किन शाखा बन्द गरिरहेका छन् जीवन बीमा कम्पनी ? एकै कम्पनीको २३४ वटासम्म बन्द

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Apr 05, 2024 | 11:02:52 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो एक वर्षको अवधिमा जीवन बीमा कम्पनीका शाखा कार्यलयहरु उल्लेख्य मात्रामा बन्द भएका छन् । २०७९ फागुन देखि २०८० फागुनसम्मको एक वर्षको अवधिमा जीवन बीमा कम्पनीका ४१७ वटा शाखा बन्द भएको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।

यस अवधिमा शाखासँगै कर्मचारीको संख्या पनि घटेको छ । पछिल्लो एक वर्षमा जीवन बीमा कम्पनीमा २६४ जना कर्मचारी घटेका हुन् । 

प्राधिकरणका अनुसार सबैभन्दा धेरै हिमालयन लाईफ ईन्स्योरेन्सको शाखा बन्द भएका छन् । पछिल्लो एक वर्षको अवधिमा हिमालयन लाईफका २३४ वटा शाखा बन्द भएका हुन् । यस्तै हिमालयन लाईफबाट १८९ जना कर्मचारीले जागिर छाडेका छन् । धेरै शाखा बन्द हुनेको दोस्रो नम्बरमा रहेको छ सानिमा रिलायन्स लाईफ । जसको ६७ वटा शाखा र ४२ जना कर्मचारी घटेका छन् । यसैगरी, सन नेपाल लाईफको ५० वटा शाखा बन्द भएका छन् भने ९ जना कर्मचारी घटेका छन् । त्यस्तै, प्रभु महालक्ष्मीको ४९ वटा शाखा र ६७ जना कर्मचारी घटेको प्राधिकरणको तथ्यांकले देखाउँछ ।

हचुवाको भरमा खोलिएका शाखा बन्द भए : प्राधिकरण

नियामक निकाय नेपाल बीमा प्राधिकरण कम्पनीका शाखा बन्द हुनुमा विभिन्न कारण रहेको बताउछ।   कम्पनीहरु मर्ज हुनु, आर्थिक शिथिलता र कम्पनीहरुले हचुवाको भरमा शाखा विस्तारले गर्दा अहिले शाखा बन्द गर्नु पर्ने अवस्था आएको जनाएको छ । 

प्राधिकरणका निर्देशक दिनेश लाल कर्णले मर्ज भएरका कम्पनीहरुले साविकका कम्पनीहरुका नजिक रहेका शाखा बन्द गरेको बताए । त्यसैगरी उनले कम्पनीहरुले शाखा विस्तार गर्दा सो स्थानको बारेमा अध्ययन नगरि शाखा विस्तार गरेकोले अहिले शाखा बन्द गरेको उल्लेख गरे। त्यसरी विस्तार गरिएका शाखाहरुबाट खर्च मात्र बढेका कारण त्यस्ता शाखा कम्पनीहरुले बन्द गरेको उनको भनाई छ। 

यसैगरी आर्थिक शिथिलताले समग्र बीमा क्षेत्रलाई पनि नकारात्मक असर गरेकोले त्यसको असर देखिएको निर्देशक कर्ण बताउछन् । पहिला राम्रोसँग बिजनेश दिएका शाखाहरु पनि अहिले शिथिलताको कारण घाटामा चलाउनु पर्ने स्थिति आएकाले ति शाखाहरु बन्द गर्न कम्पनीहरु बाध्य भएको उनी बताउछन् । 

के भन्छन् जानकार ?

जानकारहरु पनि कम्पनीहरुको शाखा बन्द हुनुको कारणबारे प्राधिकरणका निर्देशक कर्णको भनाईसँग सहमत देखिन्छन् । हिमालयन लाईफ ईन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले जीवन बीमा कम्पनीका शाखा घट्नुमा मुख्यत ४ कारण रहेको बताएका छन् । उनका अनुसार शाखा बन्द हुनुको मूख्य कारण मर्जर हो । त्यसपछि बीमाको ब्यापार घट्नु, जनशक्ति विदेश पलायन हुनु, र विगतमा धेरै शाखा खुल्नु नै अहिले शाखा बन्द हुनुको मूख्य कारण भएको उनले बताए ।

त्यस्तै बीमा विज्ञ रमेश कुमार भट्टराईले विशेषगरी जीवन बीमा कम्पनीहरुले आक्रामक तरिकाले शाखा विस्तार गरेको र ति विस्तारित शाखामध्ये घाटा व्यहोर्नुपर्ने शाखाहरु कम्पनीले बन्द गर्ने गरेको बताए । 

उनले तत्कालीन बीमा समितिले १० वटा कम्पनीलाई जीवन बीमाको लाईसेन्स दिएपछि ति कम्पनीहरुले आक्रमक रुपमा शाखा विस्तार गरेका र घाटा भएका शाखाहरु अहिले बन्द गर्नुपरेको बताए । तर, मर्जर भएर आएका कम्पनीहरुको शाखा घट्नु स्वाभाविक रहेको उनी बताउछन्। 

प्रभु महालक्ष्मी लाईफका निवर्तमान प्रमुख कार्यकारी अधिकृत समेत रहेका भट्टराईका अनुसार निर्जीवन बीमकले भने जीवन बीमक सरह पहिला शाखा विस्तार गरेका थिएनन् । पछि निर्जीवनले शाखा विस्तारै बढाउँदै लगेको र जीवनले घटाउँदै लैजादाँ निर्जीवनको बढेको र जीवनको घटेको देखिएको उनले बताए । 

निर्जीवन बीमा कम्पनीको शाखा बढ्यो 

जीवन बीमा कम्पनीको शाखा र कर्मचारी कम हुँदै गर्दा निर्जीवन बीमा कम्पनीको शाखा संख्या भने बढेको छ। २०७९ फागुन देखि २०८० फागुनसम्मको अवधिमा  निर्जीवन बीमा कम्पनीका २६ शाखा बढेका छन्। यस अवधिमा निर्जीवन बीमा कम्पनीका २८ कर्मचारी घटेका छन् । निर्जीवन तर्फ मर्जर भएका अधिकांश कम्पनीको शाखाहरु बन्द गरेपनि अन्य कम्पनीहरुले शाखा विस्तार गरेका छन् ।

शाखा बन्द गर्ने कम्पनीमा आईजीआई प्रुडेन्सियल, यूनाईटेड अजोड र सगरमाथा लुम्बिनी रहेका छन् । यी कम्पनीको क्रमश १८, ११ र ५ शाखा बन्द भएका छन् । मर्ज भएर आएका अन्य २ कम्पनी सिद्दार्थ प्रिमियर ईन्स्योरेन्स र सानिमा जिआईसीले भने शाखा थप गरेको छ । सिद्दार्थले थप एक शाखा विस्तार गर्दा सानिमा जिआईसीले ७ वटा शाखा शिस्तार गरेको छ । 

मर्जरमा नगएका मध्येमा नेको ईन्स्योरेन्सले धेरै शाखा विस्तार गरेको छ । नेकोले पछिल्लो एक वर्षमा २५ वटा शाखा विस्तार गरेको छ । नेकोले शाखा विस्तारसँगै कर्मचारी पनि थप गरेको छ । नेकोले पछिल्ले एक वर्षमा ८५ जना नयाँ कर्मचारी थपेको हो । 

कर्मचारी कटौति गर्नेमा पहिलो नम्बरमा सिद्दार्थ प्रिमियर रहेको छ । सिद्दार्थले पछिल्लो एक वर्षमा ६० कर्मचारी कटौति गर्दा यूनाईटेड अजोडले ४३ र सगरमाथा लुम्बिनीले ३४ जना कर्मचारी कटौति गरेको छ । 

महालक्ष्मी लाइफ इन्स्योरेन्सका निवर्तमान प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई निर्जीवन बीमकले जीवन बीमक सरह पहिला शाखा विस्तार नगरेको बताउछन् । पछि निर्जीवनले शाखा विस्तारै बढाउँदै लगेको र जीवनले घटाउँदै लैजादा निर्जीवनको शाखा बढेको र जीवनको घटेको देखिएको उनको भनाई छ।

त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कर्ण पनि  निर्जीवनले विगतमा शाखा विस्तार जीवनको तुलनामा धेरै कम गरेकाले अहिले निर्जीवनको शाखा बढेको बताउछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved