नाडामा गोल्छा र चौधरी भिड्ने निश्चित, कसको टिममा को को छन् उम्मेदवार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2023 | 01:16:58 PM मा प्रकाशित

laxmi  sunrise bank

अटोमोबाइल्स व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल्स एसोसियन अफ नेपालमा चुनावी सरगर्मी सुरु भएको छ । नाडाले अगामी पुस २० र २१ गते ४७ औं साधारणसभा गर्ने निर्णय गरिसकेकाले विभिन्न पदका आकांक्षीहरु चुनावी माहोल बनाउन लागि परेका हुन् । 

नाडाको विधान अनुसार अध्यक्ष र १७ जना सदस्य पदमा निर्वाचन हुनेछ । निर्वाचित सदस्य मध्येबाट पदाधिकारी चयन हुनेछन् । हालसम्म अध्यक्षमा २ जनाले प्यानल नै बनाएर चुनाव लड्ने तयारी गरिरहेको पाइएको छ । स्रोतका अनुसार अध्यक्ष पदमा पूर्व उपाध्यक्षहरु आकाश गोल्छा र करण चौधरीले प्यानल नै बनाएर चुनाव लड्ने तयारी गरिरहेका छन् । चौधरी गत निर्वाचनमा पनि अध्यक्षका प्रत्याशी थिए । उनी ध्रुब थापासँग पराजित भएका थिए । यसपटक फेरि उनी अध्यक्षमा निर्वाचन लड्ने तयारी गरिरहेका छन् ।

प्राप्त सूचना अनुसार गोल्छाले पूर्व अध्यक्षहरुको समर्थनमा हालसम्म १० जनाको टिम बनाइसकेका छन् । बाँकी ७ जना पनि आज नै टुङ्गो लगाउने तयारीमा उनी देखिएका छन् ।

गोल्छाको समूहबाट निराकार श्रेष्ठ, सुनिल रिजाल, बिक्रम सिंघानिया, प्रदीपमान प्रधान, यमुना श्रेष्ठ, रिद्धि कार्की, सगुन वीर सिंह, प्रकाश सिग्देल, सोहन श्रेष्ठ र मेघराज पौडेलको नाम पक्का भएको छ । 

स्रोतका अनुसार करण चौधरीले पनि हालसम्म आफूसहित ९ जनाको नाम टुङ्गो लगाइसकेका छन् । चौधरीको टिममा राजनबाबु श्रेष्ठ, सुरेश उप्रेती, मिलनबाबु मल्ल, पंकज अग्रवाल, नारायण पौडेल, नवराज भुसाल, निलमणी पाठक र अभिक ज्योतिको नाम टुङ्गिसकेको बताइन्छ ।

कसको समर्थन कसलाई ?

नाडामा पूर्व अध्यक्ष र कर्पोरेट हाउसहरुको समर्थन कसलाई हुन्छ भन्ने कुराले निर्णायक अर्थ राख्ने अटोमोबाइल्स व्यवसायीहरु बताउँछन् । बहालवाला अध्यक्षले भावी अध्यक्ष कसलाई बनाउन चाहन्छन् भन्ने कुराले पनि विशेष महत्व राख्ने गरेको इतिहास छ । यसपटक हालका अध्यक्ष ध्रुब थापाले आकाश गोल्छालाई सघाउने बुझिएको छ ।

यसबाहेक, पूर्व अध्यक्षहरुमा निर्णायक मानिने शेखर गोल्छा र अन्जन श्रेष्ठले आकाश गोल्छालाई समर्थन गरेका छन् । लक्ष्मी ग्रुपबाट लक्ष्मी हुण्डाइका निर्देशक निराकार श्रेष्ठ नै गोल्छाको समूहबाट प्रतिस्पर्धा गर्न लागेका छन् । गोल्छा अर्गनाइजेशनको प्रतिनिधित्व गर्दै जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् ।

साइमेक्स इंक (बीवाईडी)बाट यमुना श्रेष्ठ पनि गोल्छा समूहबाटै चुनाव लड्ने पक्का भएकाले यो ग्रुपको समर्थन पनि उनैलाई हुने छ । 

उता करण चौधरी पनि चौधरी ग्रुपको प्रतिनिधित्व गर्दै दोस्रो पटक अध्यक्ष पदमा चुनाव लड्दैछन् । ठूलो संख्यामा भोट होल्ड गर्ने समूह भनिने टाटा मोर्टर्स (सिप्रदी)ले चौधरीलाई समर्थन गर्दैछ । यो कम्पनीका सीईओ राजनबाबु श्रेष्ठ चौधरीकै समूहबाट उपाध्यक्ष लड्ने भएका छन् । उनी आफैँ अध्यक्षको आकांक्षी भएपनि पछिल्लो समय बिग्रदो मोहालले गर्दा उनी ‘ब्याक’ भएर चौधरी समूहको छत्रछाँयामा पुगेको बताइन्छ । 

त्यस्तै, आईएमई ग्रुप र ज्योति ग्रुपले पनि चौधरीलाई समर्थन गर्न लागेको बताइएको छ ।

नाडाका अध्यक्ष थापाले भने सकेसम्म सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन होस् भन्ने पक्षमा आफू रहेको बताउँदै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved