दैनिक ६ सय पर्यटक पुग्ने मन्थली विमानस्थलमा हातैले गरिन्छ ब्यागेज जाँच

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 18, 2023 | 11:57:39 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटकीय सिजन सुरु भएसँगै लुक्लामा हुने हवाइ उडान हाल रामेछापको मन्थली विमानस्थलबाट भइरहेको छ । मन्थलीबाट दैनिक ६० बढी उडान अवतरण भइरहेको छ । तारा, समिट र सीता एयरले मन्थली–लुक्ला–मन्थली उडान गर्दै आएका छन् ।

काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडानको चाप हुन नदिन विकल्पका रुपमा हरेक पर्यटकीय सिजनमा मन्थली विमानस्थललाई आधार बनाएर एयरलाइन्सहरुले पर्यटकलाई सोलुखुम्बुको लुक्ला पुर्याउने गरेका छन् । दैनिक औसतमा ६ सय जना पर्यटक मन्थलीबाट लुक्ला पुग्छन् ।

मन्थली विमानस्थलमा पूर्वाधारको अभाव हुँदा पर्यटकहरुले सास्ती वेहोर्नुपरिरहेको छ । मुख्य समस्या भनेको मन्थली एयरपोर्टमा ‘एक्सरे मेशिन’ (ब्यागेज स्क्यानर) छैन । पर्यटकहरुले काठमाडौँबाट प्याक गरेर लगेका सामानहरु मन्थली विमानस्थलमा एक्सरे मेशिन नहुँदा बोर्डिङका क्रममा हातले खोतलेर चेकजाँच गर्नुपर्ने बाध्यता छ ।

यसले पर्यटकहरुमा नेपालबारे नकारात्मक धारणा पैदा गर्ने जोखिम रहेको र सुरक्षामा खटिएका प्रहरीले हातैले सामान जाँच गर्नुपर्दा समय पनि बढी लाग्ने गरेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले बिजपाटीलाई बताएका छन् । 

‘एक्सरे मेशिन नहुँदा हरेक झोला खोतलेर सामान जाँच गर्नुपर्ने अवस्था छ, यस्तो संसारमा कहीँ पनि हुँदैन, मुख्य समस्या यही नै छ’ उनी भन्छन्, ‘यसले पर्यटकहरुले नेपालबारे नकारात्मक धारणा बनाउन सक्छन् । ट्रेकिङ हिडेका पर्यटक हुन सक्छ, हिमाल आरोहणमा आएको हुन सक्छ । उसले ट्रेकिङ कम्पनीमार्फत काठमाडौँबाटै चाहिने सबै सामान प्याक गरेर लगेको हुन्छ, तर मन्थलीमा सबै झोला खोतल्नुपर्ने अवस्था छ । यसले समय पनि बढी खर्च भइरहेको छ ।’

रामेछाप विमानस्थलकी एयर ट्राफिक कन्ट्रोलर सरिता पाण्डेले पनि एक्सरे मेशिन नहुँदा समस्या भइरहेको बताएकी छिन् । उनले पर्यटकहरुले झोलामा ल्याएका सामान झोला खोतलेर ‘म्यानुअल्ली’ हर्नुपर्दा समस्या भइरहेको र समय पनि बढी लागिरहेको गुनासो स्वभाविक भएको बताएकी छिन् ।

‘एक्सरे मेशिन हुँदा फटाफट हुन्थ्यो, नहुँदा समय बढी लागिरहेको छ, झोलाबाट हातले सामान झिकेर हेरेर जाँच गर्नुपर्ने अवस्था हुँदा धेरै यात्रु हुने भएकाले निकै समय लागिरहेको छ’ उनले भनिन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मन्थली विमानस्थलमा एक्सरे मेशिन जडान गरिने बताएको छ । क्यानले यसअघि नै मन्थली विमानस्थलमा एक्सरे मेशिन जडान गर्ने विषयलाई आफ्नो योजनामा राखेको भए पनि बजेट स्वीकृत नभएपछि यो सिजनमा राख्न नसकिएको तर, अर्को सिजनको उडान हुनु पूर्व एक्सरे मेशिन राख्ने गरी तयारी अघि बढाइएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

‘यसपालीको उडान सुरु हुनु अगाडि नै राख्ने प्लान थियो, बजेट स्वीकृत नभएपछि रोकियो, अब अर्को सिजन सुरु हुनुभन्दा अगाडि नै मन्थली विमानस्थलमा एक्सरे मेशिन राखिसक्छौँ’ उनले भने, ‘प्लानिङमा भएकै काम हो, हरेक सिजनमा त्यहाँबाट उडान गर्ने भइसकेपछि राख्नै पर्छ, टेण्डर गरेर दुइ तीन महिनामै राखिसक्ने योजनामा छौँ ।’

एउटा ब्यागेज स्क्यानर मेशिनको मूल्य १० हजार अमेरिकी डलरभन्दा माथि पर्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved