बीमा पोलिसीबाट कर्जा लिने व्यवस्था हुँदाहुँदै किन बढ्दैछ सरेन्डरको ग्राफ ?

चन्दा कार्की

चन्दा कार्की

Oct 06, 2023 | 04:05:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधीकरणको तथ्यांक अनुसार २०८० को असार मसान्तसम्म (वैदेशिक रोजगार बीमासहित) जीवन बीमाको दायरामा आएको जनसंख्या ४४.३८ प्रतिशत रहेको छ । विगतका वर्षको तुलनामा बीमामा पहुँचको संख्यामा बढेको तथ्यांकमा देखिएपनि बीमा पोलिसी त्याग (सरेन्डर) गर्नेको संख्यामा उच्च वृद्धि भएको छ ।

२०८० को असार मसान्तसम्ममा बीमितहरुले १४ अर्ब २७ करोड ५४ लाख रुपैयाँभन्दा बढीको १ लाख ४ हजार ५ सय ६ वटा बीमा पोलिसी त्याग (सरेन्डर) गरेका छन् । एक वर्षको अवधिमा २.८४ प्रतिशतले आफ्नो व्यवसाय विस्तार गरेका जीवन बीमा कम्पनीमा पोलिसी सरेन्डर भने २७.६६ प्रतिशतले बढेको देखिन्छ । यसरी हेर्दा जीवन बीमा कम्पनीको व्यवसाय वृद्धिभन्दा पोलिसी सरेन्डर गर्नेको ग्राफ निकै उच्च रहेको छ । 

जीवन बीमा कम्पनीले असार मसान्तसम्म १ खर्ब ४२ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा बीमा कम्पनीले १ खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँ बीमा श’ल्क संकलन गरेका थिए ।

दुई महिनामा साढे २ अर्बको पोलिसी सरेन्डर

त्यस्तै चालू आर्थिक वर्षमा पनि बीमा पोलिसी त्याग गर्नेको संख्या उल्लेख्य रहेको छ । बीमा प्राधीकरणको तथ्यांक अनुसार साउन र भदौमा गरी २ अर्ब ४६ करोड ५३ लाख रुपैयाँको १९ हजार १ सय ८४ वटा पोलिसी बीमितहरुले सरेन्डर गरेका छन् । जसमध्ये साउनमा १४ जीवन बीमा कम्पनीको १ अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबरको ९ हजार ७ सय ९८ वटा पोलिसी सरेन्डर भएका छन् । भने भदौ महिनामा १ अर्ब १८ करोड २० लाख रुपैयाँ बराबरको ९ हजार ३ सय ८६ पटा पोलिसी बीमितहरुले त्याग गरेका छन् । साउन महिनाको तुलनामा भदौमा पोलिसी सरेन्डरमा केही मात्रामा भएपनि कमी आएको तथ्यांकले देखाउँछ । यद्यपी, अपेक्षित सुधार भने नभएको सरोकारवालाको भनाई छ ।

त्यस्तै गत आर्थिक वर्ष २०७९/८० को साउनमा १ अर्ब १५ करोड २७ लाख रुपैयाँ बराबरको ८ हजार ४२२ वटा, भदौमा १ अर्ब १४ करोड ८६ लाख रुपैयाँ बराबरको ८ हजार ५२ वटा पोलिसी बीमितले त्याग गरेका थिए । अघिल्लो वर्षको दुई महिनामा २ अर्ब ३० लाख १३ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा पनि पोलिसी सरेन्डर ७.१३ प्रतिशतले बढेको हो ।

भदौमा कुन कम्पनीको कति सरेन्डर ?

चालु आर्थिक वर्षको साउनमा मात्रै जीवन बीमा कम्पनीहरुका बीमितहरुले १ अर्ब १८ करोड २० लाख रुपैयाँ बराबरको ९ हजार ३ सय ८६ वटा बीमालेखहरु त्याग गरेका छन ।

सबैभन्दा धेरै पोलिसी त्याग्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेको छन् । कम्पनीको २५४२ वटा बीमालेख वापत ४० करोड २९ लाख रुपैयाँको पोलीसी सरेन्डर भएको देखिन्छ । अघिल्लो महिना साउनमा कम्पनीको ४७ करोड २३ लाख रुपैयाँ बराबरको पोलीसी सरेन्डर भएको थियो । 

यो अवधिमा पोलिसी सरेन्डर गर्नेमा एलआईसी नेपाल दोस्रो नम्बरमा देखिएको छ । एलआईसी नेपालका बीमितहरुल १८२३ वटा बीमालेखहरुबाट २७ करोड ५८ लाख रुपैयाँ पोलिसी सरेन्डर गरेका छन् । 

त्यस्तै, नेशनल लाईफको १० करोड ५९ लाख रुपैयाँका ६९९ पोलिसी, राष्ट्रिय बीमा संस्थानको ९ करोड ८१ लाख रुपैयाँको ११३४ पोलिसी, हिमालयन लाईफको ८ करोड ४३ लाख रुपैयाँको ९५९ वटा पोलिसी, सर्यज्योती लाईफको ७ करोड ३१ लाख रुपैयाँको ४११ पोलिसी, एशियन लाईफको ४ करोड ८४ लाख रुपैयाँको ७५८ पोलिसी सरेन्डर भएका छन् । 

कुल १४ बीमा कम्पनीमध्ये साउन महिनामा सन नेपाल लाईफको सबैभन्दा कम पोलिसी सरेन्डर भएका छन् । कम्पनीको ४० लाख रुपैयाँको ४० वटा पोलिसी सरेन्डर भएको देखिन्छ । त्यस्तै आईएमई लाइफको ४७ करोडको ४१ वटा पोलिसी, रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको ७२ लाख रुपैयाँको १४२ वटा, प्रभ’ महालक्ष्मी लाइफ इन्स्योरेन्सको १ करोड १४ लाख रुपैयाँको ८४ वटा बीमा पोलिसी, सानिमा लाईफको १ करोड २३ लाख रुपैयाँको १५९ वटा पोलिसी, सिटिजन लाईफको १ करोड ६३ लाख रुपैयाँको २०३ वटा पोलिसी, मेट लाईफको ४ करोड ८४ लाख रुपैयाँको ७५८ वटा बीमा पोलिसी सरेन्डर भएका छन् । 

पोलिसी सरेन्डर किन बढ्दैछ ? 

बीमा प्राधीकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो पटकको बीमा पोलिसी सरेन्डर हुनुमा बजारमा देखिएको आर्थिक शिथिलतालाई प्रमुख कारण मान्छन् । 'पछिल्लो बीमा पोलिसी त्याग गर्नुमा आर्थिक क्षेत्रमा देखिएको मन्दीको असर हो जस्तो लाग्छ ।'  बिजपाटीसँग कुरा गर्दै उनले भने, 'विगतमा अभिकर्ताको कमिसनको लोभले एक संस्थामा गरिएको बीमा सरेन्डर गराएर अर्कोमा बीमा गराउने प्रवृत्ति बढी भएपनि अहिले त्यस्तो गर्नेको संख्यामा कमी आएको छ ।' प्राधीकरणले ल्याएको नयाँ नीतिका कारण त्यसो गर्ने अवस्था नरहेको उनको दाबी छ । अहिले प्राधीकरणले ल्याएको निर्देशिकामा पोलिसी खरिद गरेको ३ बर्ष नहुँदासम्म बीमा सरेण्डर गर्न नमिल्ने व्यवस्था छ । यद्यपी, त्यसमा पुरै अन्त्य भने नभएको उनले बताए । कार्यकारी निर्देशक पौडेलले बीमा पोलिसी सरेन्डर गर्र्न भन्दा पनि पोलिसी धितो राखेर कर्जा लिन उनले बीमितलाई सुझाए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved