अन्तरबैंक ब्याजदर ३ प्रतिशत तल झरेपछि नेपाल राष्ट्र बैंकले वित्तीय बजारबाट २ अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ। बैंकिङ प्रणालीमा तरलता अभाब भएको भन्दै पछिल्लो ८ दिनमा ३५ अर्ब पठाएको राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत तल आएपछि आज सोमबार वित्तीय बजारबाट २ अर्ब निक्षेप तान्न लागेको हो।
बैंकहरुले तरलता अभाब भएको भन्दै महँगो ब्याजदरमा बजारबाट पैसा उठाउन थालेपछी राष्ट्र बैंकले पछिल्लो ८ दिनमा वित्तीय बजारमा ३५ अर्ब पठाएको थियो। तर पुष २३ गते आइतबारका दिन राष्ट्र बैंकले वित्तीय बजारमा १० अर्ब पठाउन खोज्दा १२ बैंक तथा वित्तीय संस्थाले मात्र साढे ६ अर्ब उठाएका छन।
लगानीयोग्य रकम अभाव भएको भन्दै बैंकहरुले बजारबाट महँगो ब्याजदरमा पैसा उठाउन थालेपछि राष्ट्र बैंकले विकास ऋणपत्र खरिद गरेर बैंकहरुलाई उक्त रकम दिएको थियो। वित्तीय बजारमा साढे ३१ अर्ब रुपैयाँ पुगेपछी अन्तरबैंक ब्याजदर तीन प्रतिशत तल झरेको हो।
ब्याजदर करिडोर अन्तर्गत अन्तरबैंक ब्याजदर ५ प्रतिशत माथि पुगेपछि राष्ट्र बैंकले वित्तीय बजारमा पैसा पठाउनु पर्छ भने ३ प्रतिशत तल झरेपछि वित्तीय बजारबाट निक्षेप तान्नु पर्नेहुन्छ। यहि व्यवस्था अनुसार राष्ट्र बैंकले २ अर्ब निक्षेप तान्न लागेको हो।
२ अर्ब निक्षेप तान्नका लागि राष्ट्र बैंकले सोमबार २ अर्ब रुपैयाँ निक्षेप संकलनका लागि सूचना जारी गरेको छ । ब्याजदर निकै तल जाने दबाब सिर्जना भएकाले राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने भएको हो ।
बैंकहरुले तरलता सहज भएपनि लगानीयोग्य रकमको अभाब भएको भन्दै आएका छन। राष्ट्र बैंकका अनुसार आइतबारसम्म बैंकिङ प्रणालीमा करिब ५१ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ।
बैंकहरुले विकास ऋणपत्र बिक्री गरेर ल्याएको रकम कर्जा लगानी गर्न नसक्ने भएकाले यसले तरलता सहज भएपनि निक्षेप नबढाई बैंकहरु लगानी गर्न सक्ने अवस्थामा छैनन। त्यसैले पनि राष्ट्र बैंकका गभर्नर ड़ा चिरिन्जीबी नेपालले बैंकहरुलाई निक्षेप संकलन तर्फ ध्यान दिन बैंक वित्तीय संस्थाहरुलाई निर्देशन गरेका छन।
त्यसो त बैंक वित्तीय संस्थाहरुलाई लगानीयोग्य रकम जुटाउनका लागि राष्ट्र बैंकले सरकारी ढुकुटीको केही पैसा वाणिज्य बैंकहरूमा स्थानान्तरण गर्ने तयारी गरेको छ। तर राष्ट्र बैंकले भनेझैँ सरकारी ढुकुटीको पैसा बाणिज्य बैंकहरुमा स्थानान्तरण गर्न सहज नभएको बिज्ञहरुले बताएका छन।