बिवाईडी विद्युतीय गाडी बिक्रेता साइमेक्समाथि भन्सार छलीको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2023 | 10:18:01 AM मा प्रकाशित

laxmi  sunrise bank

बिवाईडी विद्युतीय गाडीको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इंकमाथि भन्सार छलीको आरोप लागेको छ। भन्सार छलेको आरोपमा भन्सार जाँचपास परीक्षण कार्यालयले बिवाइडी बिक्रेतामाथि अनुसन्धान अघि बढाएको छ। 

भन्सारमा घोषणा गरेको मूल्यमा ठूलो कैफियत देखिएकाले भन्सार छलीको सम्भावाना देखिएकाले अनुसन्धान अघि बढाईएको कार्यालयले जनाएको छ। केही दिनको अन्तरमा गाडी आयात गर्दा कम्पनीले अघिल्लो पटक ल्याउँदाको तुलनामा पछिल्लो पटक ल्याउँदा भन्सार विन्दूमा देखाएको मूल्यमा अस्वभाविक फरक पाइएकाले छानबिन अघि बढाएको कार्यालय स्रोतले जनाएको छ। 

‘हिजो गाडी ल्याउँदा एउटा मूल्य र आज ल्याउँदा अर्को मूल्य हुने सम्भावना खास परिस्थिति (बजेट भाषणको भोलिपल्टको दिन छ भने) मा बाहेक अरु बेला हुँदैन’ स्रोतले भन्यो, ‘तर एक दुइ दिनको अन्तरमा उसले गाडी ल्याउँदा मूल्यमा अस्वभाविक अन्तर देखाएको पाइयो, त्यसपछि शंका लागेर उसका १० वटा गाडी आयात गर्दाका कागजात अहिले भन्सार जाँसपाँस परीक्षण कार्यालयले हेरिरहेको छ ।’

भन्सार जाँसपाँस परीक्षण कार्यालय स्रोतका अनुसार बिवाईडीले एट्टो–३ मोडलका विद्युतीय गाडी ल्याउँदा भन्सार छली गरेको आशंका गरिएको छ । कार्तिकमै भन्सार जाँसपास परीक्षण कार्यालयले अनुसन्धान तथा छानबिन अघि बढाएको थियो । तर, छानबिन सुरु हुनासाथ चाडवाडको बिदा सुरु भयो । यहीँ बीचमा फाइल हेरिरहेकी अधिकृतको पनि सरुवा भयो । ति अधिकृतको सरुवा भएपछि नयाँ अधिकृत आउन समय लाग्दा छानबिन प्रक्रिया रोकिएको थियो । तर, अहिले नयाँ अधिकृत पनि आइसकेकाले छानबिन प्रक्रिया अघि बढेको छ । अबको केही दिनमै साइमेक्स इंकका प्रतिनिधिसँग ति अधिकृतले बयान लिनेछन् ।

‘यस सम्बन्धमा बयान लिन भनेर कम्पनीका प्रतिनिधिलाई बोलाइएको थियो, उहाँ (यमुना श्रेष्ठ, कम्पनीकी प्रवन्ध निर्देशक) आउनु भएको पनि थियो, तर ठिक त्यसै बेला फाइल हेरिरहनु भएकी अधिकृतको सरुवा भयो, सरुवा भएपनि त्यो दिन (यमुना श्रेष्ठ बयान दिन गएको दिन) यहीँ हुनुहुन्थ्यो, तर सरुवा भइसकेको व्यक्तिले बयान लिँदा राम्रो हुँदैन भनेर उहाँ (सरुवा भएकी अधिकृत)ले नै बयान लिनु भएन’ स्रोतले भन्यो, ‘अहिले फेरि हामीले बयानका लागि तयारी भएर बस्नुहोस् भनेर खबर पठाएका छौँ, उहाँहरुलाई कम्पनीका सञ्चालक आफैँले आएर बयान दिएपनि हुन्छ, कानुन व्यवसायी पठाएपनि हुन्छ भनेका छौँ, अबको केही दिनमै बयान लिने काम हुन्छ ।’

कार्यालयका एक जना अधिकारीले अहिलेसम्म कागजात हेर्ने मात्रै काम भएकाले के कति मात्रामा भन्सार छली गरेको हो भन्ने यकिन भइनसकेको बताए ।

‘बयान लिनै बाँकी छ, अहिले कागजात शंकास्पद देखिएकाले त्यसको सुक्ष्म अनुसन्धान गरिरहेका छौँ’ ति अधिकारीले भने, ‘छानबिन सकिएपछि मात्रै यति रकम बराबर भन्सार छली गरेको देखियो भनेर भन्न सक्ने अवस्था हुन्छ । यदि भन्सार छलेकै हो रहेछ भने कति छली गरेको हो त्यति अशुल गर्ने र त्यति नै बराबर जरिवाना गर्ने व्यवस्था छ।’

यस विषयमा भन्सार विभागले भने आफूहरु जानकार नहुने र सबै काम भन्सार जाँसपास परीक्षण कार्यालयले गर्ने बताएको छ । विभागका प्रवक्ता पुण्य विक्रम खड्काले भन्सार जाँसपास परीक्षण कार्यालयले केही कैफियत फेला पारेर कागजात पुनः परीक्षण गरिरहेको हुन सक्ने भएपनि आफूलाई कुनै जानकारी नरहेको बताए।

‘भन्सार जाँसपास परीक्षण कार्यालयले केही कैफियत भेट्टाएर पुनः कागजात परीक्षण गरिरहेको हुन सक्छ, भन्सार जाँसपास भइसकेपछि पनि उसलाई शंका लाग्यो भने कागजात झिकाएर हेर्ने अधिकार छ’ खड्काले भने, ‘यस विषयमा विभाग खास जानकार हुँदैन, सबै काम जाँसपास परीक्षण कार्यालयबाटै हुन्छ।’

यस विषयमा हामीले बिवाईडी गाडीको बिक्रेता साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठसँग जिज्ञासा राख्दा उनी सम्पर्कमा आइनन् । फोन नउठाएपछि सम्बन्धित जिज्ञासासहित म्यासेज पठाउँदा कुनै प्रत्यूत्तर नपाएपछि पुनः फोन सम्पर्क गर्दा उनको फोन अफ रहेको पाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved