेतृत्वमा सरकार बन्ने कुरालाई कसैले रोक्न नसक्ने उनले दाबी गरे ।

उनले भने – ‘यो गठबन्धनको पटाक्षप आउने निर्वाचनमा हुनेवाला छ । गठबन्धनले जे गेन गर्न सक्ने हो, त्यो गरिसक्यो । अब यसको ओरालो यात्रा सुरु हुन्छ । र आउने निर्वाचनमा गठबन्धनको पटाक्षप हुन्छ । म तपाईहरुसँग फेरी दाबी गरेर भन्छु, आउने निर्वाचनमा नेकपा(एमाले)को नेतृत्वमा सरकार बन्ने कुरा कसैले रोक्न सक्दैन । नेकपा(एमाले) संसदको ठुलो पार्टी हुने एमालेको हैसियतलाई कसैले रोक्न सक्दैन । यसपटकको निर्वाचनमा पनि एकखालको प्रयोग भइसकेको छ । सारा दल एकातिर हुँदापनि नेकपा(एमाले)को श्रेष्ठतालाई कसैले खण्डित गर्न सकेको छैन । निर्वाचन परिणामका हिसाबले, निर्वाचित भएका पदाधिकारी सदस्य संख्याको हिसाबले एमाले दोस्रो भएको होला, जनमतको हिसाबले, संगठनात्मक शक्तिको हिसाबले एमालेलाई चुनौती दिने तागत कसैसँग छैन । एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हैसियत नै कसैसँग छैन । यो त अहिले पनि देखिइसकेको छ ।’

उनले नीति तथा कार्यक्रमले मुलुकको आर्थिक संकटका कारणहरुलाई चिनेर त्यसको निराकरण गर्नेगरी ल्याउनुपर्नेमा त्यसो हुन नसकेको बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved