एमजीको विद्युतीय गाडीमा आगलागी भएको विषयमा पारामाउण्ट मोटर्सले दियो यस्तो प्रष्टिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2024 | 03:12:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एमजी ब्राण्डको एक विद्युतीय गाडीमा आगलागी भएको विषयमा उक्त ब्राण्डका गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले फेरि स्पष्टीकरण दिएको छ । कम्पनीले गाडीमा समस्या आएका कारण आगलागी भएको नभई विद्युत्‌को तार सर्ट भएर आगलागी भएको कुरा गाडी धनी आफैँले समेत बताउँदै आएको र अनुसन्धानले पनि त्यहीँ देखाएको जनाएको छ । 

कम्पनीले गाडी धनीले कम्पनीसँग कुनै क्षतिपुर्ति माग नगरेको अवस्थामा समेत जथाभाबी प्रचार भइरहेको भन्दै यसमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । यद्यपी, बीमा दाबीको प्रक्रिया अघि बढेको र कानुनबमोजिम पाउनुपर्ने बीमा बापतको रकम भुक्तानीको प्रक्रिया अघि बढेको कम्पनीको दाबी छ ।

पारामाउन्ट मोटर्सले कम्पनीको झापास्थित डिलरबाट २०७८ सालको फागुन १० गते एमजी ईजेडएस ईभी बिक्री भएको र सो गाडीको दर्ता नम्बर बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बर रहेको जनाएको छ । उक्त गाडीमा गत पुस ९ गते आगलागी भएको थियो । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ देउवाचोकमा चार्जमा राखिएको अवस्थामा गाडीमा आगलागी भएको थियो । 

कम्पनीले उक्त घटनामा क्षतिपुर्ति दिन आनकानी गरिरहेको भन्ने खालका समाचार आएपछि ग्राहकसँग यस सम्बन्धमा कुनै पनि खालको सम्झौता नगरेको दाबी गरेको छ । 

‘गाडी धनीले मिति २०८०/०९/०९ गते गाडीमा आगलागी भएपछि तत्कालीन अवस्थामा स्थानीय प्रहरी प्रभाग बूढानीलकण्ठमा फोन गरी घटनाको बारेमा जानकारी दिँदा नै विद्युत्‌को तार सर्ट भई आगलागी भएको बेहोरा निजले नै फोनबाट टिपाएको भन्ने स्थापित तथ्य सो मितिमा प्रहरीबाट भएको मिति २०८०/०९/०९ को सर्जिमिन (घटनास्थल मुचुल्का) बाट नै पुष्टि भइरहेको अवस्थामा प्रेस विज्ञप्ति निकाल्ने बखत सिर्जना गरिएको तथ्य होइन भन्ने कुरा स्पष्ट पार्न चाहन्छौँ’ पारामाउण्ट मोटर्सले भनेको छ ।

घटना पश्चात ग्राहकलाई एक साताभित्र क्षतिपूर्ति दिने प्रतिवद्धता जनाएको विषय झुटो भएको पारामाउन्टले जनाएको छ ।

‘सम्बन्धित ग्राहकले यस कम्पनीलाई आजको मितिसम्म क्षतिपूर्ति प्राप्त गर्न कुनै पनि अनुरोध नगरेको र अर्कोतर्फ यस कम्पनीको आधिकारिक व्यक्तिबाट क्षतिपूर्ति दिने सम्बन्धमा कुनै पनि प्रतिवद्धता व्यक्त नगरिएको यथार्थसमेत सबैको लागि जानकारी गराइन्छ’ कम्पनीले भनेको छ ।

आगलागी भएको गाडीको सम्बन्धमा गाडी उत्पादक कम्पनी एसएआईसी मोटर इन्टरनेसनल को. लि. चाइनाले अध्ययन गरी प्रतिवेदन उपलब्ध गराएको पारामाउन्टले जनाएको छ । उत्पादक कम्पनीको प्राविधिक विश्लेषण तथा अध्ययनबाट गाडीमा आगो अगाडिबाट पछाडितर्फ बलेको तथा मेकानिकल फेलियर नभएको देखिएको दाबी गरिएको छ ।

कम्पनीले हिउँदे शीत परी भुइँ ओसिलो हुने मौसमको बखत गाडीलाई रातभरि घरबाट करिब १५ मिटर तार तानी खुला आकाशमुनि पावर सकेट राखी चार्ज गरेको र गाडी चार्ज गर्दा प्रयोग गर्नुपर्ने मापदण्ड अनुसारको तार र पावर सकेटसमेत प्रयोग भएको नदेखिएको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved