१३० यात्रु बोकेको जहाज उडाउँदा-उडाउँदै नेपाल एयरलायन्सका पाइलट निलम्बनमा परेपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2023 | 05:12:29 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

कुनै पनि काम एउटा गतिमा गइरहेका बेला एक्कासी रोक लगाइयो भने के होला ? त्यस्तै घटना नेपालको उड्डयन क्षेत्रमा हालै घटेको छ । एक जना पाइलट ३४ हजार फिट माथि १३० यात्रु बोकेको जहाज उडाउँदै गर्दा निलम्बन परेपछिको परिस्थिति कल्पना गर्न सक्नुहुन्छ ? अनुमान गर्न गाह्रो होला । धन्न उनले निलम्बनको चिठी जहाज अवतरण भएपछि मात्रै थाहा पाए, नत्र यस्ता गतिविधिले ठुलो दुर्घटना निम्त्याउने खतरा पनि हुनसक्छ । 

घटना गत मंगलबारको हो । त्यसदिन साँझ नेपाल एयरलाइन्सका क्याप्टेन रविन्द्र शेरचन र कोपाइलट प्रचण्ड खड्का हङकङबाट १३० यात्रु बोकेर काठमाडौँ गन्तव्यका लागि निगमको न्यारोबडी जहाज उडाइरहेका थिए । 

आरए–४१० उडान नम्बरको न्यारोबडी जहाज चीन, बर्मा, बङ्गलादेश र भारत हुँदै नेपाल आउने रुट थियो । क्याप्टेन शेरचनले जहाजलाई ३४ हजार फिटमाथि उडाइरहेका थिए । साँझ ७ बजेको समयमा उक्त जहाज चिनियाँ आकाशमाथि उड्दै थियो । तर, त्यति नै खेर क्याप्टेन शेरचन कारबाहीमा परे । आकाशमा जहाज उडाइरहेका क्याप्टेनलाई नेपाल एयरलाइन्सले ‘अनिश्चितकाल’का लागि निलम्बन गर्यो ।

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्याप्टेन शेरचनलाई आकाशमा जहाज उडाइरहेकै बेला इमेल पठाएर निलम्बन गरेका थिए । चैत २८ गते राती १०ः२० बजे जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि क्याप्टेन शेरचनले आफ्नो इमेलमा आफूलाई निलम्बन गरिएको पत्र देखे ।

अध्यक्ष अधिकारीले चैत १८ गते कोपाइलटको अभाव भएर वाइडबडी जहाज काठमाडौँ–दुबई उडान हुन नसकेको विषयमा क्याप्टेन शेरचनलाई निलम्बन गरेका थिए । अपरेशन विभागको जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै अनुसन्धान समितिको प्रारम्भिक रिपोर्टका आधारमा निलम्बन गरिएको दाबी अध्यक्ष अधिकारीले पत्रमा गरेका थिए । 

जब त्यो पत्र उनको मेलको इन्बक्समा पुग्यो त्यतिबेला क्याप्टेन जहाज उडाइरहेका थिए । जहाज उडाइरहेका क्याप्टेनलाई आकाशमै हुँदा सामान्य संवेदनशीलताको समेत ख्याल नगरी निलम्बन गरेको विषयमा नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।

‘गत ११ अप्रिल २०२३ का दिन काठमाडौँ–हङकङ–काठमाडौँ उडानमा रहेका प्रमुख वायुयान चालक क्याप्टेन आरके शेरचनलाई निलम्बन गर्दाका क्रममा उडान सुरक्षामा प्रतिकुल असर पर्न सक्ने अबस्थालाई ध्यानमा राखेको नपाइएको’ भन्दै क्यानले वैशाख ३ गते आइतबार अध्यक्ष अधिकारीलाई ३ दिनभित्र  पेश गर्नेगरी स्पष्टिकरण सोधेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved