बीमा कम्पनीलाई साधारणसभा गर्न वर्षेनी सकस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 12:48:18 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा कम्पनीहरुलाई ऐनमा गरिएको व्यवस्था अनुसार वार्षिक साधारणसभा गर्न वर्षेनी सकस परेको देखिन्छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका सबै कम्पनीहरुले हरेक आर्थिक वर्ष समाप्त भएको छ महिना अर्थात पुस मसान्तभित्र सम्ममा वार्षिक साधारणसभा सम्पन्न गरि सोको विवरण सम्बन्धित निकायमा पेश गर्नुपर्छ । तर नेपालमा बीमा व्यवसाय गर्न स्थापना भएका बीमा कम्पनीहरुमध्ये अधिकांशले उक्त समयमा साधारणसभा गर्न सकेको देखिदैन । 

समयमा साधारणसभा गर्न नसकेका बीमा कम्पनीले वर्षेनी हजारौं रुपैयाँ जरिवाना तिर्दै आएका छन् । 

यसपाली पनि निर्जीवन र जीवन बीमा गरी कुल २८ कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीले पुस मसान्तभित्र साधारणसभा गर्ने देखिएको छ । साधारणसभा प्रयोजनका लागि २१ दिने सूचना दिनुपर्ने हुन्छ । हालसम्म नेपाल इन्स्योरेन्सले मात्र वार्षिक साधारण सभा सम्पन्न गरेको छ । अन्य बीमा कम्पनीले भने पुस मसान्तभित्र साधारणसभा आह्वान गरेका छैनन् । यता, दुई पुनर्बीमा कम्पनीले भने गत आर्थिक वर्षको साधारण सभा पुस मसान्तभित्र गर्न सकेका छैनन्। 

बीमा ऐन २०७९ को दफा ८४ मा बीमकले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार गरी अर्को आर्थिक वर्षको छ महिनाभित्र  तोकिएको ढाँचामा प्राधिकरणमा पेश गर्नुपर्ने प्रावधान छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमकको वित्तीय विवरण तयार पार्नु अघि बीमा‌ंकीय मूल्यांकन प्रतिवेदन स्वीकृत गराउनु पर्ने हुन्छ । प्राधिकरणका अनुसार हालसम्म चार कम्पनीले मात्रै चालू आर्थिक वर्षको बीमाङ्गकीय मूल्यांकन स्वीकृत गराएका छन् । अर्को दुई बीमा कम्पनीले बीमाङ्गकीय मूल्याकनका लागि प्राधिकरणमा प्रतिवेदन बुझाएका छन् ।

प्राधिकरणका अनुसार मेट लाईफ इन्स्योरेन्स, सिटिजन लाईफ  इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडले बीमाङ्गकीय मूल्यांकन स्वीकृत गराएका छन् । त्यस्तै नेको इन्स्योरेन्सले माघ १२ गते साधारणसभा बोलाएको छ भने सिटिजन लाईफ इन्स्योरेन्सले माघ १४ गतेका लागि साधारणसभा बोलाएको छ ।  हिमालयन लाईफ इन्स्योरेन्सले पनि आज एक सुचना जारी गर्दै माघ १८ गतेका लागि साधारणसभा बोलाएको छ । 

बीमा कम्पनीहरूले ऐनमा उल्लेखित समयावधिमा साधारणसभा गर्न नसकेको यो पहिलो पटक भने होइन । विगतका वर्षदेखि बीमा कम्पनीहरुले तोकिएको समयमा साधारणसभा गर्न सकेको पाइंदैन । 

साधारणसभा ढिलाई हुनुमा नेपालमा बीमांकीय मूल्यांकन गर्ने जनशक्तिको अभाव नै प्रमुख कारण रहेको बताइन्छ । त्यसो त नेपालमा नै बीमांकीय मूल्यांकन गर्ने एक्चुरिको पढाई नेपालमा नै हुने गर्दछ । यद्यपी उक्त जनशक्तिलाई नेपालमा नै टिकाउन गाह्रो हुने गरेको पाइन्छ । नेपालमा बीमाक्षेत्र हेर्ने एक्चुरीको अभाव भएपछि भारतीय एक्चुरीका भरमा काम गर्नुपर्दा साधारणसभा गर्न ढिलाइ हुने गरेको अधिकारीहरु बताउँछन् ।

नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक पौडेल विगतका वर्षहरुमा जस्तै नेपालमा बीमांकीय मूल्यांकन गर्ने जनशक्तिको अभावका कारण नै वार्षिक साधारणसभा तोकिएको मितिमा गर्न नसकिएको बताउँछन् । उनका अनुसार विगतका वर्षको तुलनामा पछिल्लो समय बीमा कम्पनीले छिटो नै साधारणसभा गर्न लागेको दाबी गर्छन् । यसका लागि बीमा कम्पनीहरुले भ्यालूएशनको काममा लागेको उनले बताए । बिजपाटीसँग उनले भने, 'अहिले कम्पनीहरुको भ्यालूएशनको काम हुँदैछ । '

ऐनले दिएको समयावधिमा साधारणसभा नगर्ने बीमा कम्पनीलाई पुँजीका आधारमा जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको प्रधिकरणको भनाई छ  । प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलका अनुसार समयमा साधारणसभा नगर्ने बीमा कम्पनीहरूले जति बढी पुँजी भयो, त्यति बढी जरिवाना तिर्नुपर्ने व्यवस्था कम्पनी ऐनमा रहेको बताउँछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved