काठमाडौँकै आकाशमा ठूलो आवाजसहित आगो देखिएको जहाज कसरी दुबई पुग्यो ? अब के हुन्छ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 25, 2023 | 06:09:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार राती ९ः२५ बजेको समयमा काठमाडौँको आकाशमा ठूलो विस्फोट भए जस्तो वा चट्याङ परे जस्तो आवाज आयो । मानिसहरुले जहाजमा आगोको लप्का देखे । केहीले भिडियो पनि खिच्न भ्याए । उक्त जहाज काठमाडौँबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाज थियो ।

काठमाडौँ विमानस्थलबाट सोमबार राती ९ः१९ बजे १६८ यात्रु र चालक दलका ७ सदस्य गरी १७५ यात्रु बोकेर दुबईका लागि उडेको फ्लाइ दुबईको बोइङ ७३७ जहाज काठमाडौँकै आकाशमा समस्या देखिएको थियो । जहाजले काठमाडौँकै आकाशमा निकै फन्कोसमेत लगाएपछि ठूलो दुर्घटनाको जोखिम बढेको थियो ।

जहाज ‘टेक अप’ भएको करिब ९० सकेण्डमै बायाँ इन्जिनमा समस्या आएको जानकारी पाइलटले एयर ट्राफिक कन्ट्रोललाई गराएका थिए । यसपछि जहाज फर्केर काठमाडौँ विमानस्थलमै अवतरण हुने तयारी पनि भयो । उड्न ठिक्क परेका अरु जहाजहरुलाई रोकियो, ल्याण्ड हुन प्रवेश विन्दु (गुरासे प्वाइन्ट)मा आइपुगेका जहाजहरुलाई पनि होल्ड गराइयो । केही समय जहाज आकाशमै घुमेर फ्यूल कम भएपछि ल्याण्ड हुने भन्दै सेना र प्रहरीसहित अग्नि नियन्त्रणका उपकरणहरु पनि ‘स्ट्यान्ड बाइ’ अवस्थामा राखियो ।

जहाजमा समस्या देखिएपछि पाइलटले कोड भाषामार्फत एटीसीलाई ‘मेडे, मेडे’ भने । एभियसनको भाषमा मेडेको अर्थ ‘समस्यामा छु’ भन्ने हुन्छ । पाइलटले मेडे भनेपछि जहाज ‘फोर्स ल्याण्ड’ गर्नुपर्ने अवस्था आउँछ र सोही अनुसार फोर्स ल्याण्डका लागि विमानस्थललाई तयारी अवस्थामा राखियो ।

आकाशमा जहाज घुमिरहेकै अवस्थामा पाइलटले ‘प्यारामिटर’हरुले काम गर्न थालेको र काठमाडौँमा फर्केर ल्याण्ड नहुने भन्दै गन्तव्यतर्फ नै उडानलाई निरन्तरता दिने जानकारी एटीसीलाई दिए । एटीसीले यो सूचना ‘सर्कुलर’ गराए । यसपछि करिब ३५ मिनेट बन्द भएको त्रिभुवन विमानस्थल राती १० बजेबाट सञ्चालन गरियो । उक्त जहाज पनि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको स्थानीय समय अनुसार राती १२ः१० बजे सुरक्षित अवतरण भयो ।

नेपालले छानबिन गर्दैन ?

‘मेडे मेडे’ भन्दै समस्यामा रहेको जानकारी गराएका पाइलटले जहाजलाई किन काठमाडौँमै अवतरण गराएनन् भन्ने चासो अहिले सर्वत्र छ । तर, नेपाल नागरिक उड्डययन प्राधिकरणले भने नेपाली आकाशमा हुँदा नै जहाजको समस्या देखिएको भए पनि आकाशमै समस्या समाधान भयो भनेर पाइलटले गन्तव्य देशमै जहाज पुर्याएकाले यसको अनुसन्धान नहुने बताएको छ । 

‘यो घटनाको नेपाल पक्षबाट अनुसन्धान हुँदैन’, प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘कुनै अप्रिय घटना भएन, घटना भएको हुन्थ्यो भने अनुसन्धान हुन्थ्यो तर घटना पनि नभएको र जहाज पनि नेपाली नभएकाले यसबारे केही पत्रहरु सम्बन्धित देशको सिभिल एभियशन हेर्ने निकायमा पठाउँछौँ, आजै पनि केही गइसकेका छन् ।’ दुबईको सिभिल एभियशन हेर्ने निकायमा पत्र पठाएकाले अब थप छानबिन गर्ने, नगर्ने सम्पूर्ण जहाज दर्ता भएको देश भएकाले यूएईको हुने निरौला बताउँछन् । 

समस्या देखिएपछि किन जहाज फर्केर  ल्याण्ड गरेन वा पाइलटले किन गराएनन् भन्ने विषय पनि दुबईको ‘फ्लाइट सेफ्टी रुल्स’ कै विषयभित्र पर्ने भएकाले त्यहीँको रुल्स अनुसार पाइलटले काम गरेको हुनसक्ने भएकाले यसबारे पनि नेपालले केही भन्न नमिल्ने बताए ।

चरा ठोक्किएको हल्ला गलत

जहाजमा चरा ठोक्किएको हल्ला गलत भएको प्राधिकरणले जनाएको छ । हिजोको घटना जहाजमा चरा ठोक्किएर भएको भन्ने हल्ला फैलिएपछि प्राधिकरणले फ्लाई दुबईका अधिकारीहरुलाई कारबाही गरेको छ । प्राधिकरणका अनुसार फ्लाइ दुबईका नेपालस्थित ‘कन्ट्री म्यानेजर’ र एयरपोर्ट म्यानेजरलाई कारबाही गरिएको हो । 

उनीहरुलाई  विमानस्थल प्रवेशमा रोक लगाइएको प्राधिकरणले जनाएको छ । उनीहरुको एयरपोर्ट पाससमेत निष्क्रिय पारिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved