आधा खर्ब ऋणमा चुर्लुम्म डुबेको नेपाल एयरलाइन्सले नयाँ जहाज किन्न कहाँबाट ल्याउँछ पैसा ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 28, 2023 | 01:48:23 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण तिर्न नसकिरहेको नेपाल एयरलाइन्सले नयाँ जहाज किन्न खोजिरहेको छ । ठुलो रकम ऋणमा डुबेको नेपाल एयरलाइन्सले ३ वटा साना जहाज खरिद गर्ने निर्णय पनि गरिसकेको छ । 

त्यसो त, निगमले यसअघि २ असार २०७० मा २ वटा न्यारोबडी जहाज खरिदका लागि सरकार जमानी बसेपछि कर्मचारी सञ्चय कोषसँग सम्झौता गरेर ९ अर्ब ९८ करोड रुपैयाँ ऋण लिएको थियो । 

२०७४ जेठमा एउटा वाइडबडी जहजा खरिदका लागि ११ अर्ब ९९ करोड रुपैयाँ ऋण लिएको थियो । सरकार नै जमानी बसेर २०७४ जेठमा निगमले नागरिक लगानी कोषसँग १२ अर्ब रुपैयाँ ऋण लियो । यो कर्जा चिनियाँ जहाज किन्न प्रयोग गरेको थियो । तर, चिनियाँ जहाज अहिले ग्राण्डेड छन् ।

यसरी लिएको नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसहित विभिन्न समयमा सरकारसँग लिएको सहुलियतपूर्ण कर्जाको साँवा, ब्याज र जरिवानासमेत जोड्दा निगम अहिले ४८ अर्ब रुपैयाँ ऋणमा छ । 

नयाँ जहाज किन्न कहाँबाट ल्याउँछ पैसा ?

४८ अर्ब रुपैयाँ ऋण रहेको नेपाल एयरलाइन्सले नयाँ जहाज किन्न कहाँबाट पैसा ल्याउला भन्ने चर्चा सुरु भएको छ । तर, निगमले भने ऋण नभइ आन्तरिक स्रोतबाटै जहाज किन्ने जनाएको छ । 

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले साना जहाज खरिद गर्न कसैसँग ऋण लिन लागिएको नभइ आफ्नै स्रोतबाट जहाज किन्ने तयारी गरिएको बताएका छन् । 

‘अवस्था अहिले सहज हुँदै गएको छ, कोरोनाका कारण २ वर्ष असजिलो अवस्थाको सामना गर्नुपरे पनि अहिले त्यस्तो छैन’ उनले भने, ‘गत वर्षको सञ्चालन मुनाफा १ अर्बमाथि छ, अहिले ऋणको ब्याजसहित किस्ता पनि भूक्तानी गरिरहेकै छौँ ।’

उनका अनुसार निगमले गत असार महिनायता ऋणबापत् मात्रै २ अर्ब ९४ करोड २८ लाख रूपैयाँ भुक्तानी गरिसकेको छ । ऋणको किस्ताबापत चैत ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई निगमले ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।

गत असारमा १ अर्ब ३५ करोड रुपैयाँ, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ, पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ र चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ गरी जम्मा २ अर्ब ९४ करोड २८ लाख ६५ हनार ८४४ रुपैयाँ भुक्तानी गरिसकिएको निगमले जनाएको छ ।

यस आधारमा साना जहाज खरिद गर्नका लागि ऋण लिनुपर्ने अवस्थामा निगम नरहेको र आन्तरिक स्रोतबाटै जहाज किन्न सक्ने अवस्थामा रहेको पौडेल बताउँछन् ।

उत्पादक कम्पनीबाट सिधै किन्ने तयारी

नेपाल एयरलाइन्सले कुनै एजेण्ट बिना नै सिँधै जहाज उत्पादक कम्पनीबाटै किन्ने योजना बनाएको छ । एजेण्ट राखेर किन्दा कमिशनको कुरा आउने भएकाले त्यसो नहोस् भनेर सिँधै उत्पादक कम्पनीबाटै किन्ने तयारी गरिएको निगम बताउँछ ।

‘अहिले कुन कम्पनीको जहाज किन्ने भन्ने यकिन भइसकेको छैन, तर टेण्डर आह्वान गर्दा पर्ने आवेदनमा कुन आवेदकले नेपालका लागि उपर्युक्त हुने जहाज ल्याउँछु भन्छन् उसैलाई पारदर्शी रुपमा जहाज ल्याउने जिम्मा दिन्छौँ’ पौडेलले भनेका छन् । यसका लागि निगमले टेण्डर आह्वानको लागि प्रक्रिया पनि सुरु गरिसकेको छ । 

२ अर्ब लाग्ने, ४ वर्षमै नाफा कमाउने

नेपाल एयरलाइन्सले नयाँ जहाज खरिद गर्न २ अर्ब रुपैयाँ लाग्ने जनाएको छ । नयाँ जहाज खरिद गर्न भन्दै सरकारसँग २०७४ सालमै ५ अर्ब माग गरिएको भए पनि नपाएपछि अहिले आएर २ अर्ब आफैँ लगानी गरेर जहाज किन्न निगम नेतृत्व तम्सिएको छ ।

यसका लागि उपसमितिले अहिले २ अर्ब लगानी गरेर जहाज किन्दा ४ वर्षमै नाफा कमाउन सकिने भन्दै व्यवसायिक योजना पनि अघि सारेको छ । नेपाल एयरलाइन्ससँग हाल भएका ३ वटा ट्वीनअटर जहाजमध्ये अहिले २ वटा मात्रै सञ्चालनमा छन् । तर, यी जहाज पनि नियमित उड्दैनन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved