नेपालका जहाजलाई छैन स्वदेशको विश्वास, मौसमी जानकारीसमेत विदेशकै किन्नुपर्ने बाध्यता

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 21, 2023 | 10:42:51 AM मा प्रकाशित

laxmi  sunrise bank

सबैभन्दा संवेदनशील मानिने उड्डयन क्षेत्रको सामान्य मौसमी जानकारीसमेत नेपाललाई बाह्य देशकै भर पर्नुपर्ने दयनीय अवस्था रहेको पाइएको छ । वर्षाको पूर्वसूचनाहरु भरपर्दाेरुपमा जानकारी दिइरहेको भनिएको जल तथा मौसम विज्ञान विभागको चर्चाका बीच आन्तरिक उडान गर्ने जहाज तथा हेलिकप्टरले भने मौसमसम्बन्धी जानकारी स्वीट्जरल्याण्डबाट लिनुपर्ने बाध्यात्मक अबस्था रहेको छ ।  

बिजपाटीमा प्राप्त सूचनामा नेपालको मौसम विज्ञान विभागले हवाई क्षेत्रको इनरुटको मौसमसम्बन्धी जानकारी नदिने हुँदा एयरलाइन्स कम्पनीहरुले उडानपूर्व हरेक दिन ५ डलर खर्चिएर स्वीसबाट मौसमबारे जानकारी लिने गरेकाछन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र जल तथा मौसम विज्ञान विभागबीच सन् २०१५ को सेप्टेम्बर १७ मा विभागले मौसमसम्बन्धी जानकारी उपलब्ध गराउने सम्झौता भएको थियो । विभागसँग प्रविधि र जनशक्ति नहुँदा इनरुटको मौसमबारे जानकारी उपलब्ध गराउन सकेको छैन । 

‘यहाँ एक फ्लाइटको १० डलर तिर्दा पनि भरपर्ने अवस्था छैन, प्रस्थान र अवतरण गर्ने एयरपोर्टको १० किलोमिटर दूरीसम्मको मात्रै जानकारी पाइन्छ, बाटो (रुट)को मौसमको अवस्था जानकारी नआउने हुँदा स्वीसको भर पर्नुपरेको हाे', एक एयरलाइन्स कम्पनीका व्यवस्थापकले भने, ‘स्वीसबाट लिइने जानकारीमा हावाको गति, हावाको दिशा, जहाज उड्नुपर्ने उचाईको तापक्रम र भिजिविलिटीबारे स्पष्ट खुलाइएको हुन्छ ।’ 'स्वीसले यस्तो सेवा दिएबापत एक दिनको ५ डलर लिने गरेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्डमा ‘मेट्रोलोजिकल सर्भिस फर इन्टरनेशनल एयर नेभिगेशन’ पर्ने भएकाले क्यानले मौसम विभागसँग सम्झौता गरेको भए पनि विभागले आन्तरिक हवाई उडान तथा हेलिकप्टर उडानमा इनरुटको मौसमबारे कुनै जानकारी दिन सकेको छैन। विभागकी सूचना अधिकारी विभूति पोखरेलले आन्तरिक उडानमा इनरुटको मौसमबारे एयरलाइन्स र पाइलटलाई कुनै जानकारी दिने नगरिएको स्वीकार गरेकी छिन्।

‘इनरुटको मौसमबारे बेलाबेलामा कुरा उठ्छ तर, आजसम्म आन्तरिक उडानमा एयरलाइन्सलाई वा पाइलटलाई लिखितरुपमा यो ठाउँमा यतिबेला मौसम यस्तो हुन्छ है भन्ने जानकारी दिने गरिएको छैन’, उनले भनिन्, ‘कहिलेकहीँ ब्रिफिङ गर्छौँ, ब्रिफिङ पनि उहाँहरु (एयरलाइन्स कम्पनी) आउँदा हुन्छ, नआउँदा हुँदैन । पेपरमा लेखेरै चाहिँ दिने गरिएको छैन ।’

क्यानले मौसमसम्बन्धी जानकारीको सेवाबापत भनेर एयरलाइन्स कम्पनीसँग हरेक उडानको १० डलर लिन्छ । तर, यो पैसा विभागमा नआएको विभागकी सूचना अधिकारी पोखरेलले बताइन् ।

‘हामीले सर्भिस दिएबापत शुल्क लिन पाउँदैनौँ, अन्तर्राष्ट्रिय अभ्यासमा चाहिँ डीएचएम (डिपार्टमेन्ट अफ हाइड्रोलोजी एण्ड मेट्रोलोजी) ले यस्तो सेवा दिएबापत शुल्क लिँदो रहेछ, नेपालमा चाहिँ हामीलाई त्यो अधिकार छैन’ उनले भनिन्, ‘क्यान र हामीबीच भएको सम्झौतामा पनि शुल्कको कुरा छैन ।’

सूचना दिने विभागलाई पैसा नदिने भए क्यानले हरेक उडानमा उठाउने १० डलर के गर्छ ?

मौसम विभागको कार्यालय भएको जग्गा क्यानको भएको र फोरकास्ट दिने विभाग पनि क्यानकै भवनमा छ । यसबापत क्यानले भाडा नलिने हुँदा क्यानले मौसमसम्बन्धी जानकारीको शुल्क भन्दै एयरलाइन्ससँग उठाएको पैसा पनि नदिएको हो । 

‘क्यानकै जमिनमा हामी बसेका छौँ, फोरकास्ट दिने क्यानकै विल्डिङमा छ, हामीसँग यसबापत क्यानले पैसा लिँदैन’ऽ उनले भनिन्, ‘अनि हामीले मौसमसम्बन्धी जानकारी दिएबापत क्यानले एयरलाइन्ससँग लिने शुल्क पनि उसैले राख्छ, आफ्नै डेभलपमेन्टमा खर्चिन्छ होला ।’

विभागको क्षमता नहुँदा हामीले गाली खानु परेको छः क्यान

यता, क्यानले भने मौसमसम्बन्धी सम्पूर्ण जानकारी दिने निकाय मौसम विज्ञान विभाग भएकाले उसले काम नगर्दा क्यानले गाली खानु परेको गुनासो गरेको छ । मौसम विभागले इनरुट इन्फरमेशनसहित मौसमसम्बन्धी सबै काम गर्नुपर्ने भए पनि उसँग प्रविधि र जनशक्ति नहुँदा इनरुटको मौसमबारे जानकारी दिन नसकेको क्यानका उपमहानिर्देशक जगन्नाथ निरौला बताउँछन् ।

‘मौसमसम्बन्धी सबै काम उसको हो, तर विभागले दिनै सक्दैन’ क्यानका प्रवक्तासमेत रहेका उपमहानिर्देशक निरौलाले भने, ‘विभागसँग प्रविधि छैन, म्यानपावर छैन । सबै ठाउँमा उसको अफिस पनि छैन । तर, सबैको जिम्मा हामीले लिइदिनु परेको छ, गाली पनि हामीमाथि नै आउँछ ।’ 

त्यसो त, क्यानले राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेर पोखरा–जोमसोम रुटमा ६ वटा ‘वेदर क्यामेरा’ जडान गरेको छ । यो रुटमा इनरुट मौसमसम्बन्धी जानकारी दिन थालिसकिएको बताइएको छ । यो प्रभावकारी भए त्यसको सेवा विस्तार गरेर देशैभरका रुटमा लागू गरिने क्यानले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved